बेसहारा वालवालिकाको सहारा बन्दै “जयन्ती”

जयन्ती थापा/समाजसेवी
सुर्खेत, हाल अमेरिका

जसले समाजलाई बुझेको हुन्छ, उसले आफु मात्र होइन अरुको जीवनमा पनि रुपान्तरण ल्याउँछ । अन्याय र विभेद अनि बेसहारामा परेका व्यक्तिको जसले सहारा दिन्छ, वास्तवमा त्यही व्यक्ति समाजको असल समाजसेवी हो ।

त्यस्तै मध्येकी एक हुन सुर्खेत वीरेन्द्रनगर घर भइ हाल अमेरिकामा बस्दै आएकी सुर्खेती चेली जयन्ती थापा । उनी सानैदेखि अन्याय र अत्याचार अनि गरिबिसँगै कमजोर व्यक्तिलाई सहयोग गर्नुपर्छ भनेर लाग्थिन ।

अन्यायको विरुद्धमा आवाज उठाउँथिन । समाजका कमजोर व्यक्तिलाई माथी उठाउने लक्ष्य लिएर अगाडी बढेकी जयन्ती अहिले समाजका गरिब र दिनदुखीको सहारा बन्न सफल भएकी छन् ।

उनले २१ जना टुहुरा बालबालिकालाई समेत सहारा दिँदै पढाइरहेकी छन् । आजको जम्काभेटमा उनै थापासँग हाम्रा सहकर्मी टेकराज केसीले कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :

सहज बाल्यकाल
बुवा धर्मजंग थापा र आमा पार्वती थापाको कोखबाट विस २०३८ मंसिर १६ गते दैलेखको नारायण नगरपालिकामा जयन्ती थापाको जन्म भयो । थापा घरको जेठो छोरी हुन । उनका चार भाई बहिनी रहेका छन् । उनले १० बर्षसम्मको बाल्यकाल दैलेखमै बिताइन ।

प्राथमिक तहसम्मको शिक्षा उनले दैलेखमै पढिन । थापाको पढाई नारायण नगरपालिकाको बाल मन्दिर र सनराइज बोर्डिङ स्कुलबाट गरेकी हुन । उनको बुवाको जग्गा दैलेख र सुर्खेतमा प्रशस्त थियो ।

अनि जयन्ती १० बर्षको हुँदा उनको परिवार सुर्खेत आएपछि त्यसपछि भने उनको अन्य बाल्यकाल सुर्खेत वीरेन्द्रनगरमा बित्यो । ६ कक्षादेखि अम्मरज्योति नमुना मावि नेवारेमा पढेकी उनले त्यही माविबाट २०५५ सालमा एसएलसी पास गरिन । सहयोगी र जिज्ञासु स्वभावकी जयन्तीको रुची भने अध्ययन गर्नेमा थियो । उनले सानैदेखि कमजोर मानिसलाई सहयोग गर्नुपर्छ भनेर सोच्ने गर्थिन ।

वकील बन्ने लक्ष्य
समाजमा अन्याय र विभेदमा परेको देख्दा उनको मन दुख्थ्यो । त्यस्ता अन्यायनमा विभेदमा परेका व्यक्तिहरुले न्याय पाउनुपर्छ भन्ने उनले सोच्ने गर्थिन । धनी र गरिब बिचको विभेद, गरिबीको रेखामुनी भएका व्यक्तिहरुका छोराछोरीहरुले पढ्न नसकेर श्रममा परेको, पुरुषले महिला माथी गर्ने विभेद र हिंसा लगायतका थुप्रै समस्या समाजमा देख्थिन ।

यस्ता व्यक्तिहरुलाई न्याय दिलाउने भन्दै उनले पढेर वकिल बन्ने लक्ष्य लिइन । उनको लक्ष्य अनुसार कानुन पढेर समाज रुपान्तरणमा लाग्छु भन्ने सोच थियो । तर उनको सोचमा युर्टन भयो । समाज रुपान्तरण गर्ने अन्य बाटाहरु पनि छन् भन्ने उनीलाई लाग्यो ।

अनि उनको बिवाह भयो । बिवाहपछि पढाई रोकिन्छ की भन्ने चिन्ता थियो । तर उनको श्रीमान् र उनी सँगै पढ्ने भएकाले उनले आफ्नो पढाईलाई भने निरन्तरता दिइन । बिवाहपछि पनि उनले आफ्नो पढाईलाई निरन्तरता दिँदै शिक्षा क्याम्पसबाट सुर्खेतबाट व्याचलर गरिन । अनि उनले त्रिभुवन विश्वविद्यालय काठमाण्डौंबाट समाजशास्त्रमा मास्टर्स गरिन ।

अनि शिक्षक भइन
उनी र उनको श्रीमानले सँगै मास्टर्स गरे । उनको बिवाह रुकुम पश्चिममा भएको थियो । अनि श्रीमान सुशिल चन्द र जयन्तीले रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा रहेको बाल कल्याण उच्च माविमा प्लस पढाउन थाले । २०६५ देखि २०६७ सम्म त्यही माविमा अध्यापन गराइन ।

उनी सानैदेखि सामाजिक मुद्धाहरुलाई चासो दिने गर्थिन पढाउदै गर्दा पनि उनले सामाजिक रुपमा सक्रिय भइन । रुची र लक्ष्य पनि अन्यायमा परेका, गरिबीको रेखामुनी रहेका व्यक्तिहरुलाई सहयोग गर्नुपर्छ भन्ने थियो । रुकुममा बस्दै गर्दा त्यहाँ मानिसहरुको अवस्था दयनिय थियो ।


महिलाहरु हिंसित हुनेदेखि गाउँमा गरिबीको पनि व्यापक थियो । ती समस्या समाधान गर्ने उद्देश्यले रुकुमको आठबिसकोट नगरपालिकामा उनले २०६६ सालमा सिर्जनशिल महिला विकास केन्द्र स्थापना गरेर महिलाको सशक्तिकरण र बालबालिकाको क्षेत्रमा काम गर्न थालिन । त्यसले गाउँमा जागरण समेत ल्याएको थियो ।

त्यसपछि अमेरिका गइन्
जयन्तीको श्रीमानलाई २०६७ सालमा डिभी भिसा पर्यो । अनि श्रीमानसँगै जयन्ती पनि अमेरिका गईन । अमेरिकामा बस्दै गर्दा पनि उनको ध्यान नेपालका ति असाय, गरिबिको रेखामुनी रहेका व्यक्ति, टुहुरा बालबालिकामा थियो ।

गरिबीकै कारण पढ्न नपाएको, महिलाहरु माथीका हिंसा उनले सम्झिने गर्थिन । त्यसपछि उनले सिर्जनशिल महिला विकास केन्द्र मार्फतनै सामाजिक कामलाई निरन्तरता दिने निर्णयमा पुगिन । देशमा रहेका विभिन्न सामाजिक समस्या, अन्याय र विभेद कम गर्ने भन्दै नेपाल आउने जाने गर्न थालिन ।

पूर्ण सामाजिक काममा सक्रिय
देशको लागि केही गर्छु भनेर उनी अमेरिका बसेपनि नेपालका विभिन्न ठाउँहरुमा सहयोगहरु गर्न थालिन । भूकम्म जाँदा होस् या बाढीपहिरो पिडितहरुको लागि किन नहोस् उनले सहयोग गर्न थालिन । उनले बेसहारा बालबालिका र निम्न वर्गहरुको लागि पनि धेरै सहयोग गरेर पुण्यको काम गर्न थालिन ।

समस्या र विभेदमा परेका व्यक्तिहरुलाई उनले अहिले सहयोग गर्दै आएकी छन् । तीनवटा जिल्ला सुर्खेत, रुकुम पश्चिम र जाजरकोटका २१ जना बेसहारा बालबालिकालाई पढाइरहेकी छन् । उनीहरुको जयन्ती सहारा बनेकी छन् ।

अब दैलेखमा पनि यस्तै कार्यक्रम सञ्चालन गर्ने तयारी उनले गरेकी छन् । दैलेखको त्रिभुवन माविमा तीन लाखको अक्षय कोष स्थापना गर्ने तयारी उनको छ ।

उनले बारा, चितवन लगायतका पूर्वी जिल्लामा विभिन्न समस्यामा परेका व्यक्तिहरुको लागि आर्थिक सहयोग गरेकी छन् । भने पश्चिम नेपालको कर्णाली र सुदुरपश्चिमा अधिकांश जिल्लामा उनले विभिन्न फन्टमा सहयोग गरेकी छन् । समाज सेवा गर्ने उनको सानैदेखिको लक्ष्यलाई पछ्याएर उनी अगाडी बढिरहेकी छन् ।

जीवनमा संघर्ष
उनले सानोमा त्यति दुख गर्नुपरेन । तर पढाई गर्ने बेलादेखि उनले धेरै संघर्ष गरिन । संघर्ष नै जीवन हो भनेर बुझेकी जयन्तीले १६ बर्षको उमेरमै बिवाह गरिन । त्यसपछिका चुनौतीहरुको सामाना उनले गर्न सकिन ।

सामाजिक काममा सक्रिय हुँदा होस् या आफ्नो व्यक्तिगत कुरामा उनले धेरै नै संघर्ष गर्दै आइन । त्यही संघर्षबाट उनी अहिले समाजसेवीको रुपमा आफुलाई पहिचान बनाउन सफल भएकी छन् ।

उनी भन्छिन, ‘संघर्ष नै जीवन हो, जीवनमा आउने चुनौतीहरुलाई सामना गर्दै अगाडी बढ्न सक्ने व्यक्तिनै समाजको सफल व्यक्ति हो ।’  उनी अहिले अमेरिकामा बस्छिन, सामाजिक काममा सक्रिय रहेकी उनले नेपालका विभिन्न क्षेत्रमा सहयोग गर्दै आएकी छन् । विशेष गरेर टुहुरा बालबालिकाको सहारा बनेकी छन् । यसलाई निरन्तरता दिँदै नेपाली समाज रुपान्तरणको लागि काम गर्ने योजना उनको छ ।


Leave a Reply

Your email address will not be published.


ताजा समाचार