आत्मरक्षा विषयक तीन दिने प्रशिक्षक प्रशिक्षण तालिम सुरु

सुर्खेत । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतको आयोजनामा आत्मरक्षा विषयक तीन दिने प्रशिक्षक प्रशिक्षण तालिम जेठ १३ गते वीरेन्द्रनगरमा सुरु भएको छ ।
तालिम उदघाटन सत्रमा कर्णाली प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख हिराबहादुर पाण्डेले यस अभियानलाई गाउँ गाउँमा पु¥याउन नेपाल प्रहरीका विभिन्न यूनिटले सहयोग गर्ने प्रतिवद्धता जनाए ।

सबै व्यक्ति यस विषयमा सचेत भई सरोकारवाला निकायलाई झकझकाउनु पर्ने निमित्त प्रमुख पाण्डेले सुझाव दिए । कार्यक्रममा कर्णाली प्रदेश सरकारको मानव अधिकार समिति सदस्य तथा मानव अधिकार समूहका अध्यक्ष लक्ष्मी शर्माले समाजमा किशोरी तथा छोरीहरु असुरक्षित बन्दै गएको अवस्थामा सबैले आत्मबल दरो बनाई हिंसा बाहिर ल्याउनु पर्नेमा जोड दिए ।
कार्यक्रममा मानव अधिकार रक्षक सञ्जाल कर्णाली प्रदेशका सह–संयोजक मधुरानी ढकालले हातमा अधिकार भएकाहरू नै बलात्कार घटनामा संलग्नलाई बचाउन लाग्ने गरेको बताइन् ।

सबै जना आफ्नो ठाउँबाट जिम्मेवार हुन नसक्दा समाजमा बालिका तथा किशोरी असुरक्षित भएको बताउँदै सबैले प्रहरी प्रशासनलाई निष्पक्ष रुपमा अनुसन्धान गरेर न्याय दिलाउन सहयोग गर्नुपर्छ,’उनले भनिन।
तालिमले सहभागिलाई उचित सीप सिकाई यस्ता घटना न्यूनीकरण गर्न सहयोग पुग्ने उनले विश्वास व्यक्त गरिन् ।

कार्यक्रमको उदघाटन सत्रमा इन्सेकका कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले किशोरी, बालिका र महिला घरपरिवार, विद्यालय र कार्यक्षेत्रमा असुरक्षित भएको बताउँदै सुरक्षित बनाउनका लागि आत्मरक्षा विषयक तालिम संचालन गरेको बताए ।

यस विषयमा स्थानीय तह, प्रहरी र प्रशासनसँग समन्वय गरी अभियानका रुपमा आत्मरक्षाका विषयमा गाउँगाउँमा कार्यक्रम लगिने उनको भनाई छ ।

दैलेख र सुर्खेतका तीन पालिकाबाट २७ जना दलित तथा महिला र किशोरी सहभागि भएको तालिममा हिंसाका प्रकार, आत्मरक्षाको महत्व, आत्म जागरण र हिंसा न्यूनीकरण गर्न कानुनी प्रावधान लगायतका विषयमा रचना सुनार, सजना सुनार र हिक्मत बहादुर नेपालीले सहजीकरण गर्ने परियोजना संयोजक किरण पौडेलले बताए ।

 

तपाईको प्रतिक्रिया