सोल्टिनासँग जब माया बस्यो, अनि बिवाह भयो

जब प्रेममा मानिस डुब्छ । त्यसपछि कुनै पनि कुरा असम्भव लाग्दैन । पहिलो चोटी भेट हुँदा मन परेको व्यक्तिसँग फेरी पनि भेट गरौँ । मायाका कुरा गरौँ भन्ने लाग्नु नै प्रेम हो । कसैको प्रेम साथीको सम्बन्धबाट हुन्छ भने कसैको आफन्तको बाट हुने गर्दछ ।

यस्तै भयो सुर्खेतको भेरीगंगा नगरपालिकाका हरिलाल बाह्रघरे र रुपा बाह्रघरेको जीवनमा पनि । पहिलो भेटमा नै एकअर्काप्रति आकर्षित भए । कुरा हुँदै जाँदा प्रेमी, प्रेमीका भए । अनि बिवाह भयो । प्रस्तुत छ, यो जोडीसँग गरिएको कुराकानीको साराशं :

 

दिदी मार्फत चिनजान
हरिलालको दिदीको बिवाह रुपाको दाईसँग बिवाह भएको थियो । सानैदेखिको नाता सम्बन्ध भएका उनीहरु सोल्टी, सोल्टीना पर्थे । एकदिन आफ्नो भाउजुसँग हरिलालको घरमा आइन । अनि हरिलाल र रुपाको बोलाचाली त्यही दिन भएको थियो ।

दिदीको बिवाह भएदेखिनै चिनजान भएपनि कुराकानी भने हुन सकेको थिएन । शुरुमा हरिलालले नै बोलाएका थिए । उनी रुपाप्रति देखेकै दिनदेखि नै आकर्षित थिए । पहिलो दिनको कुराकानीमा धेरै कुरा हुन नपाएपनि अविस्मरणिय भएको थियो उनीहरुको त्यो भेट ।

सम्झनाले सताएपछि
उनीहरु आफैमा सोल्टी, सोल्टीना थिए । बोल्न र भेट गर्नलाई पनि सजिलो थियो । दिदीको घरमा जाँदा होस् या रुपा भाउजुको माइत आउँदा भेट भइरहन्थ्यो । उमेर बढ्दै गयो । उनीहरु एकअर्कामा आकर्षित हुँदै गएका थिए ।

हरिलाललाई रुपाको जतिबेला पनि सम्झना आउँथ्यो । उता रुपाले पनि हरिलाललाई सम्झिरहने गर्थिन । भित्रभित्रै उनलाई हरिलाल मन परेको थियो । धेरै याद आउन थालेपछि एकदिन हरिलालले रुपालाई आफुले मन पराएको भन्दै प्रेम प्रस्ताव राखे ।

रुपाको भित्रि मनले स्वीकार गरेपनि उनले तत्काल रेस्पोन्स दिइनन् । तर उनले आफ्नै मनको कुरा भनेको जस्तो अनुभुती गरेकी थिइन । कुराकानी हुँदै गयो, अनि रुपाले पनि हरिलालको प्रेम प्रस्तावलाई स्वीकार गरिन । अनि उनीहरुले गहिरो प्रेम गरे । किशोरा अवस्थादेखि उनीहरुको माया बस्यो ।

प्रेम अनुभव
सानैदेखि बसेको माया बिर्सन नसकिने हुदो रहेछ उनिहरु भन्छन । एकअर्कालाई माया गरेका उनीहरुले सँगै घुम्न जाने, केही काम गर्दा पनि सँगै सल्लाहमा गर्थे । बिवाह नगर्दै पनि उनीहरु बिचमा हरेक कुरामा सल्लाह हुन्थ्यो ।

उनीहरुको प्रेमको बारेमा दुबै परिवारमा सामान्य जानकारी थियो । घरपरिवारले पनि उनीहरुको प्रेममा सपोर्ट गरेका थिए । कहिले काँही भेट भएन भने धेरै नरामाइलो लाग्थ्यो, उनीहरुलाई । त्यति बेलाको त्यो समय अविस्मरणिय भएको उनीहरु बताउँछन ।

भागी बिवाह
त्यसपछि गहिरो प्रेममा परेका उनीहरुसँगै बस्ने निर्णयमा पुगे । करिब दुई बर्षसम्म उनीहरुले प्रेम गरे । हरेक कुरामा सहयोग गर्ने गरेका दुबैजना अब बिवाह गरेर बस्ने निर्णयमा पुगे ।

घरपरिवारमा उनीहरुको विषयमा जानकारी भएपनि भित्रि रुपमा सहयोग थियो उनीहरुलाई । अनि २०६५ सालमा उनीहरुले विवाह गरे । बिवाह गरेर घरमा पराई घरमा जाँदा रुपालाई केही नरमाइलो फिल भइरहेको थियो ।

छोरीबाट बुहारी भएर गएको सबै कुरा नयाँ थियो । तर हरिलाल र उनको परिवारको साथका कारण उनि विस्तारै घुलमिल हुँदै गइन । अनि उनीहरुको बैबाहिक जीवनपछिको यात्रा शुरु भयो । उतिबेला हनिमुन मनाउने भन्ने चलन थिएन । त्यही भएर हनिमुन मनाउन गएनन ।

जीवनमा संघर्ष
बिवाहपछि उनीहरुले जीवनलाई सहज बनाउन धेरै संघर्षहरु गर्नुपर्यो । एकातिर घरपरिवारको जिम्मेवारी सम्हाल्नुपर्ने थियो भने अर्कोतर्फ आफ्नो पढाई पुरा गर्नुपर्ने थियो । छोराछोरी जन्मिए उनीहरुको लालनपालन गर्नुपर्ने धेरै संघर्ष जीवनमा गरे ।

संघर्ष गर्दै जाँदा हरिलालले आफ्नो पढाई पनि पुरा गर्दै गए । उनले शिक्षकको जागिरी पाए । उता रुपाले पनि एसएलसी पास गरिन । घर व्यवहार राम्रोसँग सम्हालिन ।

लामो संघर्षबाट हरिलाल अहिले भेरीगंगा–९ मा रहेको सुर्खेत लिटिल फ्लावरको सहायक प्रधानाध्यापक छन् भने रुपाले आफ्नो व्यवसाय सञ्चालन गरिरहेकी छिन । उनीहरु भन्छन, विश्वास र मायासँगै जीवनलाई संघर्षमय बनाउन सके सफलता अवश्य प्राप्त हुन्छ ।

बाल्यकाल
बुवा धन बहादुर बाह्रघरे र आमा राती बाह्रघरेको कोखबाट विस २०४५ साल असोज ६ गते सुर्खेतको भेरीगंगा नगरपालिका वडा नम्बर ७ मा हरिलाल बाह्रघरेको जन्म भएको हो । उनका चार भाई सात दिदीबहिनी रहेका छन् ।

सानैदेखि मेहेनती स्वभावका उनको परिवार मध्यम वर्गिय थियो । सानोमा त्यती अभाव झेल्नु नपरेपनि संघर्ष भने उनले धेरै गर्थे । सानो कक्षा गाउँमै पढेका हरिलालले गाउँकै माविबाट एसएलसी पास गरे । अनि उच्च शिक्षा भने उनले शिक्षा क्याम्पस सुर्खेतबाट गरेका हुन । उनले २०७४ सालमा एमएड गरेका हुन ।

त्यस्तै बुवा प्रबिर धौलाकोटी र आमा मोतिसरा धौलाकोटीको कोखबाट विस २०४५ कात्तिक १७ गते सुर्खेतको भेरीगंगा नगरपालिका वडा नम्बर १० मा रुपा बाह्रघरेको जन्म भएको हो । उनको बाल्यकाल पनि सामान्य नै बित्यो ।

उनको परिवारको आर्थिक अवस्था पनि मध्यम खालकै थियो । रुपाका तिन भाई दुइ बहिनी दिदी रहेका छन् । गम्भिर स्वभावकी रुपाले सानो कक्षा गाउँमै पढिन । गाउँकै माविबाट एसएलसीसम्म पढेकी उनले बिवाहपछि भने पढ्न पाइनन । तर सामाजिक काममा समेत सक्रिय हुने उनले हरेक कुरामा चासो राख्ने गर्छिन ।

सल्लाह र सहकार्य
यो जोडीले जुनसुकै काम गर्दा पनि सल्लाह र समझ्दारीमा गर्छन् । काम गर्नुभन्दा पहिले उनीहरुको बिचमा छलफल हुन्छ । सानो कुरामा पनि सल्लाह गरेर काम गर्छन् । प्राय दुबैजना आफ्नो काममा व्यस्त हुने भएकाले कहिलेकाँही फुर्सद मिलाएर रमाइला ठाउँहरुमा घुम्न पनि जान्छन । उनीहरु भन्छन विश्वास र मायाले नै जीवनलाई सफल बनाउँछ ।

तपाईको प्रतिक्रिया