घरमै उत्पादन हुने बालीबाट पोषिलो खाना बनाउँदै चेपाङ बस्ती

पुनम वि.सी.
सुर्खेत, १२ असार ।
गत बिहिबार बराहताल गाउँपालिका–५, चेपाङ वस्तीमा मेला झै लागेको थियो । वस्तीको मध्य भू–भागमा अवस्थित सिद्वेश्वर कृषि तथा पशुपालन सहकारी संस्था लिमिटेडको कार्यालयमा चेपाङ वस्तीका महिलाहरुको उल्लेखनिय सहभागिता देखिन्थ्यो ।

सहकारी संस्थाको कार्यालय परिसरमा छुट्टा छुट्टै भान्सा लागेका थिए, ती भान्सामा भिन्दा–भिन्दै परिकार पाकिरहेका पनि थिए । तीन भिन्दा भिन्दै समूह बनाएर भान्सामा जुटेका सबै महिलाको एउटै उद्देश्य थियो, ‘पोषिलो खाना प्रर्दशनी’ का लागि सहभागिता ।

चेपाङ्ग वस्तीका महिलाहरु ‘पोषिलो खाना प्रर्दशनी’ का लागि विशेषगरी स्थानीय स्तरमा नै उत्पादित वस्तुहरको परिकार बनाउँदै थिए । परिकारमा मुख्यतय मकैको आटो, गिठ्ठा, स्थानीय खोलाको माछा, लोकल कुखुरा, स्थानीय स्तरमा उत्पादित मेवा, आँप, केरा लगायतका फलफुल, सिस्नो, गहुँको रोटी, साग–सब्जी लगायतका खाद्य वस्तुले प्राथमिकता पाएका थिए ।

‘हाम्रै घर वरपर उत्पादन भएका तरकारी, फलफुल तथा वाली प्रयोग गरी आजका लागि प्रर्दशनीमा सहभागि भएका छौँ’, चेपाङ्ग वस्ती निवासी धनसरा अधिकारीले भनिन्, ‘घरको भान्सामा पनि यसरी नै पकाउनुपर्ने रहेछ । मिठो–मिठो खोज्ने वहानामा बाहिरको खाना खानुभन्दा त हामीलेनै बारीमा उत्पादन गरेका वस्तुमा बढी ताकत पाइने रहेछ ।’

उनले भनिन्, ‘यसअघि पनि यहाँ यी खाद्यवस्तु उत्पादन नभएका भने होइनन् । तर हामीले प्रयोग गर्न नजानेका मात्र थियौँ । अहिले वस्तीमा पोषण शिक्षा पाएपछि हामीले खाद्य वस्तुको प्रयोग सिकेका छौँ ।’

नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०१६ अनुसार कर्णालीका पाँच वर्षमुनिका बालबालिका मध्ये उमेर अनुसार कम तौल हुने बालबालिकाको अनुपात ३५ दशमलब ६, ख्याउटेपना ६ दशमलब ५, पुड्कोपना ५४ दशमलब ५ प्रतिशत रहेको छ ।

(एनएमआईसीएस) ले सार्वजनिक गरेको पछिल्लो तथ्यांक हेर्दा कर्णालीका बालबालिकामा हुने कुपोषणको अवस्थामा सुधार भइरहेको देखिन्छ । तर अवस्था भने चिन्ताजनक नै रहेको पोषणका क्षेत्रमा काम गर्दै आएका डाक्टर विकास लामिछाने बताउँछन् ।

खोप कार्यक्रम, स्वास्थ्य संस्थामा सुत्केरी गराउन पुग्नु, स्वास्थ्य संस्थामा सर्वसाधारणको पहुँच वृद्धि हुनु, सरकारी तथा गैरसरकारी संस्थाले कुपोषण विरुद्धका कार्यक्रमलाई प्राथमिकतामा राखेर संचालन गर्नु जस्ता कारणले कुपोषणको अवस्थामा सुधार हुँदै गएको पाइएको स्वास्थ्य सेवा निर्देशनालयका सिनियर वरिष्ठ नर्सिङ अधिकृत मानकुमारी गुरुङ बताउँछिन् । कोहीपनि बालबालिका कुपोषित नहुन भनेर स्थानीयतहले निर्माण गर्ने बजेट, नीति तथा कार्यक्रममा समेत बहुक्षेत्रीय पोषणमा केन्द्रित हुनुपर्ने विज्ञहरु बताउँछन् ।

डिल्लीरामको पोषण बगैचा
त्यसैगरी चेपाङ्ग वस्तीको उत्तर–पूर्व तर्फ डिल्लीराम बनले पोषण वगैचाको समेत सुरुवात गरेका छन् । बारीमा टनेलको निर्माण, फलफुलका बोट वृक्षारोपण, भकारो सुधार तथा वर्षातको पानीको सदुपयोग गरेपछि अहिले डिल्लीरामको परिवारलाई खाद्य संकटको अवस्था हटेको छ ।

उनले भने, ‘पहिले हामी यहाँ मौसम अनुसार मात्र खेती गथ्यौँ । धान र मकै लगाएपछि बर्षभरी खान त पुग्छ तर तरकारी यहाँ कहिल्यै उत्पादन भएन । हामीले वर्षायाममा मात्र तरकारीको प्रयोग गरर्यौ ।’

डिल्लीरामको गाउँमा सिँचाईको अभावका कारण सबै मौसममा तरकारीवाली उत्पादन हुदैनथ्यो । वर्षातको समयमा धान र मकैको खेती भएपछि अन्य समयमा जमिन बाँझै राख्नुपर्ने अवस्था थियो । उनले भने, ‘के गर्नु हामीले सिँचाई गर्ने पानी नभएपछि जमिन बाँझो त राख्नैप¥र्यो नि है न र ?’

तर अहिले बारीमा तरकारी जन्य खाद्यवस्तु उत्पादन हुन थालेपछि भने डिल्लीराम खुशी छन् । बारीमा आँप, मेवा तथा केराका बोट रोपिएको छ । प्याज, लसुन, वेसार, अदुवा र धनिया लगायतका मसलावाली उनले लगाएका छन् ।

त्यसैगरी बोडी, भाण्टा, भिण्डी लगायतका तरकारी वाली अहिले उनको बारीमा फलेको पाईन्छ । बारीमा उत्पादित वस्तु सबै उनका घरमा खपत पनि भएको छैन, बाँकी उनले बिक्रि पनि गर्ने गरेका छन् ।

उनले भने, ‘यो पोषण बगैचामा उत्पादन भएको खाद्य वस्तु हामी घरमा प्रयोग गर्छौ । बचेको बिक्रि पनि गर्छौ । अलि अलि आम्दानी पनि भएको छ ।’ नेपाल सरकारको संघीय कृषि तथा पशुपन्छी विकास मन्त्रालयद्वारा सञ्चालित कृषि क्षेत्र विकास कार्यक्रम (एएसडिपी) अहिले बराहताल गाउँपालिका–५, चेपाङ्ग वस्तीमा समेत सञ्चालन भईरहेको छ ।

महिला सशक्तिकरणसंगै घरपरिवार तहको पोषण सुरक्षा यस कार्यक्रमको मुख्य उद्देश्य हो । कार्यक्रम संयोजक विनोद भट्टराईले भने, ‘पोषण सुरक्षाको लागि लक्षित वर्गको व्यवहार परिवर्तन गर्न सूचना तथा सञ्चार प्रविधिको प्रयोगको साथै बहुक्षेत्रीय पोषण योजना, विश्व खाद्य कार्यक्रम जस्ता बिभिन्न कार्यक्रमहरुसँग समन्वय गरी लक्षित घरपरिवार र समुदायहरुमा पोषण जनचेतना अभिवृद्धिका कार्यक्रमहरुलाई यस कार्यक्रम अन्र्तगत कार्यान्वयन गरिँदै आएको छ ।

घरपरिवारको पोषण सुरक्षामा गरिने क्रियाकलापमा किशोरीहरुको सहभागितामा विशेष जोड दिइएको छ ।’ असल खानपान सम्बन्धि मार्गदर्शन एवम् प्रत्येक उमेर समूहका व्यक्तिहरुले हरेक दिन उपभोग गर्ने खाद्य बस्तुबाट आफुलाई आवश्यक पर्ने पौष्टिक तत्वहरुको जानकारी दिने उद्देश्यले पोषण प्रद्र्धधन सचेतनाको कार्यक्रम संचालन गर्दै आईराखिएको कार्यक्रम संयोजक भट्टराई बताउँछन् ।

सुत्केरी तथा गर्भवती महिला, किशोर, किशोरी तथा बालबालिकाहरुको पोषण अवस्थामा सुधार गर्ने नेपाल सरकारको रणनीति तथा कार्ययोजना अनुरुप महिला स्वास्थ्य स्वयम् सेविकाहरुलाई पोषण सम्बन्धि ज्ञान र शिपको अभिवृद्धिको लागि कार्यक्रम अन्र्तगत विभिन्न क्रियाकलाप समेत सञ्चालनमा ल्याइएको छ ।

एएसडिपी कार्यक्रम अन्तरगत कुपोषण व्यवस्थापन, सुक्ष्म पोषक तत्व, पोषण व्यवहार परिवर्तनका लागि परामर्श लगायतका पोषण सम्बन्धि प्रशिक्षक प्रशिक्षण तालिमहरु समेत सञ्चालन भैरहेको उनले जानकारी दिए ।

पोषण बगैंचाले परिवारको दैनिक आवश्यकता पुरा गरेर परनिर्भरता हुन कम गराउनुका साथै खाद्य सुरक्षा, जीविकोपार्जन, पोषण र उत्पादनमा योगदान पुराउने भट्टराईले बताए ।

उनले भने, ‘यस बगैंचामा विभिन्न किसिमका तरकारी, फलफूल, मसलाबाली, जडिबुटी साथै पोषण बगैंचामा आधारित पशुपन्छी पालनलाई समेत व्यवस्थित गरिएको हुन्छ्र ।

पोषण बगैंचामा सकेसम्म धेरै किसिमका बोट–बिरूवा तथा पशुपन्छी समावेश गरिएका हुन्छन् । विशेष गरी बहुवर्षिय, बहुपयोगी, बढी पोषिलो कम मलजल र कम मेहनतमा पनि तुलनात्मक रुपमा राम्रो उत्पादन दिने सक्ने र रोग कीरा कम लाग्ने स्थानीय बालीहरुलाई स्थान दिइने गरिन्छ ।’

पोषण बगैंचाले घरायसी रुपमा उपलब्ध हुने खाद्यान्नमा विविधता ल्याई मानव शरीरको वृद्धिलगायत स्वस्थ जीवनको लागि आवश्यक पर्ने खाद्य पदार्थ जस्तै शक्तिवद्र्धक, रेशायुक्त, फलाम, क्याल्सियम इत्यादीको उपयोगमा वृद्धि गर्ने उनी बताँउछन् । उनले भने, ‘यि क्रियाकलापहरुले घरपरिवारका सदस्यहरुको पोषणमा सुधार आई स्वस्थ साथै गुणस्तरीय जीवनयापनमा योगदान पुर्याउछ ।’

पोषण स्थितीमा सुधार ल्याउन प्रयासरत छौँ : भट्टराई
बराहताल गाउँपालिका–५ चेपाङ्ग वस्तीमा सञ्चालित पोषण बगैँचाले समुदायमा भएका विपन्न वर्गका आधारभूत अवश्यकताहरु पूरा गर्न सहयोग पुर्याउनुको साथै जीविकोपार्जनलाई पनि पूर्णता प्राप्त गर्न मदत गर्ने गरेको छ ।

कृषि क्षेत्र विकास कार्यक्रम (एएसडिपी) का कार्यक्रम संयोजक विनोद भट्टराईले भने, ‘पोषण बगैँचाले खासगरी खानामा विविधताद्वारा पारिवारिक पोषण स्थितिमा सुधार ल्याई खाद्य सुरक्षामा टेवा पुरयाएको देखिन्छ । यसका साथै अतिरिक्त उत्पादनको विक्रीबाट आयआर्जन मार्फत आर्थिक अवस्थामा समेत सघाउ गरेको छ ।’

कम लगानीमा पोषण बगैंचा प्रर्वद्वनका क्रियाकलाप समावेश गर्न सकिने र सजिलैसँग यो अवधारणा अवलम्बन गरी यसको पहुँच, विशेष गरी विपन्न वर्गमा, बढाउन सकिने उद्देश्यले कृषि क्षेत्र विकास कार्यक्रमले जलवायुमैत्री नमुना पोषण बगैंचालाई विशेष पहल गर्दै आइरहेको उनले बताए ।
उनले भने, ‘पोषण बगैंचामा स्थानीय स्रोतहरुको प्रयोग जस्तै, कम्पोष्ट वा गोठे मल, स्थानीय बीउ तथा दिगो भू–व्यवस्थापन प्रणाली, जैविक विविधताको एकीकृत व्यवस्थापन आदिलाई प्रोत्साहन दिइने हुनाले यो पद्धति अवलम्वन गर्न सजिलो पनि छ ।

चालु आर्थिक वर्षमा चार वटा वटा नमुना पोषण बगैंचा र आगामी वर्ष थप १४ वटा नमुना पोषण बगैंचा स्थापना गर्ने एएसडिपी कार्यक्रमको उद्देश्य छ । कृषक घरधुरीले प्रत्येक्षरुपमा सेवा प्राप्त गर्ने र त्यहिँ अनुरुप विस्तार हुने उद्देश्यका साथ कार्यक्रम अगाढी बढेको कार्यक्रम संयोजक भट्टराईले बताए ।

कर्णालीमा कुपोषणको असर
नेपाल मल्टिपल सूचक क्लस्टर (एनएमआईसीएस) २०१९ को सर्वेक्षणअनुसार अन्य प्रदेशको तुलनामा कर्णालीमा पुड्कोपना हुनेको दर सबैभन्दा धेरै रहेको छ । कर्णालीमा पाँच वर्ष मुनिका ४७. ८ प्रतिशत बालबालिकामा पुड्कोपनाको समस्या रहेको छ । यो प्रतिशत अन्य प्रदेशको भन्दा धेरै हो ।

तथ्यांकअनुसार सबैभन्दा कम गण्डकी प्रदेशमा २२.६ प्रतिशतलाई पुड्कोपनाको समस्या हुने गरेको छ । पोषिलो खानेकुरा नपुग्नु, खाना अपुग हुने र रोगको संक्रमणका कारण बालबालिकामा कुपोषण हुने प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका वरिष्ठ नर्सिङ अधिकृत मानकुमारी गुरुङ बताउँछिन् ।

तथ्यांक हेर्दा प्रदेश एकमा ३१ दशमलव ५, प्रदेश दुईमा ३४ दशमलव २, प्रदेश तीनमा २२ दशमलव ९, प्रदेश पाँचमा ३५ दशमलव ५, सुदूरपश्चिम प्रदेशमा ४० दशमलव ९, प्रतिशत बालबालिकामा पुड्कोपना हुने गरेको तथ्यांक छ । यसका साथै कर्णालीका पाँचवर्ष मुनिका ४८ प्रतिशतमा रक्तअल्पता हुने गरेको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ ।

रक्तअल्पता हुनेहरुमा गर्भवती र पाँच वर्षमुनिका बालबालिका रहेका छन् । यस्तै, ख्याउटेपना १७ दशमलब ६ प्रतिशत बालबालिकामा हुनेगरेको तथ्यांकले देखाएको छ भने कम तौल भएका बालबालिका ३७ दशमलव सात प्रतिशत रहेका छन् ।

गर्भवती महिलाको राम्रो स्वास्थ्य र गर्भमा रहेको बच्चाको विकासको लागि गर्भावस्था देखि नै गर्भवतीले चार समूहका खानेकुरा खानुपर्ने हुन्छ । प्रदेश अस्पताल सुर्खेतकी पोषण प्रबद्धन केन्द्रकी इन्चार्ज प्रभा सिंहले भनिन्, ‘गर्भवतीले गर्भमा रहेको बच्चा र आफ्नो स्वास्थ्यको लागि अन्न, गेडागुडी, माछामासु, अण्डा तथा हरिया सागपात र पहेला फलफुल हरेक दिन खानुपर्ने हुन्छ ।

तर कर्णालीमा ३९ दशमलव ५ प्रतिशतले मात्र खानामा विविधता (हरेकबार चार समुहका) खाना खाने गरेको तथ्यांकले देखाएको छ । जसले गर्दा कुपोषण न्यूनीकरण हुन सकेको छैन ।’

तपाईको प्रतिक्रिया