सम्पादकीय : दल र नेतालाई मतदाताको सन्देश

स्थानीय तहको निर्वाचनमा कर्णालीका मुख्यमन्त्रीका छोरादेखि पूर्व मन्त्रीका श्रीमानसमेत उम्मेदवार बनेका थिए । तीमध्ये केही विजयी भएका छन् भने केही पराजित भए । कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीका छोरा वडाअध्यक्षमा विजयी भएका छन् भने कर्णालीका आन्तरिक मामिला तथा कानुन मन्त्री हिमबहादुर शाहीका छोरा पालिकाको मेयरमा निर्वाचित भएका छन् । यद्यपि कर्णालीका दुई पूर्वमन्त्रीका श्रीमानहरु भने मेयरका पराजित भएका छन् । कर्णालीका भूमि, व्यवस्था, कृषि तथा सहकारी पूर्व मन्त्री विमला केसीका श्रीमान् बसन्त शर्मा मुसिकोट नगरपालिका (रुकुम पश्चिम) को मेयर पदमा पराजित भए ।

सुर्खेतको लेकबेशी नगरपालिकामा कर्णालीका पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री सीता कुमारी नेपालीका श्रीमान् रामबहादुर चपाई पनि मेयरमा पराजित भएका छन् । नेकपा एमाले प्रदेश कमिटीका अध्यक्ष बिनोद कुमार शाहले ठाँटीकाँध गाउँपालिकामा धर्मपत्नि लक्ष्मीदेवि शाहलाई कार्यकर्ताको भावना विपरित अध्यक्षको टिकट दिलाए । पहुँच, सत्ता, शक्तिको दुरुपयोग गर्दै नाता, सम्बन्ध, दवाव, प्रभावमा यसरी बनाइएका उम्मेदवारहरु आम मतदाताबाट अलोकप्रिय हुँदै पराजित भएका छन् ।

अन्तिम मत परिणामसहित स्थानीय तह निर्वाचन–२०७९ सम्पन्न भएको छ । उल्लासका साथ सम्पन्न निर्वाचनले राजनीतिक दल र दलका नेताहरुलाई गतिलो सन्देश दिएको छ । काठमाडौं महानगरपालिकाको अन्तिम मतपरिणाम आउन बाँकी छ तर मेयर पदका उम्मेदवार ३२ बर्षिय युवा बालेन्द्र शाहले लोकप्रिय मतसहित अग्रता कायम गरिरहेका छन् । काठमाडौं उपत्यकामा आफ्नो गढ् ठान्ने नेकपा एमाले र त्यसका उम्मेदवार केशव स्थापित, सत्ता गठबन्धनका साझेदार दलको तर्फबाट साझा उम्मेदवार सृजना सिंहले पाएको मत र एक स्वतन्त्र उम्मेदवारले पाएको मतको विभिन्न कोणबाट चर्चा, परिचर्चा, विश्लेषण हुने गरेको छ । लोकतान्त्रिक गणतन्त्र व्यवस्थाप्रतिनै प्रश्न चिन्ह खडा भएको विश्लेषण गर्न थालिएको छ । मतदाता कुनै पनि राजनीतिक दलका निजि पकेटका हुँदैनन । मतदाता आफैमा सार्वभौम, स्वतन्त्र र निस्पक्ष हुन्छन भन्ने गतिलो सन्देश दिएको छ ।

पूर्वि धरानको धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका हर्क साम्पाङ, सुदुरपश्चिमको प्रमुख व्यापारिक केन्द्र धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमाल, कालीकोट खाँडाचक्र नगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार कमल बहादुर शाही, जुम्ला चन्दननाथ नगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार राजुसिंह कठायत विजयी भएका छन् । पालिका र वडा तहमा समेत धेरै स्वतन्त्र उम्मेदवारहरु विजयी भएर आएका छन् । यसले राजनीतिक दल र दलका नेताहरुलाई गतिलो झापड हानेको छ ।

कि नेताहरु सुध्रिनु प¥यो अन्यथा आम जनताले अब पार्टी, सिद्धान्त, विचार, नेताहरुका भाषणबाट प्रभावित भएर होइन आफ्नो गाउँ, नगर, टोल समूदायप्रति वफादार, जवाफदेही सही व्यक्तिको पहिचान गरेर मतदान गर्ने परिपार्टीको सुरुवात भएको छ । राजनीतिक दल र त्यसको नेतृत्व गर्ने नेताहरु सच्चिनु जरुरी छ । संधै एकै व्यक्ति पटक पटक उठ्ने एउटा परिवार बाजेदेखि नातीसम्म एकै पार्टी, एकै व्यक्तिलाई नियमित मतदान गरिरहनुपर्ने तर त्यसको उपलब्धी र परिवर्तन शुन्यजस्तै निरास बनाउने भएकै कारण स्वतन्त्र उम्मेदवार विकल्पको रुपमा उपयोग गरिएको छ ।

तपाईको प्रतिक्रिया