स्थानीय निर्वाचन–२०७९ : कर्णालीमा ठुला पार्टीलाई स्वतन्त्र उम्मेदवारको चुनौति

सुर्खेत, ८ जेष्ठ ।
दलहरुले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका कर्णालीका डोल्पा, कालीकोट, जुम्ला, मुगुका मतदाताहरुले नगर र गाउँपालिकाको नेतृत्वसमेत हात पारेका छन् ।

कर्णालीमा प्रदेश राजधानी वीरेन्द्रनगरपछि जुम्लाको चन्दननाथ नगरपालिकालाई दलहरुले प्रतिष्ठाको रुपमा लिन्छन् । तर, त्यही चन्दननाथ नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारले बाजी मारेका छन् । अर्थात् प्रमुख दल कांग्रेस, एमाले र माओवादीका उम्मेदवारलाई हराउँदै स्वतन्त्र उम्मेदवार राजुसिंह कठायत विजयी भएका छन् ।

उनले दुई हजार चारसय तीन मत ल्याएर विजयी भएका हुन् । नेपाली कांग्रेसले टिकट नदिएपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए । टिकटका लागि कांग्रेसले नपत्याए पनि उनलाई मतदाताले पत्याउँदै पाँच वर्षका लागि नगरको नेतृत्व सुम्मेका हुन् । त्यस्तै, कालिकोटको खाँडाचक्र नगरपालिकाको मेयरमा पनि स्वतन्त्र उम्मेदवारी दिएका कमलबहादुर शाही विजयी भएका छन् ।

नेकपा एकीकृत समाजवादीका नेता उनी सुरुदेखि नै मेयरको उम्मेदवार बन्ने तयारीमा थिए । तर, उम्मेदवारका लागि उनले टिकट पाएनन् । आधिकारिक रुपमा टिकट नपाएपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

उनलाई मतदाताले विश्वास गरेर मेयरमा जिताएका छन् । उनले दुई हजार नौ सय १९ मत ल्याउँदै मुख्य दलका उम्मेदवारलाई नै हराएका छन् । कालिकोटकै सान्नीत्रिवेणी गाउँपालिकाकाको अध्यक्षमा पनि स्वतन्त्र उम्मेदवार मोहनबहादुर केसी एकहजार आठसय २२ मत ल्याएर विजयी भएका छन् । उनी पनि आफ्नै पार्टी माओवादीले नपत्याएपछि स्वतन्त्र उम्मेदवार बनेका थिए ।

त्यस्तै, प्रदेशका विभिन्न जिल्लाका वडामा पनि स्वतन्त्र र बागी उम्मेदवारहरु विजयी भएका छन् । दलीय घेराबन्दी र दबदबा भएपनि यसपाली मतदाताले काम गर्न सक्ने र समुदायमा घुलमिल भएका स्वतन्त्र उम्मेदवारलाई नै मत दिएका छन् । कतिपय स्थानीय तहमा नेताका नजिकका व्यक्तिलाई टिकट दिइएका कारण असन्तुष्टहरुले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

उनीहरुलाई विजयी गराएर मतदाताले दलका उम्मेदवार भन्दा पनि आफूहरुसँग घुलमिल भएको उम्मेदवारलाई अनुमोदन गरिदिएका छन् । जुम्लाको कनकासुन्दरी गाउँपालिका वडा नम्बर ८ मा स्वतन्त्र उम्मेदवारी दिएको दलित समुदायको प्यानल नै विजयी भएको छ ।

दलहरुले सधैं आफूहरुलाई आश्वासन मात्र दिएको र भोटबैंकको रुपमा प्रयोग गरेको भन्दै स्थानीय दलित समुदायले यसपटक प्यानल नै बनाएर वडामा स्वतन्त्र उम्मेदवारी दिएका थिए । त्यहाँ दुईसय ८८ मत ल्याएर धनबहादुर कामी वडा अध्यक्षमा निर्वाचित भएका छन् । जहाँ दलहरुका उम्मेदवार पराजित हुन पुगे ।

यस्तै डोल्पाको शेफोक्सुण्डो गाउँपालिकाको उपाध्यक्षमा स्वतन्त्र उम्मेदवार पेमावाङछेन गुरुङ विजयी भएका छन् । उनले मुख्य दलका उम्मेदवारलाई पराजित गर्दै एक हजार एकसय १० मत ल्याएका हुन् । हुम्लामा पनि स्वतन्त्र उम्मेदवार वडाध्यक्षमा निर्वाचित भएका छन् । जिल्लाको चंखेली गाउँपालिका वडा नं ४ मा पदम शाही, ५ मा हर्कधन तामाङ र ६ मा जयबहादुर सिरा वडाध्यक्षमा विजयी भएका छन् ।

हुम्लाकै नाम्खा गाउँपालिकाको वडा नं २ मा सुनामक्याप लामा, वडा नं ३ मा ग्याम्जो लामा र वडा नं ६ मा पालजोर तामाङ विजयी भएका छन् । उनीहरु सबै स्वतन्त्र रुपमा चुनावी मैदानमा होमिएका थिए । दैलेखको भैरवी गाउँपालिका वडा नं ४ मा चक्रप्रसाद शर्मा वडाध्यक्षमा विजयी भएका छन् । उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए । रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका वडा नं १ मा पनि स्वतन्त्र उम्मेदवार सुन्दर ओली वडाध्यक्षमा विजयी भएका छन् ।

यस्तै जाजरकोटकाको कुशे गाउँपालिकाको वडा नं २ मा मानबहादुर सिंह, नलगाड नगरपालिकाको वडा नं ११ मा लालबहादुर बानियाँ र बारेकोट गाउँपालिकाको वडा नं ७ मा विशालकिरण बस्नेत दलीय उम्मेदवारहरुलाई हराउँदै वडाध्यक्षमा विजयी भएका छन् । जुम्लाको कनकासुन्दरी गाउँपालिका वडा नं ८ मा विजयी भएको स्वतन्त्र उम्मेदवारहरुको टोली ।

काँग्रेसलाई मुनाफा, माओवादीलाई घाटा, एमालेलाई क्षति
स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत कर्णाली प्रदेशका सबै पालिकाको नतिजा सार्वजनिक भएको छ । अन्तिम परिणाम अनुसार यो पटक सबैभन्दा धेरै मुनाफा नेपाली काँग्रेस पार्टीलाई भएको छ ।

काँग्रेसले २५ वटा पालिकाबाट बढाएर ३२ वटा पालिकामा जित निकाल्न सफल भएको छ भने सत्ता गठबन्धनकै अर्को प्रमुख साझेदार माओवादी केन्द्र २५ वटा पालिकाबाट घटेर २३ वटा पालिकामा झरेको छ ।

कर्णालीमा सबैभन्दा ठुलो घाटा नेकपा एमालेले बेहोरेको छ । २०७४ को निर्वाचनबाट कर्णालीका २७ वटा पालिकामा नेतृत्व लिएर पहिलो दल बनेको एमाले अहिले १५ पालिकामा खुम्चिएर तेस्रो बनेको छ । २०७४ मा तेस्रो बनेको नेपाली कांग्रेस भने पहिलो बनेको छ । नेपाली कांग्रेसले अघिल्लो निर्वाचनमा २५ पालिका जितेको थियो । अहिले ७९ मध्ये ३२ पालिकामा नेतृत्व पाएको छ ।


अघिल्लो निर्वाचनमा दोस्रो बनेको माओवादी अहिले पनि दोस्रोमै सीमित छ । तर गएको निर्वाचनभन्दा अहिले माओवादीले कम पालिका जितेको छ । पहिले २५ पालिका जितेको थियो भने अहिले २३ वटा पालिकामात्र जितेको छ । माओवादीले अहिले कांग्रेससँग गठबन्धन गरे पनि कर्णालीमा पहिलेको जति पालिकामा जित्न सकेन ।

माओवादीको बलियो पकड मानिने रूकुम पश्चिमको मुसिकोट नगरपालिकाको नेतृत्व कांग्रेसले माओवादीबाट खोसेको छ । यस्तै अरू पालिका पनि कांग्रेसले माओवादीबाट खोसेको छ । माओवादीले यसपटकको निर्वाचनबाट पहिले एउटा पालिका पनि नजितेका जिल्लाहरू दैलेखमा दुइटा र सुर्खेतमा एउटा पालिकामा प्रमुख जितेको छ ।

नेकपा एमालेले अहिलेको निर्वाचनबाट कर्णालीका पाँच वटा जिल्लाका कुनै पनि पालिकाको नेतृत्व लिन सकेन । रूकुम पश्चिम, हुम्ला, कालीकोट, जुम्ला र मुगुका पालिकाहरूमा एमालेले नेतृत्व लिन सकेन । २०७४ मा एमालेले हुम्लामा १, मुगुमा १, जुम्लामा १, कालीकोटमा ३ पालिका जितेको थियो ।

अहिलेको निर्वाचनबाट एमालेले सुर्खेतका ४, दैलेखका ४, जाजरकोटका ३, डोल्पाका ३ र सल्यानका २ पालिकासहित १५ पालिकामा नेतृत्व पाएको छ । माओवादी केन्द्रले रूकुम पश्चिमका ४, सुर्खेतको १, दैलेखका २, जाजरेकोटको १, हुम्लाका ३, कालीकोटका ५, जुम्लाका २, मुगुको १, डोल्पाका २ र सल्यानका २ पालिकासहित २३ पालिकाको नेतृत्व पाएको छ ।

नेपाली कांग्रेसले रूकुम पश्चिममा २, सुर्खेतका ४, जाजरकोटका ३, हुम्लाका ३, कालीकोटका २, जुम्लाका ५, मुगुका २, डोल्पाको १, सल्यानका ५ र दैलेखका पालिकासहित ३२ पालिकामा नेतृत्व पाएको छ । त्यस्तै, माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले डोल्पाका २, मुगु र सल्यानका १÷१ पालिकासहित ४ पालिकाको नेतृत्व लिएको छ । अहिलेको स्थानीय तह निर्वाचनबाट ५ जना स्वतन्त्र उम्मेदवारले पालिकाको प्रमुख÷अध्यक्ष जितेका छन् ।

हुम्लाको चंखेली गाउँपालिका, कालीकोटको खाँडाचक्र नगरपालिका, सन्नीत्रिवेणी गाउँपालिका, जुम्लाको चन्दननाथ नगरपालिका र डोल्पाको डोल्पोबुद्ध गाउँपालिकामा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । २०७४ मा ४ जना स्वतन्त्र उम्मेदवार प्रमुख/अध्यक्षमा निर्वाचित भएका थिए । सल्यानमा १ र डोल्पाका ३ पालिकामा स्वतन्त्र उम्मेदवार पालिकाको प्रमुखमा निर्वाचित भएका थिए ।

पहुँचको टिकट मतदाताले पत्याएनन्
स्थानीय तहको निर्वाचनमा कर्णालीका मुख्यमन्त्रीका छोरादेखि पूर्व मन्त्रीका श्रीमानसमेत उम्मेदवार बनेका थिए । तीमध्ये केही विजयी भएका छन् भने केही पराजित भए । कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीका छोरा वडाअध्यक्षमा विजयी भएका छन् भने कर्णालीका आन्तरिक मामिला तथा कानुन मन्त्री हिमबहादुर शाहीका छोरा पालिकाको मेयरमा निर्वाचित भएका छन् ।

यद्यपि कर्णालीका दुई पूर्वमन्त्रीका श्रीमानहरु भने मेयरका पराजित भएका छन् । कर्णालीका पूर्व भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीका श्रीमान् बसन्त शर्मा मुसिकोट नगरपालिका (रुकुम पश्चिम)को मेयर पदका उम्मेदवार थिए । माओवादीको आधार इलाका मानिने मुसिकोटमा काँग्रेस विजयी भएको छ ।

नेकपा माओवादी केन्द्रकी कर्णाली प्रदेश अध्यक्षसमेत रहेकी केसीका श्रीमान् शर्मालाई काँग्रेसका महेन्द्र केसीले जम्मा १३ मतान्तरले पराजित गरेका हुन् । केसी ६ हजार ९१४ मतसहित विजयी हुँदा शर्माले ६ हजार ९०१ मत पाए । माओवादीको वर्चश्व रहेको मुसिकोटमा काँग्रेस–एमालेको गठबन्धन थियो भने एकीकृत समाजवादी र माओवादी केन्द्रले तालमेल गरेका थिए ।

यता, सुर्खेतको लेकबेशी नगरपालिकामा कर्णालीका पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री सीता कुमारी नेपालीका श्रीमान् रामबहादुर चपाई पनि मेयरमा पराजित भएका छन् । लेकबेशीमा नेपाली काँग्रेसका उमेश कुमार पौडेल ६ हजार ६३९ मतसहित विजयी भएका छन् भने दोस्रोमा एमालेका देव बहादुर रानाले ६ हजार ३७४ मत प्राप्त गरे । तेस्रोमा माओवादीका रामबहादुर चपाइँले ८०४ मतमात्र प्राप्त गरे ।

हिमाली जिल्ला हुम्लाको खार्पुनाथ गाउँपालिका–५ मा कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीका छोराले वडाअध्यक्षमा विजयी प्राप्त गरेका छन् । मुख्यमन्त्री शाहीका छोरा भरतजङ्ग शाही काँग्रेसबाट वडाअध्यक्ष पदमा उम्मेदवार थिए । शाहीले नेकपा एमालेका केन्द्रराज शाहीलाई १९० मतान्तरले पराजित गरेका हुन् । काँग्रेसका शाहीले ४९२ मत प्राप्त गरे भने पराजित शाहीले ३०१ मत प्राप्त गरे ।

त्यस्तै वर्तमान आन्तरिक मामिला तथा कानुन मन्त्री हिमबहादुर शाहीका छोराले पनि मेयरमा जितेका छन् । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका काँग्रेस नेता शाहीका छोरा गणेशकुमार शाहीले एमालेका सुर्यबहादुर शाहीलाई ७८ मतान्तरले पराजित गरे ।

काँग्रेसका शाहीले ४ हजार ७० मत ल्याउँदा पराजित भएका शाहीले तीन हजार ९९२ मत पाए । ०७४ मा एमालेको वर्चश्व रहेको यो पालिकामा यो पटक काँग्रेसले सत्ता हातमा लिएको हो ।


Leave a Reply

Your email address will not be published.


ताजा समाचार