अस्ट्रेलियाविरुद्ध श्रीलंका ४ रनले विजयी, एक खेल अगावै जित्यो सिरिज

काडमाडौं, ८ असार ।

अष्ट्रेलियालाई चार रनले हराउँदै घरेलु टोली श्रीलंकाले एक खेल अगावै सिरिज ३–१ ले जितेको छ। योसँगै श्रीलंकाले सन् १९९२ पछि पहिलो पटक अष्ट्रेलियासँग घरेलु मैदानमा द्विपक्षीय एक दिवसीय सिरिज जितेको हो । जितको लागि २ सय ५९ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले ५० ओभरमा सबै विकेट गुमाउँदै २ सय ५४ रन मात्र बनाउन सक्यो । अष्ट्रेलियालाई जितको लागि अन्तिम ६ बलमा १९ रन चाहिएको थियो ।

म्याथ्यु कुहनेमानले पहिलो बल डट खेले पनि कप्तान दसुन शनकालाई दोस्रो बलमा चौका, तेस्रो बलमा २ रन, चौथो र पाँचौं बलमा लगातार चौका प्रहार गरेपछि खेल रोचक बनेको थियो । अन्तिम बलमा जितको लागि पाँच रन आवश्यक भएको अवस्थामा कुहनेमान चरिथ असलंकाबाट क्याच आउट भए । अष्ट्रेलियाका लागि ओपनर डेविड वार्नरले सर्वाधिक ९९ रन जोडे ।

१९ औं एक दिवसीय सतक बनाउन १ रनले चुकेका वार्नरले १ सय १२ बल खेल्दै १२ चौका प्रहार गरेका थिए । यस्तै प्याट कमिन्सले ३५, ट्रविस हेडले २७, मिचेल मार्शले २६, एलेक्स केरीले १९ तथा मार्नस लाबुसेनले १४ रन जोडे । आरोन फिन्च डक आउट हुँदा ग्लेन म्याक्सवेल १ रनमा आउट भए। तल्लोक्रमका क्यामरन ग्रिन १३ र कुहनेमान १५ रनमा आउट भएका थिए ।

श्रीलंकाका लागि चामिका करूणारत्ने, धनन्जय डि सिल्भा, जेफ्री वान्डरसेले समान दुई–दुई, महेश थिक्शणा, दुनिथ वेललागे, वानिन्दु हसरंगा र दासुन शनाकाले एक÷एक विकेट हात पारे। त्यसअघि आर प्रेमादासा स्टेडियम कोलम्बोमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको श्रीलंकाले ४९ ओभरमा सबै विकेट गुमाउँदै २५८ रन बनाएको थियो। उसका लागि चारिथ अस्लंकाले शतकीय पारी खेले । धनन्जय डि सिल्भाले अर्धशतक पुरा गरेका थिए ।


पहिलो एकदिवसीय सतक प्रहा गर्ने क्रममा असलंकाले १ सय ६ बलमा १० चौका र १ छक्कासहित १ सय १० रन बनाए। सिल्भाले ६१ बलमा सात चौकासहित ६० रन बनाउँदा वानिन्दु हसरंगा २१ रनमा अविजित रहे । दुनिथ वेलाजले १९ रन बनाउँदा पाथुम निस्संका १३ र कुशल मेन्डिस १४ रनमा आउट भए ।

ओपनर निरोशन डिक्वेला १ रनमा पवेलियन फर्किँदा कप्तान दुशान ४ रनमा आउट भए । अस्ट्रेलियाका लागि मिचेल मार्श, प्याट कमिन्स र म्याथ्यू कुहनेमनले दुई–दुई तथा ग्लेन म्याक्वेलले एक विकेट हात पारे ।

यो जितसँगै श्रीलंकाले सिरिजमा ३–१ को अग्रता लिएको छ । पहिलो खेलमा अष्ट्रेलिया डकवर्थ लेविस पद्धतिको आधारमा दुई विकेटले विजयी भएको थियो। श्रीलंका दोस्रो खेलमा डकवर्थ लेविस पद्धतिको आधारमा २६ रन र तेस्रो खेलमा ६ विकेटले विजयी भएको हो। पाँचौं तथा अन्तिम खेल शुक्रबार हुनेछ ।

स्रोत :सेतोपाटी


Leave a Reply

Your email address will not be published.


ताजा समाचार