देउतीबज्यै जाने पक्की पुल जोखिममा

सुर्खेत, २७ बैशाख ।
देउती बज्यै मन्दिर जाने मन्दिरसंग जोडिएको नेवारे खोलामा पर्ने पक्की पुल थप धरापमा परेको छ । जिल्ला विकास समितिबाट करिव ७ बर्ष अगाडी निर्माण भएको उक्त पक्की पुल मर्मत सम्भारको अभावमा थप जोखिपूर्ण भएको छ ।

वीरेन्द्रनगर नगरपालिका वडा नं. १० र ११ मा पर्ने उक्त पक्की पुलमा केही महिना अगाडी सामान्य खाल्टो परेको थियो । उक्त खाडल बढ्दै गएपछि पुलको विचभागमा ठुलै भ्वाङ परेको छ । सरियाहरु निस्किएर थप जोखिमपूर्ण बनेको हो ।

पुल मर्मत, सम्भारका लागि वीरेन्द्रनगर नगरपालिकालाई पटक पटक ध्यानाकर्षण गराउँदा समेत कुनै सुनवाई नभएको मन्दिरका पुजारी जनक राजीले बताए ।

केही दिन अगाडी सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष सहित पदाधिकारी देउती बज्यै मन्दिर जाँदा जोखिमपूर्ण देखेपछि कर्णाली प्रदेश सभा सदस्य पद्मा खड्का र वीरेन्द्रनगर नगरपालिकाको नेतृत्वलाई ध्यानाकर्षण गराएका थिए ।

नगरपालिकाले तत्काल ३ लाख बजेट छुट्टाएर एक निर्माण व्यवसायीलाई मर्मतका लागि जिम्मेवारी दिइएको थियो । नगरपालिकाको प्राविधिक टोलीले स्थलगत अवलोकन गरी नयाँ ढाँचाबाट निर्माण तथा मर्मत गर्न ठेकेदारलाई सुझाव दिएपछि बजेट कम हुने भन्दै ठेकेदारले मर्मत कार्य रोेकेका छन् ।

तपाईको प्रतिक्रिया