समूहकै आडमा सहकारी जन्मियो

पम्फा थापा मगर/अध्यक्ष
उत्तरगंगा सामाजिक उद्यमी महिला सहकारी संस्था, वीरेन्द्रनगर, सुर्खेत

जसले समाजको र पछाडी पारिएका व्यक्तिहरुको परिवर्तन चाहन्छ, उसले आफ्नो व्यक्तिगत आकांक्षाभन्दा समाजलाई धेरै महत्व दिन्छन । उसले समाज बदल्न सक्छ । समाज बदलियो भने व्यक्तिगत समृद्धि आफै हाँसिल हुन्छ ।

यस्तै मध्यका एक हुन सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नं. २ का पम्फा थापा मगर उनले आफ्नो संघर्षलाई निरन्तरता दिइन । अनि सहकारीको बाटो समाईन त्यसपछि चुलो चौकोमा मात्र सिमित महिलाहरुलाई गोलबन्द गरेर उद्यमशिलताको बाटोमा लगाइन ।

उनी उत्तरगंगा सामाजिक उद्यमी महिला सहकारी संस्थाको अध्यक्ष भएर काम गरिरहेकी छन् । आजको जम्काभेटमा उनै थापा मगरसँग हाम्रा सहकर्मी टेकराज केसीले कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :

मध्यम बाल्यकाल
बुवा भविलाल तारामी मगर र आमा पञ्चमा तारामी मगरको कोखबाट वि.स. २०२९ साल असार महिनाको १६ गते दैलेखको नौमुले गाउँपालिका जैसीडाँडामा पम्फा थापा मगरको जन्म भयो । उनी घरको कान्छो छोरी हुन ।

उनका ३ दाजुभाई र ४ दिदीबहिनी थिए । मध्यम परिवारमा जन्मिएकी उनको बुवा भारतिय सेनामा कार्यरत थिए । बुवा भारतिय सेनामा कार्यरत भएकै कारण घरमा त्यस्तो अभाव केही झेल्नु परेको थिएन । उनको बाल्यकाल गाउँमै बित्यो ।

सानो कक्षा गाउँकै जैसीडाँडामा उनले पढिन । त्यसपसछि निमावि तहसम्मको पढाई नौमुले बजारमा गरेकी उनको स्वभाव सबैसँग मिलनसार थियो । सानैदेखि मेहनत गर्न जानेकी उनले जुनसुकै काम पनि समयमै सक्नुपर्छ भन्ने सोच्थिन ।

पढाई रोकियो
छोरीहरुलाई पढाउनुहुन्न भन्ने सोच गाउँका मानिसहरुमा थियो । उनका गाउँका कुनै पनि छोरी मान्छेहरु पढ्न जाने गर्थेनन । उनी मात्र एक्ली छोरी थिइन की उनको बुवाले पढाउनुपर्छ भनेर विद्यालय भर्ना गरिदिएका थिए ।

तर गाउँमा मानिसहरुलाई छोरीलाई पढाएको भनेर भन्ने गर्थे । अनि उनलाई विद्यालय जानबाट बञ्चित गरियो । उनले आफ्नो पढाई बिचमै रोक्नुपर्यो । उनी अन्य महिलाहरुभन्दा समाजको लागि केही गर्नुपर्छ भन्ने सोच्थिन । पढ्नुपर्छ भन्ने सोच भएपनि उनी घरको घाँस, दाउरा काट्ने काममा सिमित हुन पुगिन ।

विवाह भयो, घरको जिम्मेवारी थपियो
उनी हुर्कदै गइन । उनको बिवाहको चर्चा समेत चलाउन थालियो । उनको सोच भनेको समाजको लागि केही गर्नुपर्छ भन्ने थियो । तर उनको बिवाह भयो । बिवाहपछि थापा मगरको जिम्मेवारी झनै थपियो ।

घरपरिवार सम्हाल्नुपर्ने, उनको काँधमा थियो । तथापी कुनै सामाजिक काम भएको खण्डमा भने उनी अगाडी बढ्ने गर्थिन । बिवाहपछि पनि पढ्ने उनको सोच थियो । त्यो सोच पनि पुरा हुन सकेन । छोरीलाई त पढाउनुहुन्न भन्ने त्यतिबेलाको समाज बुहारीलाई झनै कसरी पढाउथे होला र ? उनी भन्छिन ।

सामाजिक काममा सक्रिय
सानैदेखि उनको लक्ष्य भनेको सामाजिक काम गर्ने थियो । विशेष गरी महिलाहरुमाथी हुने विभेद र महिलाहरुको आर्थिक अवस्था सुधार हुनुपर्छ भन्ने सोच्ने थापाले १५ दिने सुडेनी तालिम लिने अवसर पाइन ।

तालिम पश्चात उनले गाउँका गर्भवती महिलाहरुको रेखदेख गर्नेदेखि उनीहरुमा आउन सक्ने समस्या समाधानमा भूमिका निर्वाह गर्न थालिन । थापाले त्यति बेलादेखि नै समाजको अवस्था कस्तो रहेछ भन्ने चित्र अझै राम्रोसँग बुझ्न पाइन ।


उनले धेरै महिलाहरुलाई सहयोग गर्न थालिन । महिलाहरुले पनि केही समस्या हुँदा उनलाई नै सम्झन थाले । त्यसले थापालाई अझै काम गर्ने उर्जा थपिन्थ्यो ।

अनि सहकारीमा लागिन
थापाको परिवार २०५९ सालमा नौमुलेबाट वीरेन्द्रनगर झर्यो । वीरेन्द्रनगरमा आइसकेपछि महिलाहरुलाई अगाडी ल्याउने विभिन्न अभियानहरुले त्यतिबेला चलेका थिए ।

एउटा संस्थाले गाउँमा महिला समूह गठन गरेर आत्मनिर्भर बनाउने योजना ल्याएको थियो । अनि त्यहाँ प्रगतीशिल महिला समूह गठन गरियो र त्यसको अध्यक्ष हुने उनले अवसर पाईन । जब महिलाहरु चुलो चौकोबाट बाहिर निस्कन थाले उनीहरुका समस्या हजारौ रहेछन भन्ने थाहा भयो ।

अनि समूहबाट विभिन्न आयआर्जनका कामहरु हुन थाले । महिलाहरुलाई तालिमहरु दिन थालियो । केही सुधार हुँदै गयो । महिला हिंसा र अन्य विभेदको प्रमुख कारण भनेको आत्मनिर्भर हुन नसक्नु रहेछ भनेर उनले बुझिन ।

२५ सदस्यीय रहेको उक्त समूहमा ६५ जना महिलाहरु आवद्ध भए । अनि त्यही समूहलाई सहकारीमा रुपान्तरण गर्नेगरी अभियान शुरु भयो । त्यो अभियानको नेतृत्व गर्ने मध्य थापा पनि एउटा थिइन ।

अनि २०६८ सालमा उक्त समूहलाई उत्तरगंगा सामाजिक उद्यमी महिला सहकारी संस्थाको रुपमा रुपान्तरण गरियो । सहकारीको संस्थापक उपाध्यक्ष भएर काम गरेकी उनलाई सहकारीको अध्यक्ष बनाइयो । ६ बर्षदेखि उनी सहकारीको अध्यक्ष भएर काम गरिरहेकी छन् ।

६५ जनाबाट सेयर सदस्यबाट शुरु गरिएको सहकारीमा साढे सात सय सेयर सदस्य छन् । महिलाहरुलाई आत्मनिर्भरतामा लगाएको छ । भने उत्पादित वस्तुहरुको बजारिकरण पनि सहकारीबाट नै गर्ने गरिएको छ ।

आफ्नै दुध संकलन केन्द्र राखिएको छ । अहिले दुई सय जति महिलाहरु उद्यमी बनेका छन् । महिलाहरुको अवस्था सुधार हुँदै गएको छ । उनी भन्छिन, विगतको भन्दा त अहिले महिलाहरुको आर्थिक, सामाजिक अवस्था धेरै सुधार भएको छ । अहिले सहकारीमा २ करोड भन्दा धेरैको कारोबार हुने गरेको छ ।

जीवनमा संघर्ष
थापाले जिवनमा धेरै संघर्षहरु गरेकी छन् । सानो हुँदा पनि पहाडमा रहेको घरको काममा संघर्ष गरेकी उनले विवाह गरिन । बिवाहपछि घरको जिम्मेवारी सम्हाल्नेदेखि छोरा छोरी हुर्काउनुपर्ने थियो ।

घरको आर्थिक अवस्था पनि कमजोर भएका कारण आर्थिक भार पनि उत्तिकै थियो । सामाजिक काममा पनि लागेकाले महिलाहरुलाई त्यतिबेला समाजको काम गरेको त्यति राम्रो मानिन्थेन । सबै जिम्मेवारीका बावजुत उनले सामाजिक काममा पनि सक्रिय भईन ।

सहकारीको बाटोमा लागिन । सहकारीको बाटोमा लागेकी उनले आफ्नो मात्र होइन समाजका अन्य महिलाहरुको पनि आर्थिक अवस्था सुधार गरिन । अहिले उनी आफ्नो काममा सन्तुष्ट छन् । उनी भन्छिन, संघर्षबाट नै सफलतातिर पुग्न सकिँदो रहेछ ।

सहकारीमार्फत पछाडी पारिएका महिलाहरुलाई अगाडी ल्याउन सकेकी उनले आगामी दिनमा पनि सामाजिक कामबाट नै पछाडी पारिएको वर्ग समुदायलाई अगाडी ल्याउनेगरी काम गर्ने योजना बनाएकी छन् ।


Leave a Reply

Your email address will not be published.


ताजा समाचार