लघु कथा : बाटुली

 

मीनराज पन्त
लघुकथा समाज कर्णाली प्रदेश ।

कसैले उसलाई बोलाए झै लाग्छ । चुम्बकले धातुलाई ताने झै त्यतै तिर तानिई रहन्छे , खिचिन्छे र दैडिन्छे । बनजङगल, भिरपाखा र खोला बगर केही नभनी बेलगाम कुदिरहन्छे । जब ऊ उसको नजिक पुग्छे तब त्यो आफै हराउछ , बिलाएर जान्छ अनि झसङ्ग हुन्छे, ब्युझन्छे, अहो ! यो त सपना पो रहेछ । आत्तिएर सङगै सुतेको छोरालाई गम्लङग अँगालो हालेर म्याई खान्छे ।

सङगै राखेको बोतलको पानी सिनित्तै पार्छे । ओछ्यानसङगै जोडिएको झ्यालको पल्ला उघारेर बाहिर हेर्छे, टह टह लागेको जुनले उसैलाई गिज्याए झै लाग्छ । आकासमा जुन उदाए जस्तै मेरो भाग्यपनि उदाए कस्को के जान्थ्यो र भन्दै एक्लै बर्बराउछे । अहो ! कस्तो झकाएछु, छोरालाई सुताउन लागेको आफै निदाए छु भन्दै माझ्न बाँकि रहेका भाँडा तिर लाग्छे । कस्ता मनकारि साहुजि! मलाई त्यस्तो बेला सहारा नदिएको भए के हुन्थ्यो होला? कहाँ जान्थे होला ? आफैलाई प्रश्न गर्दै सान्त्वना पनि दिन्छे , फेरि पुरानो यादमा हराउछे ।

भक्ते घरबाट निस्केसङगै बाटुलीको भोक प्यास अनि आफूसितै लिएर गयो । सधै हाँसी खुशी रहने बाटुली उदास अनि चुपचाप रहन थाली । बिरामी सासू र आफ्नो नाबालक छोराको मुख हेरेपछि भने बल्ल तल्ल सम्हालि आफूलाई । परिवार प्रतिको जिम्मेवारी र कर्तव्यको मीयो बन्न पुगेकि ऊ धेरै समय कहाँ त्यसै बस्न धर पाऊथि लागीहालि आफ्नो दैनिकमा ।

दिनभरिको मेलापात, गाइबस्तु अनि घरधन्दा भ्याई नभ्याई थियो उसलाई । जब काम सकेर साँझ लखतरान भएर घर फर्किन्थि दुधे बालकका ती चम्किला आंखाले उसलाई फेरि ताकत दिन्थ्यो, थकान बिर्साउथ्यो , आशा जागेर आउथ्यो । दिनचर्या यस्तै चलिरहे कै थियो । बर्षदिन बित्न नपाउदै दमले थलिएकि सासू खसेपछि त झन ऊ सहारा बिहिन भइ ।

घरबाट निस्केको लोग्नेको केही अत्तो पत्तो थिएन तरपनि छोराको माया र झिनो आशाले उसलाई बाँच्न बाध्य तुल्यायो । सुरु सुरुमा त धेरैलाई ढाँट्न पनि सफल भई ऊ । फुर्ति पनि लगाई लोग्ने कमाउन गएको कुरा गरी, कमाएर रमाउने कुरा गरी तर उसको ढाँट धेरै दिन टिक्न सकेन । जब भक्तेले पल्लो गाउँकी केटी टिपेर मुग्लान पसेको खबर गाउँ भरी फैलियो , ऊ ना जबाफ भई ।

जीवनमा रगतका आँशु पिउन बाध्य भई गाउँले लागाएत आफन्त र इष्ट मित्रहरुले समेत कटाक्ष गर्दै उसको चरित्रमा औँला ठड्याए पछि भने सहनशीलताले सिमा नाघ्यो उसको अनि एउटा कठोर निर्णय लिन बाध्य भई ऊ । गाउँका गिध्दे नजरहरुबाट बच्दै बचाउदै आफ्नो नाबालक छोरालाई काखमा च्यापेर झिस्मिसे मै निस्की गाउँबाट ।

तपाईको प्रतिक्रिया