पहिलो पटक आयोजित खुला ‘प्रथम राष्ट्रिय काँक्रेविहार हाफ म्याराथन’

सुर्खेत, ७ असार ।

सुर्खेतको वीरेन्द्रनगरमा पहिलो पटक आयोजित खुला ‘प्रथम राष्ट्रिय काँक्रेविहार हाफ म्याराथन’ प्रतियोगिताको उपाधि बाग्लुङका तीर्थकुमार पुनले जितेका छन् । मंगलबार बिहान सुर्खेत वीरेन्द्रचोकबाट सुरु भई मङ्गलगढी चोक हुँदै सुब्बाकुना, बुलबुले, चाइना पुल, बाङ्गेसिमल, खोर्केखोला हुँदै पुनः वीरेन्द्र चोकसम्मको २१ किलोमिटर १०० मिटर दूरी एक घण्टा नौ मिनेट १५ सेकेन्डमा पार गरेर पुन पहिलो भएका हुन् ।

यस्तै पुनभन्दा ९ सेकेन्ड पछि भएका राजन रोकायले दोस्रोमा चित्त बुझाउनु पर्यो । यस्तै निर्धारित दूरी एक घण्टा १० मिनेट ११ सेकेन्डमा पुरा गरेका जुम्लाका चिने बुढा तेस्रो भए । कर्णाली खेलकुद परिषद्का सदस्यसचिव विश्वामित्र सञ्ज्यालका अनुसार खगेन्द्रबहादुर भाट चौथो, सुवास कार्की पाँचौँ र श्रीकाश राई छैठौं भए ।

सञ्ज्यालका अनुसार प्रतियोगिताका विजेतालाई ७१ हजार रूपैयाँ, दोस्रो हुने रोकायले ४१ हजार रूपैयाँ र तेस्रो हुने बुढाले ३१ हजार रूपैयाँ पुरस्कार पाए । यस्तै चौथो हुने भाटले २० हजार, पाँचौँ हुने कार्कीले १५ हजार र छैठौं हुने राईले १० हजार नगद पुरस्कार तथा प्रमाणपत्र पाएका थिए।

त्यस्तै, पाँच किलोमिटर छात्रातर्फ प्रथम बिमला कार्की, द्वितीय निशा मल्ल र तृतीय लक्ष्मी शाही भए । छात्रातर्फ प्रथम विकास विक, द्वितीय अजय विक र तृतीय प्रकाश बुढा भएका छन् । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने छात्राछात्रलाई क्रमशः रु १० हजार, सात हजार र पाँच हजार नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रतियोगिताको उद्घाटन गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले खेल क्षेत्रको जस्तै लक्ष्य लिएर यस क्षेत्रको विकासको गति अघि बढाउनुपर्ने धारणा राखेका थिए। नेकपा एमाले कर्णाली प्रदेशसभा दलका नेता यामलाल कँडेलले यो खेल प्रतियोगिताले कर्णालीलाई विश्व जगतमा चिनाउन महत्वपूर्ण भूमिका खेल्ने टिप्पणी गरे। कर्णाली प्रदेश खेलकुद विकास परिषद्का उपाध्यक्ष प्रमोद हमालले प्रतियोगिताको ऐतिहासिक कदमले कर्णालीको खेल पर्यटनको प्रवर्द्धनमा सहयोग पुग्ने जनाए ।

सदस्यसचिव सञ्ज्यालले खेलजगत्मा गिनिज बुक अफ वल्र्ड रेकर्ड्स हरिबहादुर रोकाय, जुम्ला पातारासी गाउँपालिका सुनमाया बुढाजस्ता उच्च प्रतिभा भएका खेलाडी जन्माउने कर्णालीले अब पनि नेपाललाई विश्वमा चिनाउन ठूलो भूमिका खेल्ने बताए ।

प्रतियोगिताबाट ऐतिहासिक महत्वको काँक्रेविहारको प्रचारप्रसार, कर्णालीमा खेल पर्यटनको प्रवर्द्धन हुने र लुकेर रहेको प्रतिभा प्रस्फुटन हुने अपेक्षा गरिएको छ । प्रतियोगिता सञ्चालनका लागि ५० जना निर्णायक रहेका थिए । प्रतियोगिता सञ्चालनका लागि प्रदेश खेलकुद विकास परिषद्ले रु छ लाख उपलब्ध गराएको जनाइएको छ ।

‘अन्तर्राष्ट्रिय ओलम्पिक डे २०२२’ का अवसरमा कर्णाली प्रदेश खेलकुद विकास परिषद्को समन्वयमा मिड वेस्टर्न फिटनेस सेन्टरले प्रतियोगिता आयोजना गरेको थियो। विभिन्न क्लब, नेपाल प्रहरी, नेपाली सेना, सशत्र प्रहरी बल, विभिन्न विद्यालयका छात्रछात्रा गरेर एक हजार २८० खेलाडीहरुले म्याराथन प्रतियोगितमा भाग लिएको संस्थाका प्रोप्राइटर सञ्जीव हमालले जानकारी दिए ।

स्रोत : रातोपाटी

तपाईको प्रतिक्रिया