‘रोजगारी सिर्जना गर्न श्रम कोष स्थापना गर्दै छौं’

गाउँका सिंहदरबार भनिने स्थानीय तहको नयाँ निर्वाचनबाट नयाँ जनप्रतिधिहरु निर्वाचित भएर आइसकेका छन् । उनीहरुबाट जनताले धेरै आशा र अपेक्षा गरेका छन् । भने जनप्रतिनिधिहरु पनि त्यही अनुसारका बाचा गरेर जनताबाट अनुमोदित भएका छन् ।

स्थानीय सरकारले आफ्नो नीति कार्यक्रम र बजेट पनि केही दिनमा ल्याउँदै छन् । जनप्रतिनिधिहरुले अब कसरी काम गर्दै छन् ? शिक्षा, स्वास्थ्य र रोजागरी सिर्जना गर्न कस्ता योजना बनाएका छन् त ?

यीनै विषयमा केन्द्रीत रहेर दैलेखको नारायण नगरपालिका प्रमुख लोमन शर्मासँग हाम्रा सहकर्मी टेकराज केसीले कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :-

तपाई निर्वाचितपछि हिजो आज के काममा व्यस्त हुनुहुन्छ ?
अहिले हामी आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेट निर्माणको काममा रहेका छौं । नारायण नगरपालिकाको योजना तर्जुमा गर्ने क्रममा वस्ती स्तरका योजना छनौंटको गरेर ल्याएका छौं ।

अब हामी ती योजनाहरुका विषयमा विषयगत कार्यालयहरुसँगको छलफलबाट ति योजनाको प्राथमिकीकरण गर्दै छांै । अहिले हामी यीनै यीनै काममा व्यस्त छौं ।

तपाईले कुन कामलाई प्राथमिकता दिनुभएको छ ?
सबैभन्दा पहिलो भनेको नारायण नगरपालिकाको खानेपानीको समस्या विकराल छ । खानेपानीको महशुल पनि एकदमै चर्को छ, यो महशुललाई सस्तो बनाउने र केही रुपमा मिनाहा गर्नेगरी हामी लागिरहेका छौं ।

पहिलो काम नै सबै नगरबासीको घरमा पानी पुर्याउने हाम्रो पहिलो प्राथमिकता हुने छ । र जहाँ खानेपानी धारा पुगेका छैनन, त्यहाँ खानेपानीको धाराहरु पुर्याइने छ । हाम्रो पहिलो प्राथमिकता भनेकै खानेपानी समस्या हटाउने हो ।

निर्वाचनका प्रतिवद्धता कसरी पुरा गर्नुहुन्छ ?
निर्वाचन लड्दै गर्दा अघि मैले भनेकै खानेपानी समस्या हटाउछु भन्ने थियो । यो समस्या हल गर्न हाम्रो आन्तरिक श्रोतलाई परिचालन गर्ने छौं । अर्को भनेको सडकहरुको स्तरबृद्धि गर्ने, बिग्रिएका सडकहरुलाई राम्रो बनाउनुको साथै ढल निकास नभएका ठाउँमा ढल निकास गर्ने भनेका थियौँ, त्यो काम पनि हामी यही बर्षबाट नै शुरु गरेर पुरा गर्छौं ।

नारायण नगरपालिकाभित्रका नागरिकहरुलाई स्वास्थ्य क्षेत्रमा पहुँच पुर्याउनेगरी १५ शैयाको अस्पताल बनाउने छौं । भने नगरभित्रका सडक कालोपत्रे बनाउने भनेका छौं । त्यो पनि पुरा गर्ने गरी हामी काम गर्छौं ।

बजेटमा कुन क्षेत्रलाई विशेष प्राथमिकता दिनुहुन्छ ?
मैले प्रतिवद्धता गरेअनुरुप नै नीति कार्यक्रममा समावेश गरेर हामी बजेट ल्याउँछांै । हाम्रो नीतिगत कुरा नै त्यही हो । हाम्रो नीति कार्यक्रममा खानेपानी, सडक, स्वास्थ्य, महिला बालबालिकाको स्वास्थ्यमा पहुँच, रोजगारी, शिक्षा र जेष्ठ नागरिकलाई सेवा गर्ने कुरा हाम्रो नीति कार्यक्रम र बजेटका प्राथमिकता हुने छन् । हामी जनतालाई निरास हुन दिने छैनौँ । जसरी निर्वाचित भएर आएका छौँ त्यसैगरी नै जनतालाई विकासको अनुभूति दिलाउने छौँ ।

बेरोजगारी समस्या समाधान गर्ने तपाईका योजना के हुन ?
रोजगारी सिर्जना गर्नको लागि हामीले नगर स्तरिय श्रम कोष स्थापना गर्न लागेका छौँ । यो आर्थिक बर्षबाट । त्यसमा जनताले राजस्व तिरेर आएको रकम त्यसमा हामी जम्मा गर्ने छौँ भने वित्तिय समानिकरणबाट प्राप्त रकमको केही हिस्सा पनि हामी त्यो कोषमा जम्मा गर्ने छौँ ।

प्रत्येक वडाबाट २५ जनाका दरले युवाहरुलाई त्यो कोषको रकमबाट युवाहरुलाई विकास निर्माणका कामसँगै विभिन्न तालिम दिएर अब्बल बनाउने छौँ र नियमित काम गर्न सक्ने बनाउने छौँ ।

अर्को भनेको कृषि र पशुपालनको पकेट क्षेत्र निर्धारण गरेर सहकारी र कम्पनीहरु दर्ता गरी उनीहरु मार्फत स्वरोजगारको बाटोमा लैजाने र उत्पादन पनि बृद्धि गर्नेगरी हामीले योजना बनाउनेछाँै । वडा, वडामा समूहहरु निर्माण गरेर हामी व्यवसायिक ढङ्गले उत्पादनमा युवाहरुलाई लगाउँछौ र हामी स्वरोजगारको बाटोमा लगाउँछौँ ।

शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारका लागि तपाईले कस्ता योजना बनाउनुहुन्छ ?
स्वास्थ्यको कुरा मैले अघि पनि भने हाम्र स्वास्थ्य चौकीहरुमा औषधीहरुको अभाव हुन नदिने, नगरपालिका भित्र रहेको ५० शैयाको अस्पताल छ त्यहाँ विशेषज्ञ सेवा दिनेगरी नीति बनाउने छौँ । टाढा रहेका जनताको लागि १५ शैयाको अर्को अस्पताल पनि बनाउने अनि पालिका स्तरबाट एउटा एम्बुलेन्स सञ्चालन गरी महिला बालबालिका र अन्य नागरिकहरुलाई सहज बनाउने योजना छ ।

शिक्षाको तर्फ कुरा गर्दा सबै विद्यालयमा बालमैत्री, अपाङ्गमैत्री र किशोरी मैत्री बनाउने छाँै भने केही विद्यालयमा चुहिने छानाहरु छन्, ति विद्यालयहरुलाई पक्की भवन बनाउने र नगरभित्र रहेका विद्यालयमा आवश्यकता अनुसारको दरबन्दीसहितका शिक्षक पुर्याउने हाम्रो योजना छ । अर्को भनेका शौचालय, र खानेपानीको प्रवन्ध विद्यालयहरुमा यसै बर्षभित्र गर्नेगरी हामी लाग्ने छाँै ।

तपाईको प्रतिक्रिया