जुम्लामा नुनको अभाव

जुम्ला, ९ असार ।

जुम्लामा नुन अभाव देखिएको छ । कर्णाली राजमार्ग सञ्चालन हुँदा पछिल्लो समय यो समस्या टरेको भएपनि अहिले नुनको अभाव भएको साल्ट ट्रेडिङ कर्पोरेसनको कार्यालय जुम्लाका प्रमुख खगेन्द्र मल्लले बताए । १५ वर्षको अन्तराल पछि जुम्लाका नुनका गोदाम रित्तिएका हुन् ।

गाडी जुम्लामा २०६३ साल चैत ३० गते पुगेको थियो । कर्णाली राजमार्ग पुग्नुभन्दा पहिला जुम्लामा नुनको विषयमा राजनीतिक खिचातानी गरिन्थ्यो । सडक विस्तारसँगै पहुँचवालाले मात्र नुन पाउने अवस्था अन्त्य भइ सहजै उपभोक्ताले नुन पाउने अवस्था भएको थियो ।

साल्ट ट्रेडिङ कर्पोरेसनको कार्यालय जुम्लाका प्रमुख खगेन्द्र मल्लले जुम्लामा भरिभराउ नुनका गोदाम रित्तिएको बताए । उनका अनुसार सडक पुगेपछि पहिलो पटक नुन अभाव भएको हो । जुम्लामा तीन वटा डिपो छन् । खलंगास्थित डिपोमा १ सय ७९ क्विन्टल मात्र नुन मौज्दात छ । मौज्दात हेर्दा असार अन्तिमसम्म पनि पु¥याउन सकिने अवस्था नरहेको प्रमुख मल्ल बताउँछन् ।

दैनिक नुन लिने सेवाग्राही डेढ सय जति पुग्छ छन् । मल्लका अनुसार प्रतिव्यक्ति पाँच केजी मात्र नुन दिने प्रवन्ध गरिएको छ । हप्ताको तीन दिन डिपो खुलाउने गरिएको छ । आइतबार, मंगलबार र बिहीबार नुन दिइन्छ । चालु आर्थिक वर्षमा जुम्लाको लागि ३ हजार क्विन्टल नुनको कोटा तोकिएको थियो । कोटा अनुसारको नुन समयमै पुगेर बिक्री भइसकेको छ ।


प्रदेश कार्यालयले नुनको अभावलाई मध्यनजर गर्दै २ हजार ३ सय क्विन्टल कोटा थपेको छ । तर नुनको ढुवानी गर्ने जिम्मेवारी पाएको ठेकेदारले ढुवानी गर्न मानिरहेको छैन् । नेपालगञ्जका ठेकेदार तुरुणध्वज खाणले नुन ढुवानीको जिम्मेवारी पाएका छन् । ठेकेदारसँग प्रतिकेजी ६ रुपैयाँमा ढुवानी गर्ने सम्झौता छ ।

अहिले पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै ढुवानीको भाडा बढेको छ । बढेको भाडामा ढुवानी गर्दा ठेकेदारलाई प्रति ट्रिप १७ हजार रुपैयाँ घाटा हुने देखिन्छ । ठेकेदारले अहिले बढेको महँगीको आधारमा ढुवानी भाडा वृद्धि हुनुपर्ने अडान राखेका छन् । नत्र सम्झौता अनुसारको मूल्यमा नुन ढुवानी गर्न असमर्थ जनाएका छन् ।

अहिले जुम्लाको सिंजा गाउँपालिकामा अवस्थित नराकोट डिपो खाली भइसकेको छ । नुन लिन गएका सेवाग्राही रित्तो हात फर्किने गरेका छन् । बजारको महंगो नुन किन्नु पर्ने बाध्यता आइलागेको स्थानीय बसन्ती बुढाको गुनासो छ । कनकासुन्दरी डिपोमा २ सय ३४ क्विन्टल नुन मौज्दात छ । मौज्दात रहेको नुन जेनतेन यो महिना पुग्ने कार्यालय प्रमुख मल्लको भनाइ छ। अर्को महिनादेखि सबै गोदाम खाली हुने अवस्था छ ।

जुम्लामा एक नगरपालिकासहित ७ गाउँपालिका छन् । नगरपालिका सहित ५ पालिकाले सदरमुकाम खलंगाको डिपोबाट नुन लिन्छन् । कनकासुन्दरी, सिंजा र हिमाका स्थानीयले नराकोट र कनकासुन्दरी डिपोबाट नुन उपयोग गर्छन् । साल्ट ट्रेडिङ कर्पोरेसन क्षेत्रीय कार्यालय नेपालगञ्जका प्रमुख मनोजकुमार चौधरीले जुम्ला बाहेक कर्णालीका हुम्ला, मुगु, कालिकोट र डोल्पा जिल्लामा नुनको अभाव नभएको बताए ।

स्रोत : रातोपाटी


Leave a Reply

Your email address will not be published.


ताजा समाचार