आफन्तले जुराएको माया

धेरै व्यक्तिहरुका सम्बन्ध आफन्तले पनि जुराइदिएका हुन्छन । घरपरिवारकै सल्लाहमा मायाको गाठो बाँधिन्छ । अनि प्रेम हुन्छ । सानैदेखि चिनाजान भएपनि बिवाहपछि माया बसेका जोडीहरु प्नि धेरै छन् । त्यस्तै भयो सुर्खेतका देव कुमार विसी र खगिसरा बुढाको जीवनमा पनि । प्रस्तुत छ, यो जोडीसँग गरिएको कुराकानीको साराशं :

सानैबाट चिनजान, तर बोलाचाली थिएन
देव कुमार र खगिसरा एउटै गाउँका थिए । उनीहरु एउटै विद्यालय पढ्थे । देव कुमार पाँचमा पढ्दै थिए । खगिसरा ४ मा पढ्थिन । उनीहरुबिचमा देखादेख त भइरहन्थ्यो । तर बोलाचाली थिएन । देव कुमारको आमाले भविष्यमा मेरो बुहारी बनाउने हो भनेर अनौपचारिक कुरा गरेकी थिइन । तर त्यो कुराले औपचारिकता भने पाएको थिएन ।

उनीहरु बिचमा कहिले पनि कुराकानी अहिलेको जस्तो हेल्लो, हाई भन्ने भएन । उमेर पनि सानै थियो । प्रेमको कुरा गर्ने कुरै भएन । उनीहरुबिचमा सधै विद्यालयमा भेट हुन्थ्यो तर कुराकानी एकदिन पनि भएन ।

घरपरिवारले चलायो बिहे गर्ने प्रस्ताव
देव कुमार १६ बर्षको थिए । उनको आमा स्वर्गिय भइसकेकी थिइन । आमाले अनौपचारिक रुपमा खगिसरालाई बुहारी बनाउने प्रस्ताव उनको बुवाले औपचारिक रुपमा राखे । पहिले मागेर बिवाह गर्ने चलन थियो । त्यही चलनअनुसार देव कुमारको बुवाले खगिसराको घरमा बिवाह गराइदिने प्रस्ताव लिएर गए ।

अनि दुबैजना बिवाह गराइदिने कुरामा राजी भए । उता देव कुमार र खगिसराको एक पटक पनि कुराकानी भएको थिएन । अनि अब दुबै जनाको बिवाह हुने फिक्स भएपछि एकदिन देवकुमार खगिसराको घरमा गए । पानी खाने निहुमा उनले बोलाएका थिए । तर त्यो दिन पनि खास्सै कुराकानी भएन ।

पहिलो दिन बोलाउँदा दुबैजना लजाएका थिए । अनि घरपरिवारकै सल्लाहमा बिवाह गर्ने मिति समेत तय भयो । अनि उनीहरुको २०३३ सालमा मागी बिवाह भयो । बिवाह भएर घरमा आउँदा खगिसरालाई केही फरक फिल भइरहेको थियो । पराई घरमा जाँदा, बिरानो ठाउँमा पुग्दा उनिले अलिक फरक महसुस गरेकी थिइन । तर घरपरिवारको मायाले उनी घुलमिल हुँदै गइन ।

बिवाहपछि भयो प्रेम
उनीहरुबिचमा बिवाहपछि मात्र माया बसेको हो । बिवाह हुनुभन्दा अगाडी बोलाचाली समेत नभएका उनीहरु जब बिवाह भएरसँगै भए, अनि मात्र माया बस्न थाल्यो । भ्रखर भ्रखरको जवानी सँगै खाने, सँगै विद्यालय जाने, उनीहरुबिचमा माया बढ्दै गयो । दुबैजनाले एकअर्काको सल्लाहले काम गर्न थाले ।

कुनै दिन देव कुमार कतै गएको बेला ढिलो आए भनेपनि खगिसरालाई धेरै नरमाइलो लाग्थ्यो । माया भनेको के रहेछ भन्ने उनीहरुलाई बल्ल थाहा हुन थाल्यो । उनीहरु भन्छन, सानैमा बसेको माया बिर्सन नसक्ने हुँदो रहेछ ।

प्रेम भएपछि उनीहरु रमाईला ठाउँहरुमा घुम्न पनि गए । तर त्यतिबेला हनिमुन नै मनाउन जाने चलन थिएन । उनीहरुबिचमा मायाका कुरा धेरै हुन्थे । खाना खाँदा पनि सँगै खान्थे । जब कुनै काम गर्नुपर्यो सहकार्य गरेर गर्थे ।

संघर्ष
बिवाहपछि उनीहरुले आफ्नो भविष्यको रेखा कोर्दा धेरै संघर्ष गर्नुपर्यो । एकातिर आफ्नो पढाई पुरा गर्नुपर्ने थियो । देव कुमारले पहिलो प्राथमिकता पढाईलाई राख्थे । उता खगिसराले पनि घर व्यवहार धान्नेदेखि देव कुमारलाई अगाडी बढाउन धेरै मेहेनत गरिन । धेरै संघर्षपछि देव कुमार २०३९ सालमा स्थायी शिक्षक भए ।

त्यसपछि घरमा केही रुपमा आर्थिक समस्या कम हुँदै गयो । उनले केही समय गाउँकै विद्यालय जोरेबाँझमा पढाए । अनि उन सरुवा भएर सुर्खेतमा आए । २०४५ सालमा उनको परिवार नै बसाइसराई गरेर सुर्खेत आयो । अनि उनको पदउन्नती हुँदै गयो । संधर्षको फल मिठो हुन्छ भनेजस्तै उनिहरु सहजताको बाटोमा गए ।

छोराछोरीलाई राम्रो विद्यालयमा पढाए । देव कुमार २०५१ देखि २०७६ सम्म दैलेखमा श्रोत व्यक्ती भएर काम गरे । अहिले अवकास लिएर बसिरहेका छन । संघर्षबाट नै सफलता प्राप्त गरेको यो जोडी अहिले खुसी छ । एकजना छोरी डाक्टर छन एकजना छोराले प्लस टु पढाउछन । भने एकजना व्यवसायिक छन । उनिहरु भन्छन, एकअर्काको विश्वास, माया र साथले संघर्ष गर्दा जीवनमा सफलता मिल्दो रहेछ ।

बाल्यकाल
बुवा भक्त बहादुर बुढा र आमा मैनकला बुढाको कोखबाट विस २०१६ जेठ १८ गते दैलेखको गुराँस गाउँपालिका वडा नम्बर ६ जोरेवाँझमा देव कुमार विसीको जन्म भएको हो । उनि घरको माइलो छोरा हुन । उनका ४ भाइ थिए । उनको बुवा राजनिति क्षेत्रमा सक्रिय थिए ।

उनीसहित उनका दाई भाई पढाईमा अब्बल थिए । सानोमा सामान्य बाल्यकाल विताएका उनको आमाको देव कुमार १५ बर्ष हुनेबेला स्वर्गीय भएपछि धेरै केही दुख गर्नुपरेको थियो । उनको बाल्यकाल गाउँमै वित्यो ।

सानो कक्षा गाउँकै विद्यालयमा पढे । पाँच कक्षासम्म गाउँमै पढेका उनले त्यसपछि दैलेख बजारबाट एसएलसी गरेका उनले नेपालगञ्जबाट आइए गरेका हुन । उनले एमएसम्म अध्ययन गरेका छन । उनि सालिन र भ्रद स्वभावका छन ।

यता, बुवा मणिराम बुढा क्षेत्री र आमा बेलमती बुढा क्षेत्रीको कोखबाट विस २०१७ साल आसर १० गते दैलेख गुराँस गाउँपालिका वडा नम्बर ६ जोरेबाँझमै खगिसरा बुढाको जन्मभयो । उनको बाल्यकाल सामान्य र रमाईलोमा बित्यो । बाल्यकाल गाउँमै बिताएकी उनले पाँच कक्षासम्म गाउँकै विद्यालयमा पढिन । अनि ६/७ पढ्दै गर्दा उनले पढाई छाड्नुपर्यो । त्यतिबेला छोरीहरुलाई पढाउनुपर्छ भन्ने चलन थिएन । सहयोगी स्वभावकी उनी सबैसँग मिलसार थिइन ।

प्रेम अनुभव
उनीहरुको अनुभवमा बिवाहपछि माया धेरै लाग्दो रहेछ । अहिलेसम्म झगडाभन्दा धेरै मायाँ भएको छ । उनीहरुको बिचारमा दुबैको कुरा बुझ्ने सुख दुखमा साथ दिनु भनेको प्रेम हो । दुबैजना बिचमा विश्वासको वातावरण हुनुपर्छ ।

यो जोडी फुर्सदको समयमा विभिन्न ठाउँहरुमा पनि घुम्न जाने, रमाईलो गर्ने गर्दछन । उनीहरु भन्छन शंकाले सम्बन्ध विगार्छ । अन्य जोडिहरुलाइ पनि उनीहरुले सोच बदलेर विश्वास र एकअर्काको सहयोगमा काम गरे सफलता हाँसिल हुने सुझाब दिन्छन ।

तपाईको प्रतिक्रिया