माओवादी केन्द्रले कर्णालीका पालिकामा खाता खोल्यो

जाजरकोट, ३१ बैशाख ।
कर्णाली प्रदेशमा माओवादी केन्द्रले एक पालिका जितेर खाता खोलेको छ । यस अघि नेकपा एमालेले एक गाउँपालिका र नेकपा एकीकृत समाजवादीले दुई वटा पालिकामा निर्विरोध निर्वाचित भएका थिए ।

कर्णालीमा रहेका प्रमुख तीन पार्टी नेकपा एमाले, नेकपा (एकीकृत समाजवादी) र माओवादी केन्द्रले पालिकामा विजयीको सुरुवात गरेका छन् ।

डोल्पाको जगदुल्ला गाउँपालिकामा माओवादी केन्द्रले जितेको छ । एमाले, कांग्रेस र समाजवादीको गठबन्धनलाई पराजित गर्दै माओवादीका नारासिं रोकाय विजय बने । उपाध्यक्षमा पनि माओवादीकै अमृता बोहरा निर्वाचित भइन् ।

रोकायले ७ सय ७० मत ल्याएका छन् भने गठबन्धन तर्फका एमालेका उम्मेदवार हेमबहादुर महताराले ७ सय ४६ मत ल्याए । उपाध्यक्षमा निर्वाचित बोहराले ७ सय ५९ मत ल्याउँदा एमालेकी चन्द्रावती थापाले ७ सय ४९ मत ल्याइन् ।

६ वडा रहेको यस गाउँपालिकाका २ वडा माओवादी केन्द्रले जितेको छ भने ४ वडा गठबन्धनले जितेको छ । एमालेले १, ३ र ६ नम्बर वडा जितेको छ भने माओवादी केन्द्रले ४ र ५ नम्बर वडा जितेको छ ।

२ नम्बर वडा कांग्रेसले जितेको छ । १ हजार ६ सय ९६ मतदाता रहेको जगदुल्लामा १ हजार ५ सय ३६ मत खसेको थियो । रोकाय २०७४ सालमा पनि अध्यक्षमा निर्वाचित भएका थिए ।

तपाईको प्रतिक्रिया