मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

सुर्खेत, ४ असार ।
वीरेन्द्रनगरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । शुक्रबार राती १० बजेको समयमा मोटरसाइकले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको हो ।

प्रहरी चौकी बाङ्गेसिमल सुर्खेतका अनुसार वीरेन्द्रनगर नगरपालिका–४ मुलपानीचोक स्थित रत्न राजमार्गमा बाङगेसिमलबाट मुलपानीचोकतर्फ जाँदै गरेको लु ६५ प १८४४ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिएको थियो ।

मृत्यु हुने पैदलयात्री हुम्लाको चङ्खेली गाउँपालिका–१ का २४ वर्षीय हरिबहादुर ऐडी रहेको प्रहरीले जनाएको छ । ठक्कर पछि घाइते ऐडीलाई उपचारको लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको थियो ।

प्रहरीका अनुसार ऐडीलाई शुक्रबार साँझ १०ः४५ बजेको समयमा डाक्टरले मृत घोषणा गरेका थिए । प्रहरीले मोटरसाइकल चालक सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९ का २४ वर्षीया हिक्मत मल्ललाई नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया