संघर्षबाटै उदाएका अशोक

अशोक चौधरी
प्रवन्धक/बौद्ध ग्रामीण बहुउद्देश्यीय सहकारी संस्था, वीरेन्द्रनगर, सुर्खेत ।

मानिसको सोच र व्यवहार परिवर्तनशिल हुन्छ । यही परिवर्तनको चाहनाले गर्दा नै समाज पनि बदलिन्छ । त्यसको लागि इच्छाशक्ति पनि आवश्यक छ ।

त्यस्तै मध्येका एक हुन् सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९ लाटीकोइलीमा रहेको बौद्ध ग्रामीण बहुउद्देश्यीय सहकारी संस्थाका प्रवन्धक अशोक चौधरी । उनले सानैदेखि संघर्ष गर्दै गए ।

आफ्नो पढाई पुरा गर्नेदेखि घरको जिम्मेवारी निभाउनुपर्ने उनको काँधमा थियो । अनि सहकारीको बाटो उनले समाए । मेहेनत र संघर्षका कारण उनि अहिले करिब ३ सय कर्मचारीको नेतृत्व गर्न सक्ने भए ।

आजको जम्काभेटमा हाम्रा सहकर्मी टेकराज केसीले उनै चौधरीसँग कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :

सामान्य बाल्यकाल
बुवा शेर बहादुर थारु र आमा बाधी थारुको कोखबाट २०३४ साल साउन ५ गते सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ९ लाटीकोईली तिलपुरमा अशोक चौधरीको जन्म भयो । उनी घरको जेठो छोरा हुन ।

उनका २ भाई तीन दिदीबहिनी छन् । परिवार कृषि कर्ममा निर्भर थियो । सामान्य आर्थिक अवस्था परिवारको थियो । उनको बाल्यकाल केही समय काठमाडौंमा कित्यो ।

४ कक्षासम्म काठमाडौंको रत्न राज्यलक्ष्मी माबिमा उनले पढे । उनको घरमा काठमाडौंका एकजना इन्जिनियर सुर्खेत आएका थिए । दुई बर्ष उनकै घरमा बसेको हुँदा उनलाई काठमाडौं जानेबेला उतै पढाउने भनेर लिएर गएका थिए ।

त्यही भएर उनी केही समय काठमाडौंमा बसेका थिए । अनि अशोक सुर्खेत फर्किए पाँच कक्षादेखि शिव माबि लाटीकोइलीमा पढ्न थाले । त्यही माबिबाट उनले २०५६ सालमा एसएलसी पास गरे ।

उनको चौधरी समुदायमा सानैमा बिवाह गर्ने चलन थियो । उनको बुवाआमाले सानैमा बिवाह गरिदिएपछि उनको जिम्मेवारी भने धेरै थियो । घरको जेठो छोरा भएको हुँदा जिम्मेवारी धेरै थियो । घरको सबै काम गरेर उनले पढ्थे ।

शिक्षक बन्ने लक्ष्य
उतिबेला पढेका मानिसहरुले शिक्षकको जागिरी खानुपर्छ भन्ने मान्यता राखिन्थ्यो । अशोकको घरमा बुवा आमाले पनि पढेर शिक्षक बनाउने भनेर उनलाई पढाएका थिए । उनले पनि शिक्षक जागिरी नै गर्ने लक्ष्य राखे ।

त्यहीअनुसार उनले आफ्नो पढाईमा धेरै मेहेनत गर्थे । तर उनको शिक्षक बन्ने लक्ष्य पुरा भएन । उनको लक्ष्यको बाटो मोडियो । उनले अब शिक्षक बन्ने भन्दा पनि आयआर्जनका सामाजिक काममा लाग्नेगरी योजना बनाए । त्यहीअनुसार आफ्नो यात्रा तय गरे ।

काम गर्दै पढ्दै
एसएलसी पास हुने बित्तिकै गाउँमा बौद्ध ग्रामीण बचत तथा ऋण सहकारीमा उनी सहलेखापालको रुपमा काम गर्ने अवसर पाए ।


घरको आर्थिक जिम्मेवारी पनि उनकै काँधमा भएको हुँदा उनले आफ्नो पढाई पनि पुरा गर्नु थियो । र घर परिवार पनि चलाउनु थियो । सहकारीमा दिउँसो काम गर्ने बिहान क्याम्पस जान्थे ।

उनले आफ्नो खर्च आफै कमाएर पढ्थे । उनले पढाईप्रति धेरै चासो राख्थे । पढाई पनि राम्रै थियो । उनले शिक्षा क्याम्पस सुर्खेतबाट आइएड गरे । इमान्दार र गम्भिर स्वभावका अशोकले सबैलाई सहयोग गर्थे । गाउँमा पनि उनलाई सबैले राम्रो मान्थे । सहकारीमा अशोकले इमान्दारिता र मेहेनत लगाएर काम गर्थे ।

अनि पद बढुवा हुँदै गयो
उनी बौद्ध ग्रामीण सहकारीमा सहलेखापालको काम गर्दै गर्दा उनले आर्थिक कारोबारलाई व्यवस्थित बनाउँदै लिएका थिए । अनि उनको काम देखेर सहकारी सञ्चालकहरु पनि सन्तुष्ट थिए ।

अनि सहकारीले लघुवित्त कार्यक्रम चलाउन शुरु ग¥यो । त्यो कार्यक्रममा उनलाई नै जिम्मा दिइयो । लघुवित्त कार्यक्रमलाई पनि उनले उत्कृष्ट बनाए । उनी लघुवित्त कार्यक्रमको वरिष्ठ सहायक भएर काम गरेका थिए ।

लघुवित्त कार्यक्रम सफल हुँदै गएपछि विभिन्न शाखा र उपशाखाहरु पनि खोलियो । ती सबै शाखा, उपशाखाहरु हेर्ने जिम्मेवारी उनलाई दिइएको थियो ।

उनी सहकारीले संचालन गरेको लघुवित्त कार्यक्रमको उपशाखा प्रवन्धक, शाखा प्रवन्धक हुँदै अहिले केन्द्रीय कार्यालयमा मुख्य प्रबन्धको रुपमा काम गरिरहेका छन् । उनको मातहतमा करिब तीन सय कर्मचारीले काम गर्छन । धेरै संघर्षका बाबजुत उनी यो स्थानमा आइपुगेका हुन ।

सहकारी अनुभव
१९ बर्ष सहकारी क्षेत्रमा काम गरेका अशोकलाई सहकारी क्षेत्रको अनुभव धेरै छ । उनले शुरुमा त सहकारीको भित्रि पाटो बुझेका थिएनन ।

जब काम गर्दै गए अनि सहकारीका सिद्धान्तहरुको बारेमा जानकारी लिएपछि सहकारीबाटै नै समाज रुपान्तरण गर्न सकिन्छ भन्ने उनलाई लाग्छ । सानो बचतबाट ठुला ठुला काम गर्न सकिने र गरिबी कम गर्न सकिने भएकाले सहकारीमा सबै व्यक्ति आवद्ध हुनुपर्ने उनको अनुभवले भन्छ ।

जीवनमा संघर्ष
सामान्य परिवारमा जन्मिएका उनले धेरै संघर्ष गर्नुपरयो । घरको जेठो छोरा भएकाले बुवापछिको आर्थिक जिम्मेवारी उनकै काँधमा थियो । एकातिर आफ्नो पढाई पुरा गर्नुपर्ने थियो भने अर्कोतर्फ घरपरिवार चलाउनुपर्ने भाईबहिनी पढाउनुपर्ने थियो ।

सानैमा उनको बिवाह भइसकेकाले जिम्मेवारी अझै धेरै उनको काँधमा थियो । यी सबै कुरालाई व्यवस्थापन गर्न उनले दिनरात संघर्ष गरे । एकातिर आफ्नो पढाई पनि पुरा गरे ।

सहकारीको बाटो समाए अनि संघर्ष गर्दै जाँदा उनी सफलतामा पुगे । अहिले उनी करिब तीन सय कर्मचारीहरुको नेतृत्व गरेर काम गरिरहेका छन् । उनी भन्छन, मानिस सफलतामा पुग्न संघर्ष गर्नुपर्ने रहेछ ।

संघर्षले नै मानिसलाई सफल बनाउछ । करिब २० बर्ष सहकारी क्षेत्रमा काम गरेका उनले सामाजिक क्षेत्रको सुधारको काम गरेको बताउँछन । अब भने उनले समाज सेवा गर्ने योजना बनाएका छन् ।


Leave a Reply

Your email address will not be published.


ताजा समाचार