कर्णालीको राजधानीमा विमानस्थल : विस्तार गर्दा ९.४१ अर्व, नयाँ बनाउँदा १० अर्ब खर्च

सुर्खेत, ११ जेष्ठ ।
सुर्खेतमा ठुला जहाज अवतरण उद्देश्यका साथ विमानस्थल निर्माणको बिषय नौलो होइन । वि.सं. २०७५ सालदेखि नै सुर्खेतमा अन्तर्राष्ट्रिय स्तरको विमानस्थल निर्माणका लागि बहस तथा प्रक्रिया चल्दै आएको हो । यसविचमा संघ, प्रदेश तथा स्थानीय सरकारले आ–आफ्नै तवरले विभिन्न कालखण्डमा प्रक्रिया समेत अघि बढाएका थिए ।

शुक्रबार बसेको संघीय सरकारको मन्त्रीपरिषद् बैठकले जिल्लाको भेरीगंगामा विमानस्थल निर्माणका लागि सैद्वान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । योसँगै भेरीगंगा नगरपालिकामा विमानस्थल निर्माणका लागि प्रक्रिया अघि बढ्ने भएको हो । विमानस्थल निर्माण तथा विस्तारका विषयलाई राजनैतिक रुपमा समेत बहस गर्न थालिँदै आएको छ ।

यसअघि कर्णाली प्रदेशका तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारले विमानस्थल विस्तारका लागि संघीय सरकारसँग द्धिपक्षीय सम्झौता गरेको थियो । २०७७ असोज १५ गते भएको उक्त सम्झौता अनुसार सुर्खेतमा रहेको हालको विमानस्थल उत्तरतर्फ पाँच सय १० मिटर, दक्षिणतर्फ ६० मिटर र पश्चिमतर्फ ६६ मिटर विस्तार गर्ने उल्लेख थियो ।

उता वीरेन्द्रनगर नगरपालिकाले पनि २०७७ माघ ३ गतेको कार्यपालिका बैठकबाट सुर्खेत विमानस्थल विस्तार गर्नु भन्दापनि नयाँ विमानस्थल निर्माणको बिकल्प खोज्न प्रदेश र संघीय सरकारलाई अनुरोध गरेको थियो ।

केहि बर्ष पहिले संघीय सरकारले अन्तर्राष्ट्रिय स्तरको बिमानस्थल निर्माणका लागि सुर्खेतको भेरीगंगास्थित रामघाट र छिन्चुको बीचमा रहेको मदानेचौरमा अध्ययन सुरु गरेको थियो ।

संघीय सरकारका तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीसहितको प्राविधिक टोलीले अन्तर्राष्ट्रि«य विमानस्थलको सम्भाव्यता अध्ययन गरेको थियो ।

भौगोलिक अवस्थाका कारण वीरेन्द्रनगरमा हाल सञ्चालनमा रहेको विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरका रुपमा विकास गर्दा ठुला विमान अवतरण गराउन नसकिने अध्ययन टोलीले बताएको थियो । जसको विकल्पका रुपमा छिन्चुको मदानेचौरमा सम्भावता अध्ययन गरिएको थियो ।

सम्भाव्यता अध्ययन टोलीले मदानेचौर अन्तर्राष्ट्रिय विमानस्थलका लागि उत्तम रहेको निष्कर्ष निकालेको थियो । अन्तर्राष्ट्रिय विमानस्थलका लागि २२ सय मिटरको धावनमार्ग अनिवार्य रहेकोमा मदानेचौरमा धावनमार्गको लम्बाई २६ सय मिटरसम्म हुने अध्ययनले देखाएको थियो । यद्यपि डाँडालाई काट्नुपर्ने भएकाले लागत भने महँगो पर्ने नागरिक उड्डयायन प्राधिकरणले बताएको थियो ।

प्राधिकरणका अनुसार मदानेचौरमा विमानस्थल बनाउँदा १० अर्ब बजेट लाग्ने अनुमान गरिएको थियो । जसको चौडाई ३० मिटर र निर्माण कार्य सम्पन्न गर्न ६ देखि ८ वर्षसम्म लाग्ने अनुमान प्राविधिक टोलीले गरेको थियो ।

सुर्खेत विमानस्थलको हालको रनवे एक हजार दुई सय ५५ मिटर र चौडाई ३० मिटर रहेको छ । सुर्खेत विमानस्थलमा अहिले ७२ सिटे ‘एटीआर ७२’ जहान अवतरण हुने गरेको छ । हालको धावनमार्गलाई उत्तरतर्फ विस्तार गरेर एक हजार पाँच सय ५५ मिटर पु¥याउँदा ७० देखि ८० सिटे ‘एटीआर ७२’ जहाज अवतरण गराउन मिल्छ ।

नागरिक उड्डयायन प्राधिकरणले प्रदेश सरकारलाई बुझाएको विमानस्थल विस्तारको प्रारम्भिक सर्भेमा जमिन अधिग्रहण गर्दा करिव दुई सय घरधुरी प्रभावित हुने उल्लेख छ ।

एक विद्यालय, स्वास्थ्य चौकी र केही सामुदायिक भवनसहित नागरिकका करिव दुई सय घरधुरी अधिग्रहण गर्नुपर्ने नागरिक उड्डयायन प्राधिकरणको भनाई छ । तीन सय मिटर रनवे विस्तारमा ९.४१ अर्ब रुपैयाँ खर्च हुनुका साथै विस्तारमा आठ बर्ष समय लाग्ने प्राधिकरण प्रमुख प्रदिप अधिकारीको भनाई छ ।

हालको विमानस्थल विस्तारका लागि प्रदेश र संघीय सरकारबीच भएको सम्झौतामा ९.४१ अर्ब मध्ये संघीय सरकारको ५० प्रतिशत र प्रदेश र स्थानीय पालिकाले २५–२५ प्रतिशत खर्च व्यहोर्ने उल्लेख गरिएको थियो । आर्थिक र प्राविधिक रुपले विमानस्थल विस्तार उपर्युक्त देखिँदैन ।

९.४१ अर्ब रुपैयाँ खर्च गरेर विमानस्थल विस्तार गर्दा पनि ठुला जहाज आउँदैनन् । रनवे पनि एकतर्फि मात्रै हुन्छ । तीन सय ५० मिटर रनवे विस्तारमा अर्बौ खर्च लाग्ने र त्यसले पनि सहज रुपमा ठुला जहाज आउन नसक्ने देखिएपछि विकल्पका रुपमा रामघाट विमानस्थल नै उपयुक्त छ । सम्भाव्यता अध्ययन टोलीले पनि रामघाटको मदानेचौर अन्तर्राष्ट्रिय विमान स्थलका लागि उत्तम रहेको निष्कर्ष निकालेको थियो ।

अन्तर्राष्ट्रिय विमानस्थलका लागि २२ सय मिटरको धावनमार्ग अनिवार्य रहेकोमा मदानेचौरमा धावनमार्गको लम्बाई २६ सय मिटरसम्म हुने अध्ययनले देखाएको थियो । यद्यपि डाँडालाई काट्नुपर्ने भएकाले लागत भने महँगो पर्ने नागरिक उड्डयायन प्राधिकरणले बताएको थियो ।

प्राधिकरणका अनुसार मदानेचौरमा विमानस्थल बनाउँदा १० अर्ब बजेट लाग्ने अनुमान गरिएको थियो । जसको चौडाई ३० मिटर र निर्माण कार्य सम्पन्न गर्न ६ देखि ८ बर्षसम्म लाग्ने अनुमान प्राविधिक टोलीले गरेको थियो ।

‘रन–वे विस्तारले मात्रै सम्भव छैन’
कर्णालीमा उडान क्षेत्र विस्तारका लागि सुर्खेत स्थित हालको विमानस्थल विस्तारले मात्र हवाई सेवा प्रभावकारी नहुने नागरिक उड्डयायन कार्यालय, सुर्खेतका प्रमुख देवेन्द्र पाण्डेको धारणा छ । कर्णाली प्रदेशमा हवाई सेवा विस्तारका लागि ‘फुल फेज’को विमानस्थल आवश्यक पर्ने उनी बताउँछन् ।

हालको विमानस्थललाई विस्तार गर्दापनि रात्रिकालिन उडान भर्न सक्ने क्षमता राख्दैन । त्यसको मुख्य कारण नै यहाँको भौगोलिक वातावरण नै हो ।

कम कुहिरो भएको अवस्थामा पनि उडान रोक्नुपर्ने समस्या रहेको पाण्डेले बताए । कर्णालीमा उडान सेवा विकासका लागि रामघाट क्षेत्रमा विमानस्थलको निर्माण गरिनु उत्तम विकल्प रहेको उनी बताउँछन् ।

‘स्टेन्थ’ कम भएपछि श्री एयरलाइन्सपछि हट्यो
०७७ माघमा आफ्नो ८० सिटे जहाज ‘क्युआर–८००’ का साथमा सुर्खेत विमानस्थलमा निजी वायु सेवा कम्पनी श्री एयरलाइन्सले काठमाडौं–सुर्खेत परीक्षण उडान भरेको थियो । भारवहन क्षमता परिक्षणका लागि उडान भरेको श्री एयरलाइन्सले हाल आफ्नो उडान नियमित गरेको भने छैन ।

सो समयमा श्री एयरलाइन्सका चालकले २० देखि २२ डिग्री सेल्सियस तापक्रमसम्म क्षमताअनुसारको लोड ल्याउन सकिने जानकारी गराएका थिए ।

हालको विमानस्थल रन–वेमा ‘स्ट्रेन्थ’ भारवहन क्षमता कम भएको र व्यापारिक रुपमा लागत धेरै लाग्ने भएपछि श्री एयरलाइन्सले नियमित उडान नगरेको नागरिक उड्डयायन कार्यालय, सुर्खेतका प्रमुख देवेन्द्र पाण्डेको धारणा छ । उनले भने, ‘रन–वेको स्ट्रेन्थ कम भएपछि श्रीले उडानलाई नियमित गरेको छैन जस्तो लाग्छ ।’

तपाईको प्रतिक्रिया