भेरी–बबई डाइभर्सन आयोजना सकिन तीन वर्ष लाग्ने,

काठमाडौं, ८ असार ।

राष्ट्रिय गौरवको आयोजना अन्तर्गत रहेको भेरी–बबई डाइभर्सन आयोजनाको निर्माण सक्न अझै तीन वर्ष लाग्ने देखिएको छ । यो आयोजनाको हालसम्म समष्टिगत भौतिक प्रगति ५६ प्रतिशत भएको छ । त्यस्तै, समष्टिगत वित्तीय प्रगति भने ४१.१० भएको छ । आव २०७१÷७२ सालबाट निर्माण कार्य आरम्भ भएको यस आयोजनाको आव २०७९÷८० मा सम्पन्न गर्ने लक्ष्य लिइएको थियो ।

तर, कोरोना महामारीलाई कारण देखाएर यस आयोजनाको निर्माण सक्न अझै तीन वर्ष लाग्ने जनाइएको छ । कोभिड–१९ को असर, मौसमको प्रतिकुल अवस्था, वर्षा एवं नदीमा पानीकोबहाव बढेका कारण निर्माण प्रकृयामा असर परेको आयोजनाका सूचना अधिकारी एवम् वरिष्ठ डिभिजनल इन्जिनियर लेखनाथ सुवेदीले बताउनुभयो ।

‘कोरोना महामारीको असर, प्रकृयागत जटिलता आदिका कारण अघिल्लो समयमा हुनुपर्ने कार्यहरुको दायित्त्व पछिल्लो समयमा सर्दै आएको छ,’ उहाँले भन्नुभयो ‘स्थानीय निर्वाचन २०७९ का कारण पनि निर्माण कार्यमा परेको छ ।’ पछिल्लो समयमा भइरहेको मौसमी प्रतिकुलताका कारणले पनि निर्माण कार्यमा ढिलाइ भएको उहाँको भनाइ छ ।

आर्थिक वर्ष २०७९÷८० सम्म भेरी नदीबाट ४० घनमिटर प्रति सेकेन्ड पानी बबई नदीमा स्थानान्तरण गर्ने तथा यसबाट ४६.८ मेघावाट विजुली निकाल्नुका साथै बर्दिया र बाँके जिल्लाका करिब ५१ हजार हेक्टर जमिनमा १२ महिना सिँचाइ सुविधा उपलब्ध गराउनेछ । तर, आगामी आर्थिक वर्षमा पनि यो आयोजनालाई तीन चरणमा विभाजन गरेर काम सम्पन्न गर्ने जनाइएको छ ।

हाल यस आयोजनाको पहिलो चरणअन्तर्गत टनेल निर्माण कार्य सम्पन्न भएको आयोजनाका वरिष्ठ डिभिजनल इन्जिनियर लेखनाथ सुवेदीले जानकारी दिनुभयो । दोश्रो चरण अन्तर्गतको सिभिल संरचनाहरुको निर्माण कार्य भइरहेको छ । जसमा मुख्यतया बाँध, पावरहाउस निर्माण कार्य पर्दछन् । तेश्रो चरण अन्तर्गतको हाइड्रोमेकानिकल इलेक्ट्रोमेकानिकल सम्बन्धी निर्माण एवं जडान कार्यहरु पर्दछन् ।

आयोजनाको कार्य प्रगति हाइड्रोमेकानिकल निर्माण कार्य अन्तर्गत गेट तथा पेन स्टक पाइप निर्माण कार्य रहेको छ । यो कार्यको बोलपत्र आह्वानबाट प्राप्त बोलपत्रहरुको प्राविधिक मुल्यांकन गरी स्वीकृतिको लागि विभागमा पेश गरिएकोमा २०७६ वैशाख १३ गतेको विभागीय निर्णयअनुसार हाइड्रोमेकानिकल निर्माण कार्यको ठेक्का रद्द भएको थियो ।

तत्पश्चात पुन बोलपत्रमा आव्हान भए वमोजिम खरिद प्रकृया सम्पन्न यस कार्यको लागि अर्काे निर्माण व्यवसायीसंग २०७८ मंसिर ०७ गते दुई अर्ब १३ करोड ७४ लाखको लागतमा सम्झौता भएको मितिले तीन वर्ष भित्र सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको र निर्माण व्यवशायीले निर्माण तयारी गरिरहेको उहाँको भनाइ छ ।

त्यसैगरी इलेक्ट्रोमेकानिकल निर्माण कार्य अन्तर्गत टर्वाइन, जेनेरेटर स्विचयार्ड निर्माण कार्य भइरहेको छ । ईलेक्ट्रोमेकानिकल सम्बन्धी निर्माण कार्यको लागि बोलपत्रमा आव्हान भए बमोजिम हाल प्राप्त बोलपत्रहरुको मूल्यांकन अन्तिम चरणमा रहेको छ । गत आ.ब २०७७।७८ मा उक्त दुवै कार्यको खरिद व्यवस्थापन कार्य सम्पन्न गर्ने लक्ष्य लिइएकोमा नेपाललगायत विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ को दोश्रो लहरसमेतको महामारीका कारण प्रभावित भएको सूचना अधिकारी सुवेदीको भनाइ छ ।

‘गत आवमा दुवै कार्यको खरिद व्यवस्थापन कार्य सम्पन्न गर्ने लक्ष्य थियो । तर कोभिड–१९ को दोस्रो लहरको कारण प्रभावित हुन पुग्यो,’ उहाँले भन्नुभयो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गत जलस्रोत तथा सिँचाइ विभाग मातहत राष्ट्रिय गौरवको आयोजनाको रुपमा कार्यान्वयनमा रहेको नेपालको पहिलो बहुउद्देश्यीय तथा अन्तर जलाधार स्थानान्तरण आयोजना हो ।

यो आयोजना सुर्खेत जिल्लाको भेरीगङ्गा नगरपालिकामा अवस्थित छ । भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना पर्याप्त पानी उपलब्धता भएको भेरी नदीको पानी अन्तर जलाधार जल स्थानान्तरणको माध्यमबाट पानीको अभाव भएको बबई नदीमा स्थानान्तरण गर्ने बहुउद्देश्यीय आयोजना हो ।

सुर्खेत, बर्दिया र बाँके जिल्लालाई समेटेर ऊर्जा, सिँचाइ र जलाधार संरक्षणलाई एकसाथ योगदान पु¥याउने लक्ष्यका साथ यस आयोजना शुरु गरिएको हो । यस आयोजनाबाट भेरी नदीको ४० घनमिटर प्रतिसेकेन्ड पानी ४.२ मिटर व्यास र १२.२ किलोमिटर लामो सुरूङबाट बबई नदीमा स्थानान्तरण गरी बाँके र बर्दिया जिल्लाको करिब ५१ हजार हेक्टर भूमिमा १२ महिना सिँचाइ सुविधा उपलब्ध हुने अपेक्षा गरिएको छ । साथै, नियमित रुपमा ४६.८ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको छ ।

यस आयोजना सम्पन्न भए पश्चात १२ महिना सिँचाइ उपलब्धताबाट कृषि उत्पादन बढ्न गई वार्षिक ३.१ अर्ब रूपियाँ अप्रत्यक्ष र विद्युत बापत ४.० अर्ब रूपियाँ प्रत्यक्ष गरी वार्षिक ७.१ अर्ब रूपियाँ फाइदा हुने अनुमान गरिएको छ । प्रभावित क्षेत्रको समस्या भने उस्तै सुर्खेत जिल्लाको भेरीगंगा नगरपालिकाका प्रमुख यज्ञप्रसाद ढकालले भेरी–बबई डाइभर्सन आयोजनाबाट प्रभावित क्षेत्रको माग सुनुवाई नभएको बताउनुभयो ।

आयोजनाबाट प्रभावित भएका नगरपालिका भित्र सिँचाई, शिक्षा, खानेपानी र सडकको अवस्था हालसम्म पनि उस्तै रहेको उहाँको भनाइ रहेको छ । ‘आयोजना सञ्चालन गर्दा कुनै न कुनै क्षेत्रमा असर त पर्छ नै तर यस आयोजना सञ्चालन गर्दा हुने प्रभावको पूर्ति गर्ने बताइएको थियो तर समस्याहरु छन्,’उहाँले भन्नुभयो ।

प्रभावित क्षेत्रमा निर्माणका काम थुप्रिए पनि आयोजनाले खासै चासो नदेखाएको उहाँको गुनासो छ । ‘नगरपालिका भित्र आयोजनाबाट प्रभावित क्षेत्रमा निर्माणका काम थुप्रिएका छन् । सिँचाइको अवस्था सुधार भएको छैन, विद्यालयमा तारबार पनि भएको छैन,’ उहाँले भन्नुभयो ‘खानेपानीका मुहानहरु पनि सुकेका छन्, भत्केका सडकहरु पनि निर्माण भएका छैनन् ।’

स्रोत ः गोरखापत्र

तपाईको प्रतिक्रिया