जिसस निर्वाचन : आयोगको निर्णय प्रतिक्षा

अमर सुनार
दैलेख, २६ जेष्ठ ।
जिल्ला समन्वय समिति दैलेखको प्रमुख पदमा नेपाली काँग्रेसका बागी उम्मेदवारी खारेजको उजुरी परेपछि आज हुने भनिएको मतदान हुने नहुने दुविधा पैदा भएको छ ।

त्यो पदका लागि नेपाली काँग्रेसका आधिकारिक उम्मेदवार दुर्गाकुमारी श्रेष्ठले बागी उम्मेदवार नमराज शाहीको उम्मेदवारी खारेजको उजुरी गर्नुभएको हो ।

नेपाली काँग्रेसबाट निर्वाचित भएका व्यक्ति एमालेको समर्थनमा स्वतन्त्र उम्मेदवारी दर्ता गराउनु गैरकानूनी भएको भन्दै श्रेष्ठले शाहीको उम्मेदवारी खारेजीको लागि उजुरी गरेपछि निर्वाचन आयोगको रायको निम्ति लेखी पठाएको मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेले बताउनुभयो ।

जेठ २३ गते सोमवार दिउँसो २ देखि ४ बजेसम्म तोकिएको दावी विरोधको समय नाघि छुट्टै उजुरी आएकोले निर्वाचन आयोगले ‘स्वतन्त्र उम्मेदवारको नाम कायम रहने वा नरहने जे निर्णय गर्छ त्यस अनुसार कार्यक्रम अगाडि बढ्छ’ मुख्य निर्वाचन अधिकृत लामिछानेको भनाई छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज विहीवार विहान १० बजेदेखि दिउँसो १ बजेभित्र मतदान गराउने कार्यक्रम तय गरेको छ । यसबारे छलफल गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयले अहिले साढे ७ बजे सर्वदलीय बैठक बोलाएको छ ।

जिल्ला समन्वय समितिको निर्वाचन सञ्चालन निर्देशिका २०७४ को दफा १८ मा कुनै एक दलबाट निर्वाचित व्यक्ति अर्को दलबाट जिसस प्रमुख, उपप्रमुख वा सदस्य कुनै पदमा उम्मेदवार हुन नपाउने कानूनी व्यवस्थालाई उजुरीकर्ताले आधार बनाउनुभएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयको कार्यसूची अनुसार जेठ २३ गते सोमवार जिल्ला समन्वय समिति दैलेखको निर्वाचन निम्ति उम्मेदवारी परेको थियो ।

जस अनुसार समन्वय प्रमुख पदका लागि सत्ता गठबन्धनका तर्फबाट दुर्गाकुमारी श्रेष्ठ र एमालेको समर्थनमा बागी उम्मेदवार नमराज शाहीको उम्मेदवारी दर्ता भएको थियो ।

एक जना जिसस प्रमुख, एक जना उपप्रमुख, ती महिला र एक दलित समेत ७ जना सदस्य पदका लागि गठबन्धन समूहका ९ जना र प्रमुख पदमा बागीलाई समर्थन गर्दै बाँकी एक उपप्रमुख र ८ सदस्य पदका लागि एमालेले उम्मेदवारी दिएको छ । जम्मा ९ पदका लागि १९ जनाको उम्मेदवारी परेको छ ।

कर्णाली प्रदेशमा सबै भन्दा धेरै ११ वटा पालिकाका २२ जना प्रमुख तथा उपप्रमुख मतदाता रहेको जिल्ला समन्वय समिति निर्वाचनका लागि एमालेका १०, नेपाली काँग्रेसका नौ, माओवादी केन्द्रका दुई र समाजवादीका एक जना मतदाता छन् ।

पहिले माओवादीलाई हातमा लिएर जिसस बनाउन खोजेको एमालेले काँग्रेसका दुई जनालाई फ्लोर क्रस गर्न सके आफूले प्रमुख जिताइदिने भन्दै काँग्रेसका असन्तुष्ट पक्षलाई जिसस प्रमुख पदमा उम्मेदवारी दर्ता गराउन प्रोत्साहित गरेको हो ।

जिसस निर्वाचनमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका मेयर र उपमेयर मतदाता हुने पाउने र जिसस प्रमुख, उपप्रमुख वा सदस्यको प्रस्तावक तथा समर्थक बस्न पाउने भन्ने कानूनी व्यवस्था अनुसार काँग्रेसका बागी उम्मेदवार शाहीको प्रस्तावकमा डुंगेश्वर गाउँपालिकाका अध्यक्ष सुन्दर केसी र समर्थकमा दुल्लू नगरपालिकाका उपमेयर बिना कार्की बस्नुभएको थियो ।

जिसस दैलेखको प्रमुख पदमा बागी उम्मेदवारी दर्ता गर्ने नेपाली काँग्रेसका जिल्ला उपसभापति नमराज शाही आठबीस नगरपालिका वडा नंं. ७ बाट नेपाली काँगे्रस पार्टीको तर्फबाट वडासदस्य निर्वाचित हुनुभएको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिसस प्रमुख पदका लागि गठबन्धन समूहको समर्थन पाउनुभएकी नेपाली काँग्रेसको आधिकारिक उम्मेदवार दुर्गाकुमारी श्रेष्ठ र बागी उम्मेदवार नमराज शाहीलाई खरायो चिन्ह दिएको छ । उपप्रमुख र सदस्यहरुमा दलीय पहिचान अनुसारकै चुनाव चिन्ह दिइएको छ ।

आधिकारिक उम्मेदवार दुर्गाकुमारी श्रेष्ठ पालिका निर्वाचन २०७९ मा नारायण नगरपालिका–१ बाट नेपाली काँग्रेसबाट वडा सदस्य पदमा निर्वाचित हुनुभएको हो । उहाँलाई सत्ता गठवन्धन काँग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको समर्थन छ । गठबन्धनमा १२ र एमालेका १० मतदाता छन् ।

बागी उम्मेदवार विरुद्ध उजुरी परेको आयोगको निर्णय पर्खिएको तर मतदान कार्य तालिका अनुसार आज विहीवार विहान १० बजेदेखि दिउँसो १ बजेसम्म मतदान गर्र्ने मुख्य निर्वाचन अधिकृतको कार्ययोजना छ । बागी उम्मेदवारको विषयमा छुट्टै उजुरीमा आयोगको निर्णय नआए निर्धारित समयमा मतदान हुने मुख्य निर्वाचन अधिकृत लामिछानेले बताउनुभयो ।

तपाईको प्रतिक्रिया