टीवाईटी कप : एनआरटीले दियो तीन विदेशी खेलाडीलाई निरन्तरता

काठमाडौं, ८ असार ।

न्यूरोड टोली (एनआरटी)ले मलेसियामा हुने टुवान याङ टेरूतमा (टीवाईटी) कप फुटबल प्रतियोगिताका लागि आफ्नो तीन विदेशी खेलाडीलाई निरन्तरता दिएको छ ।

‘ए’ डिभिजन लिग र मोफसलका केही गोल्डकप खेलेर स्वदेश फर्किएका स्टेफन समिर विनोङ, मेसुके ओलुमोउ र आन्द्रे थिएरी वियक वियकलाई एनआरटीले टीवाईटी कपको लागि फिर्ता बोलाएको हो ।

उनीहरू बुधबार बिहान नेपाल आइपुगेको क्लबले जनाएको छ । स्टेफन र मेसुके फरवार्ड हुन् , वियक डिफेन्डर हुन् । पेनाङ सहर प्रमुख मिस्टर याङले पदबहाली ग्रहण गरेको पहिलो बार्षिकोत्सवको अवसरमा टीवाईटी कप हुन लागेको हो ।

२८ जुनदेखि २ जुलाईसम्म हुने प्रतियोगिताको लागि एनआरटीले गत सातादेखि प्रशिक्षण सुरू गरिसकेको छ। प्रतियोगिताको लागि यसपटक केही नयाँ खेलाडी टोलीमा हुनेछ ।

नेपालबाट एनआरटीसहित मलेसियाको सुपर लिग क्लब पेनाङ एफसी र बंगलादेश प्रिमियर लिगको क्लब मुक्तिजोधा संसद केसीले प्रतिस्पर्धा गर्नेछन् । पेनाङ सिटी रंगशालामा हुने प्रतियोगिताको विजेताले १० हजार मलेसियन रिङगेट पुरस्कार जित्नेछ भने उपविजेता टोलीले ५ हजार मलेसियन रिङगेट पुरस्कार जित्नेछ ।

एनआरटीले हालसम्म पाँचपटक ‘ए’ डिभिजन लिगको उपाधि जितिसकेको छ । गत फागुनमा सम्पन्न लिगमा एनआरटी तेस्रो भएर सिजनको अन्त्य गरेको थियो ।

स्रोत :  नेपाललाइभ

तपाईको प्रतिक्रिया