त्यो पहिलो प्रेम पत्र लेखियो

धेरै व्यक्तिहरुका सम्बन्ध साथीको रुपमा हुने गर्दछन । पढ्दा पढ्दै साथी बन्छन । आफ्न्तको माध्यमबाट चिनजान भएर असल साथी बन्छन, जब एकअर्काको बानी, व्यवहार मन पर्दै जान्छ अनि माया बस्छ । त्यसपछि बिवाह हुन्छ ।

यस्तै भयो सुर्खेत वीरेन्द्रनगर–१२ का धु्रवराज आचार्य र पवित्रा सुवेदीको जीवनमा पनि । एउटै ठाउँमा बस्दा भेट भयो, साथी बने, अनि एकअर्कालाई मन पराउन थाले प्रेम भयो, अनि बिवाह गरे । प्रस्तुत छ, यो जोडीसँग गरिएको कुराकानीको साराशं :

भतिजीको कोठामा जाँदा चिनजान
ध्रुवराज पढाईको शिलशिलामा वीरेन्द्रनगर–१२, नेवारेमा बस्थे । वि.सं. २०५९ सालतिरको कुरा हो त्यतिबेला ध्रुवराज व्याचलर पढ्दै थिए । पवित्राको घर पनि नेवारेमै थियो । उनको घरको छेउमा ध्रुवराजका गाउँका भतिजी नाता पर्नेहरु पढाईको लागि कोठा भाडामा बस्थे ।

धु्रवराज उनका गाउँका ती भतिजीहरुको कोठामा जाने आउने गर्थे । अनी उनीहरुकै कोठामा आउजाउ गर्ने क्रममा धु्रवराज र पवित्राको देखादेख हुन्थ्यो । एकदिन पवित्रा ध्रुवराजका भतिजीको कोठामा गएकी थिइन । त्यसपछि उनीहरु दुबै जनाको भेट भयो, परिचय पनि भयो । अनि चिनजान शुरु भयो ।

गाउँमा हुर्केका धु्रवराजको स्वभाबले धेरै बोल्ने गर्थेनन् । पवित्रा भने सबैसँग बोलाचाली गर्न कुनै लाज मान्थिनन् । अनि उनीहरुको त्यो पहिलो भेटको दिनमा भने ध्रुवराजले नै नाम सोधेका थिए । अनि पवित्राले पनि सहजै नाम भनिन दुबै जनाको एक अर्काको परिचय, पढाईको कुरा गरेर उनीहरुको चिनजान र बोलाचाली त्यहाँबाट शुरु भएको थियो ।

अनि असल साथी बने
उनीहरुको चिनजानपछि त्यसपछिका कुनै भेटमा पनि त्यस्तो उल्लेखनीय र फरक अनुभव उनीहरुले गरेनन । पवित्रा ध्रुवराजको भतिजा भतिजीको दिदी नाता पर्ने भएकाले उनले बहिनी भनेर सम्बोधन गर्थे । पवित्राले पनि ध्रुवराजलाई दाइ भन्थिन । तर उनीहरु साथीको रुपमा व्यवहार गर्थे । संधै जसो भेटघाट हुन थाल्यो ।

उनीहरु एकअर्काको बानी, व्यवहामा समेत जानकार भइसकेको अवस्था थियो । उनीहरु बिचमा असल साथीको व्यवहार हुन्थ्यो । उनीहरु बिचमा प्रेम सम्बन्धिका कुनैपनि कुराकानी भएका थिएनन् ।

सुरुमा सामान्य चिनजान अनि बिस्तारै साथीको रुपमा भेटघाट र कुराकानी हुने क्रममा दुवै जनाको स्वभाव अनि बिचार मिल्दै गएको हुँदा अलिक नजिक हुँदै थिए ।

उनीहरु दुवै जनाको घर परिवारसँग पनि चिनजान, कुराकानी र आउजाउ समेत हुन थाल्यो । तर उनीहरु दुबै जनाले प्रेमको कुरा एकअर्कामा गरेका थिएनन् ।

सम्झना धेरै आउथ्यो
दुबै जनाको उमेर बढ्दै थियो । उनीहरु उमेरले परिपक्क थिए । कहिले काँही ध्रुवराजको घरमा बिवाहको चर्चा पनि चल्थ्यो । उनीलाई साना साना कुरामा पनि पवित्राको सोच, बिचार मन पथ्र्यो ।

उनी पवित्राप्रति आकर्षित थिए । उता पवित्रा पनि गम्भिर र सालिन केटा सबैको सम्मान गर्ने देख्दा ध्रुवराजप्रति आकर्षित थिइन । उनीहरु आफ्नो मनको कुरा नभनेपनि दुबैको भावले त्यही भन्थ्यो । दुबैको मन विस्तारै प्रेमतिर मोडिएको थियो ।

मायाँ लाग्न थाल्यो उनीहरुलाई एक अर्काको । उनीहरुको भेटघाट परिवार तहसम्म हुन थाल्यो । तर बाहिर जाने, घुम्ने र गफगाफ गर्ने कहिलै गर्थेनन् । त्यतिकैमा ध्रुवराजले निजामती सेवामा प्रवेश गरे । उनले खरिदार पदमा नाम निकालेर जाजरकोट गए ।

पवित्रा पनि त्यतिखेर बोडिङ्ग स्कुल पढाउँथिन । तर आफ्नो आफ्नो काममा ध्यान दिएपनि पवित्राले ध्रुवराजलाई धेरै सम्झने गर्थिन । ध्रुवराजलाई पनि पवित्राको याद आइरहन्थ्यो । त्यतिबेला फोनको पनि सुविधा थिएन । उनीहरुको मनमा सम्झना धेरै आउथ्यो ।

पहिलो त्यो प्रेम पत्र
ध्रुवराज जाजरकोट भएकै बेला पवित्राको माया असाध्यै मानेका थिए । अनि उनले आफ्नो पहिलो प्रेम पत्र लेखे । उनले आफ्नै माइला मामासँग त्यो पत्र पठाए । पत्र पवित्राको हातमा परेपछि पवित्रालाई धेरै खुशी त्यो दिनमा मिलेको थियो ।

पत्रको बारेमा घरपरिवार सबैले थाहा पाउनुभयो । अनि उनको परिवारले प्रश्न गर्न थाले तिमीहरुको सम्वन्ध के हो ? भनेर अनी उनका भाई बहिनीले जिस्काउन थाले । पवित्राले त्यो पत्र पढिन उनी मायामा डुबिन । तर उनले त्यसको जवाफ दिन सकिनन् । उनी परिवारको पहिलो सन्तान भएर पनि होला नैतिकता बन्नुपर्ने थियो ।

ध्रुवराजसँग पवित्रा जस्तोसुकै परिस्थितिमा पनि सँगै बस्ने सोच बनाईसकेकी थिइन । केही समय पछि ध्रुवराज सुर्खेत आए । अनि उनीहरु बिचमा कुराकानी हुन थाल्यो । गाउँमा गएर घाँस काटन सक्छांै ? भनेर ध्रवराजले सोधे । अनि पवित्राले भनिन, यदी तपाईको साथ उपस्थिती रहन्छ भने अवश्य सक्छु ।

सायद उनीहरुको प्रेम गहिरिएको यही कुराबाट हो । अनि त्यो रातभरी पवित्रालाई निद्रा लागेन । उनीहरु बिचमा भएको कुराकानी उनको सानी फुपुलाई सुनाइन । उनको फुपुले पनि केटो असल इमानदार र मेहेनेती छन् । भनेर परिवारसँग सहजीकरण गर्दिएपछि त्यसपछि उनीहरु प्रेमी प्रेमीकाको रुपमा प्रस्तुत हुन थाले ।

अनि बिवाह
उनीहरुको प्रेम सम्बन्ध गहिरिँदै गएको थियो । कतिबेला भेटम, कुराकानी गरौँ जस्तो हुन थाल्यो । उनीहरुको प्रेमको बारेमा घरपरिवारमा पनि थाहा थियो । जतिबेला पनि यादमा डुब्न थाले । उनीहरु अब बिवाह गरेर सँगै बस्ने निश्कर्षमा पुगे अनि चिनजान भएको २ बर्ष र प्रेम सम्बन्ध भएको ६ महिनापछि २०६२ सालमा उनीहरुको बिवाह भयो ।

बिवाह भएर बुहारी भएर गइन । पहिले नै परिवारका सबैसँग परिचय भएकोले होला घुलमिल हुन खासै समस्या भएन । तर विहान उठेर पहिलो पटक दैलो लिप्दा उनलाई रुन मन लाग्यो । ध्रुवराज र परिवारले भने उनलाई धेरै माया गरेकाले उनी घुलमिल हुँदै गइन ।

उनीहरु बिवाह गर्नुभन्दा अगाडी नै जागिरी गर्थे । ध्रुवराज सरकारी जागिरीमा थिए भने पवित्राको समाज जागरण केन्द्र (स्याक) नेपालमा जागिरी थियो । विवाह भएको चार पाँचदिनमा पवित्रा तालिमको लागि नेपालगंज गइन । भने ध्रुवराज जुम्लाको डिल्लीचौर गाविसका कार्यरत थिए । उनीहरुको हनिमुन मनाउने फुर्सद नै भएन ।

संघर्ष
जीवन नै संघर्ष अनि संघर्ष नै जीवन, कहिले थोरै थोरै आपसी संघर्ष अनि धेरै चाहिं जीवन यात्राकै संघर्ष । बिबाहपछि दुबैतिरको घर परिवार ब्यबस्थापन, छोराछोरी जन्माउने र हुर्काउने, पढाउने लेखाउने अनि आ–आफ्नो पढाई र वृत्ति बिकासको कुरा, अनि जागिरको कारण सँगै बस्न नपाइने, समय र परिस्थिति अनुकूल भन्दा प्रतिकुल नै धेरै हुने, संघर्ष पनि एक्ला एक्लै जस्तो पो गर्नुपर्ने उनीहरुको जीवनमा भयो । तर आपसी बिश्वास र समझदारीले गर्दा संघर्षबाट उनीहरु सफलताको मार्गमा छन् ।

२०५९ साल असोजबाट खरिदार तहबाट निजामती सेवा प्रवेश गरी २०७२ साल असारमा उपसचिव भएर अहिले उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत पदमा कार्यरत छन् ।

उनको बुवा शिक्षण पेशाबाट सेवा निवृत्त छन् उनका भाईहरु पनि विभिन्न ठाउँमा सरकारी सेवामा छन् । पवित्रा पनि केहि समय निजि स्कूलमा शिक्षण र गैरसरकारी संस्था तथा सामाजिक संघ संस्थामा काम गरेको अनुभव छ ।

बाल्यकाल
बुवा महानन्द आचार्य र आमा हिमावती आचार्यको कोखबाट वि.सं. २०३८ साल जेठ २४ गते साबिक गर्पन गा.वि.स. वडा न. ४ लेहेडा (हालको वीरेन्द्रनगर वडा न. १६) मा धु्रवराज आचार्यको जन्मभयो । उनको बाल्यकाल गाउँमै बित्यो ।

उनको बाल्यकाल रमाईलो तरिकाले वित्यो । साथीभाईहरुसँग खेल्दै रमाउँदै, पढ्दै बित्यो । सानो कक्षा उनले आदर्श मावि मेहेलीमा पढे । त्यहि माविबाट उनले एसएलसी पास गरेका हुन । प्रबिणता प्रमाणपत्र तहदेखि स्नातक तह मानविकी सङ्काय वीरेन्द्रनगर बहुमुखी क्याम्पसमामा पढे २०५९ सालमा उनले पास गरेपछि स्नातकोत्तर तह महेन्द्र बहुमुखी क्याम्पस नेपालगंजबाट २०६३/०६४ पास गरे ।

अनि स्नातकोत्तर तह (समाजशास्त्र) वीरेन्द्र बहुमुखी क्याम्पसबाट २०६७/२०६८ पास गरेपछि स्नातक तह (एक बर्षे बि.एड.) सुर्खेत क्याम्पस शिक्षाबाट २०६०÷२०६१ मा पुरा गरे । स्नातक तह (कानून) नेपाल ल क्याम्पस, २०७६/०७७ मा सकिएको र अहिले एम.पी.ए. जन प्रशासन क्याम्पसमा पढीरहेका छन् । सानोमा गम्भिर र सिर्जनशिल स्वभाबका थिए उनी ।

यता, बुवा रामप्रसाद सुबेदी र आमा जानकी सुबेदीको कोखबाट वि.स. २०३९ साल चैत्र ०६ गते सुर्खेतको वीरेन्द्रनगर–१२ नेवारेमा पवित्रा सुवेदीको जन्म भएको हो । उनी घरको पहिलो सन्तान हुन । उनको बाल्यकाल नेवारेमा नै बित्यो ।

सानो कक्षा पनि नेवारेमा नै पढिन । घरको काममा आमालाई सघाउँदै उनले आफ्नो पढाई पुरा गरेकी हुन । उनी एसएलसी पासदेखिनै बोडिङ्ग स्कुलमा पठाउन थालिन । पछि सामाजिक संघ संस्थामा काम गर्दै आफनो र भाईबहिनीको पढाईको लागि आमालाई सहयोग गरिन । उनी सानैदेखि जिम्मेवार र मिलनसार थिइन ।

प्रेम अनुभव
उनीहरुको अनुभवमा बिवाहपछि माया धेरै लाग्दो रहेछ । अहिलेसम्म झगडाभन्दा धेरै मायाँ भएको छ । उनीहरुको बिचारमा दुबैको कुरा बुझ्ने सुख दुखमा साथ दिनु भनेको प्रेम हो । दुबैजना बिचमा विश्वासको वातावरण हुनुपर्छ ।

यो जोडी फुर्सदको समयमा विभिन्न ठाउँहरुमा पनि घुम्न जाने, रमाईलो गर्ने गर्दछन । उनीहरु भन्छन शंकाले सम्बन्ध विगार्छ । अन्य जोडिहरुलाई पनि उनीहरुले सोच बदलेर विश्वास र एकअर्काको सहयोगमा काम गरे सफलता हाँसिल हुने सुझाव दिन्छन । यो जोडी जुनसुकै काम गर्दा पनि सल्लाहमा गर्ने गर्दछ ।

तपाईको प्रतिक्रिया