कोहलपुर–सुर्खेत १३२ केभी : जग्गा अधिग्रहण गरी टावर निर्माण शुरु, सुव्वाकुनामा सव–स्टेशनको टेण्डर

पुनम वि.सी.
सुर्खेत, ७ असार ।
कोहलपुर–सुर्खेत १३२ केभि आयोजना अघि बढेको छ । आयोजना अन्र्तगत जग्गा अधिग्रहण तथा सव–स्टेशन निर्माण प्रक्रिया शुरु गरिएको हो ।

आयोजनाले सुर्खेतको भेरीगंगा नगरपालिका, वीरेन्द्रनगर नगरपालिका र बाँकेको कोहलपुर क्षेत्रमा जग्गा अधिग्रहण कार्य सम्पन्न गरी जग्गा प्राप्ति गरिसकेको छ ।

आयोजना प्रमुख रविकुमार चौधरीले भने, ‘बाँकेको कोहलपुर, सुर्खेतको छिन्चु तथा वीरेन्द्रनगर क्षेत्रमा जग्गा अधिग्रहण प्रक्रिया सम्पन्न भएको छ । बाँकेको केहि क्षेत्रमा भने विवादका कारण जग्गा अधिग्रहणको काम केहि समयका लागि ढिला हुने देखिन्छ ।’

आयोजना प्रमुख चौधरीका अनुसार बाँकेको बैजनाथ गाउँपालिकाको १ र ४ नम्वर वडामा जग्गा अधिग्रहणका विषयमा विवाद छ । आयोजना प्रमुख चौधरीका अनुसार कोहलपुर र सुर्खेतमा सव–स्टेशन निर्माणका लागि टेण्डर प्रक्रियासमेत अघि बढिसकेको छ ।

उनले भने, ‘वीरेन्द्रनगर–११ को सुव्वाकुनामा सव–स्टेशन निर्माणका लागि टेण्डर प्रक्रिया समेत अघि बढाएका छौँ । अहिले उक्त क्षेत्रमा सव–स्टेशनका विषयमा योजना निर्माण लगायतका काम भईरहेका छन् ।’

यसका साथै कोहलपुर–सुर्खेत १३२ केभिए विद्युत् प्रसारण लाइन विद्युत विस्तार गर्दा १३ हजार ५६ वटा रूख काटिने भएको छ । आयोजना क्षेत्रमा पर्ने सुर्खेतको वीरेन्द्रनगर नगरपालिका, भेरीगंगा नगरपालिका र लेकबेँसी नगरपालिका, बर्दियाको बर्दिया राष्ट्रिय निकुञ्ज, बाँकेको कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिका क्षेत्रभित्रका रूख कटान हुने भएका हुन् ।

कोहलपुर–सुर्खेत १३२ केभि विद्युत् प्रसारण लाइन विस्तारका लागि निर्माण कम्पनी आरएस इन्फ्राप्रोजेक्ट प्रालिले तयार पारेको प्रतिवेदनले कटान हुने रूखको संख्या १३ हजार ५६ रहेको आयोजना प्रमुख चौधरीले बताए ।

‘आरएस इन्फ्राप्रोजेक्ट प्रालिले तयार पारेको प्रतिवेदन सरकारलाई पेस गरिएको थियो । आयोजना क्षेत्रभित्र पर्ने रूख काट्नका लागि सरकारसँग गत महिनामामै अनुमति मागेका छौँ ।’ प्रतिवेदन अनुसार सुर्खेतमा ६ हजार आठ सय २०, बर्दियामा तीन हजार तीन सय २० र बाँकेमा दुई हजार नौं सय १६ वटा रूख कटान हुनेछन् ।

आयोजना क्षेत्रमा पर्ने रूख कटानका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र वन तथा वातावरण मन्त्रालयमा अनुमतिका लागि फाइल पेस भएको हो । रूख कटानका लागि वन मन्त्रालयको स्वीकृति चाहिने भएकाले मन्त्री परिषद्को बैठकले पास गरेसँगै चाँडै रूख कटानको काम सुरु हुने आयोजना प्रमुख चौधरीले जानकारी दिए ।

चौधरीका अनुसार रुख कटान अनुमतिका लागि मन्त्री परिषद्बाट गत बिहिबारनै अनुमति आउनुपर्ने थियो । उनले भने, ‘गत बिहिबार नै अनुमति आउने भन्ने सुनेका थियौँ । यस विषयमा थप जानकारी आएको भने छैन, चाँडै आउनेका विश्वस्त छौँ ।’

आयोजना अन्र्तगत पर्ने रुख कटान अनुमति आएसँगै आयोजनाको सम्पूर्ण कामहरु तिब्र रुपमा अघि बढ्ने आयोजना प्रमुख चौधरीको भनाई छ । उनले भने, ‘रुख कटान अनुमति आएसँगै काम तिब्र रुपमा अघि बढ्छ । आयोजना अन्र्तगतका पोल निर्माण लगायतका कार्य रुख कटान अनुमतिका कारण रोकिएका छन् ।’

कोहलपुर–सुर्खेत १३२ केभि विद्युत् प्रसारण लाइन विस्तार गर्दा एक सय ६० पोल निर्माण हुनेछन् । तीमध्ये एक सय ३० वटा पोल सार्वजनिक तथा राष्ट्रिय निकुञ्ज र बाँकी ३० वटा पोल व्यक्तिको जग्गामा पर्ने आयोजना निर्माण कम्पनीले जनाएको छ । कोहलपुर–सुर्खेत १३२ केभि विद्युत् प्रसारण लाइनको निर्माणको जिम्मा भारतीय निर्माण कम्पनी आरएस इन्फ्राप्रोजेक्ट प्रालिले ७० करोड रुपैयाँमा ठेक्का पाएको हो ।

कोहलपुर–सुर्खेत १३२ केभिए विद्युत् प्रसारण लाइनका लागि करिव ९९ हेक्टर जमिन टावर निर्माण, सव–स्टेसन तथा क्षेत्राधिकारका लागि आवश्यक पर्नेछ । आयोजना अन्र्तगत कोहलपुरदेखि सुर्खेतसम्म रहने कुल एक सय ६० वटामा २६ वटा एंगल टावरहरू निर्माण हुनेछन् ।

वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनका अनुसार प्रसारण लाइनले ७० हेक्टर जमिन वनको क्षेत्र ओगट्नेछ । त्यसैगरी १६ हेक्टर खेतीयोग्य जमिन र दुई हेक्टर बाँझो जमिन, तथा ११ हेक्टर अन्य भागले ओगट्ने प्रतिवेदनमा उल्लेख छ ।

जसमध्ये करिव चार हेक्टर जमिनमा स्थायी रूपमा सव–स्टेसन निर्माणका लागि र तीन हेक्टर टावरको जग निर्माणका लागि अधिग्रहण गरिनेछ भने बाँकी करिव ९२ हेक्टर जमिन अस्थायी रूपमा प्रयोग गरिनेछ ।

आयोजनाको कुल लम्बाइ करिब ५१.४६२ किमि डबल सर्किटको रहने प्रस्ताव गरिएको छ । हाल सुर्खेतसहित कर्णालीमा ३२ केभि विद्युत लाइन सञ्चालनमा छ ।

यस अघि सुर्खेतसहित कर्णाली प्रदेशमा १३२ केभिए विद्युत् लाइन विस्तारका लागि ‘कोहलपुर–सुर्खेत १३२ केभिए विद्युत् प्रसारण लाइन’ आयोजनाले काम थालेको थियो ।

२०४५ सालमा नेपाल विद्युत् प्राधिकरणले सुर्खेतमा १३२ केभि विद्युतलाई विस्तार गर्ने योजना बनाएको थियो । तर, लामो समयसम्म विद्युत् लाइन विस्तारको काम अघि बढ्न सकेको थिएन । झण्डै ३२ वर्षपछि आयोजनाको काम अघि बढेको हो ।

यता सुर्खेतको भेरीगंगा नगरपालिकाका स्थानीयले आयोजनाले आफुहरुलाई क्षति पु¥याउने बताउँदै गत वर्षदेखि अवरोध पु¥याएका समेत थिए । सुर्खेतको भेरीगंगा नगरपालिका–१० का स्थानीयहरुले झुक्काएर गाउँ हुँदै एक सय ३२ केभि लाईन लैजान लागेको भन्दै उचित क्षतिपूर्तिको मागसहित आन्दोलनमा उत्रिएका थिए ।

आफुहरुको अनुमति विना जग्गाबाट लिइने प्रसारण लाइनले आफ्नो घर तथा जग्गा प्रभावित हुने भन्दै स्थानीयहरु आक्रोशित थिए । सो समयमा सुर्खेतका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा चलनचल्तीको रेटअनुसार जग्गाको मुआब्जा दिइने विषयमा कोहलपुर–सुर्खेत–दैलेख एक सय ३२ केभि प्रसारण आयोजनाले स्थानीयसंग छलफल अघि बढाएको थियो ।

आयोजना प्रमुख चौधरीले भने, ‘स्थानीयलाई क्षतिपुर्ती दिएपछि अहिले सो अवरोध भने हटेको छ । उक्त स्थानमा टावर निर्माणका कामहरु सुरु भईरहेका छन् ।’ ७० करोड लागतमा २ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिएपनि प्रसारण लाईन विस्तार गर्दा निकुञ्ज र वन पर्ने भएकाले क्याविनेटमा पुगेकाले समय लाग्ने आयोजना प्रमुख चौधरीको भनाई छ ।

उनले भने, ‘रुख कटान अनुमति तथा जग्गा अधिग्रहणका विषयहरु सबै सुल्झिएपछि त समय नै लाग्दैन । अब चाडै नै यि विषयहरुको समाधान हुनेछन् । दुई वर्षभित्र १३२ केभि प्रसारण लाइन पु¥याउने भन्ने योजना छ । केहि समय ढिलाभएपनि समयमै आयोजना सम्पन्न गर्ने लक्ष्य राखेका छौँ ।’

काठमाण्डौं पुग्यो बाणिज्य संघ नेतृत्व
कोहलपुर–सुर्खेत एक सय ३२ केभि प्रसारण लाइन काममा ढिलाइ देखिएपछी सुर्खेत उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मण कंडेल काठमाण्डांै पुगेका छन ।

अध्यक्ष कंडेलले भने, ‘अहिलेसम्म संघीय सरकारले रुख कटानका लागि अनुमती दिएको छैन। वन मन्त्रालयमा आयोजनाका तर्फबाट रुख कटान सम्वन्धमा फाइल पेश भएको छ ।’ आयोजना समयमै सम्पन्न नहुँदा यसको पहिलो प्रभाव निजि क्षेत्रलाई छ ।

कंडेलले भने, ‘रुख कटान, जग्गा अधिग्रहण लगायतका विषयमा सरकारले चाँडो कामको थालनी गरोस भन्ने उद्देश्यका साथ दवाव सहितको छलफलका लागि हामी यहाँ आएका छांै ।’ सुर्खेत उद्योग बाणिज्य संघका पदाधिकारी मंगलबारनै केन्द्रका सम्वन्धित निकायसँग भेटवार्ता गर्दैछन् ।

तपाईको प्रतिक्रिया