कुपोषणको चपेटामा बालबालिका : कर्णालीका ४८ प्रतिशत पुड्के र ३७ प्रतिशतमा कम तौल

सुर्खेत, ७ बैशाख ।
सन् २०२५ सम्म मा कुपोषणको दर शून्यमा झार्ने सरकारको लक्ष्य छ । सोही लक्ष्य अनुसार सरकारी तथा गैर सरकारी निकायले पोषणमा बर्षेनि करोडौं लगानी गर्दै आएका छन् । तर कर्णाली प्रदेशमा भने कुपोषणको अवस्था अहिले पनि भयाभय रहेको पाइएको छ ।

राष्ट्रिय जनसंख्याङ्की स्वास्थ्य सर्वेक्षणका अनुसार कर्णाली प्रदेशमा अहिले पनि ४८ प्रतिशत बालबालिका पुड्के छन् । जवकी नेपालभर ३२ प्रतिशत मात्रै बालबालिकाहरु पुड्के छन् ।

खाद्यान्न अभाव, गरीबी, स्वास्थ्यको शून्य पहुँच, हेरचाहको अभावलगायतका कारणले बालबालिकाहरु कुपोषित हुने गरेका छन् । सन् २०१९ मा गरिएको सर्वेक्षण अनुसार ३७ प्रतिशत बालबालिकाहरु कम तौलका छन् ।

बालबालिका मध्ये केही जन्मजात र उमेर अनुसार तौल बढेको छैन । सर्वेक्षणका अनुसार १८ प्रतिशत बालबालिकामा ख्याउटेपना छ । देशभर २५ प्रतिशत बालबालिका कम तौल र १२ प्रतिशत बालबालिका ख्याउटे छन् ।

यद्यपी पछिल्लो ६ बर्षमा कुपोषणको अवस्था सुधार उन्मूख देखिन्छ । सन् २०१६ को तुलनामा २०१९ मा सुधार आएको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ ।

२०१६ मा कर्णाली प्रदेशभर ५५ प्रतिशत बालबालिका पुड्के, ३६ प्रतिशत बालबालिका कम तौल भएका र नौ प्रतिशत बालबालिका ख्याउटे रहेको निर्देशनालयका सूचना अधिकारी पदम केसीले जानकारी दिए ।

सन् २०१६ मा देशभर ३६ प्रतिशत पुड्के, १० प्रतिशत ख्याउटे र २७ प्रतिशत बालबालिका कम तौल भएका थिए । संघीयतापछि पोषणका क्षेत्रमा स्थानीय तहले करोडौं लगानी गर्दै आएका छन् ।

स्थानीय तहले बालबालिकाको स्वास्थ्य अवस्थामा सुधार ल्याउन कतै सुत्केरी पोषण त कतै उपाध्यक्ष कोशेली कार्यक्रम सञ्चालन गर्दै आएका छन् । जाजरकोटको जुनिचाँदे गाउँपालिकामा उपाध्यक्ष कोशेली कार्यक्रम, कालीकोटको खाँडाचक्र नगरपालिकामा ‘सुनौला हजार दिन’ कार्यक्रम सञ्चालन गरेको छ ।

आमा र बालबालिकामा हुने कुपोषण हटाउन गैरसरकारी संघ संस्थाले पनि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका छन् । तर संघीयतापछि भने राष्ट्रिय स्वास्थ्य सर्वेक्षण हुन सकेको छैन् ।

हुम्ला, मुगु र कालीकोटका अधिकांश बालबालिका ‘पुड्का’
कर्णाली प्रदेशका अधिकांश बालबालिका पुड्कोपना देखिएको छ । कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्याङ्क अनुसार कर्णालीका जुम्ला, हुम्ला, मुगु र कालिकोटका बालबालिकामा पुड्कोपनाको समस्या बढी देखिएको हो ।

तथ्याङ्क अनुसार मुगुमा १३ प्रतिशत, कालिकोटमा नौ प्रतिशत, जुम्लामा पाँच प्रतिशत र हुम्लामा तीन प्रतिशत बालबालिका पुड्का छन् । आर्थिक वर्ष २०७४/०७५ मा हुम्लामा पुड् का बालबालिकाको दर झण्डै १५ प्रतिशत थियो । २०७५/०७६ मा यो दर घटेर १३ प्रतिशतमा झरेको थियो ।

२०७६/०७७ मा हुम्लामा पुड्का बालबालिकाको दर ह्वात्तै घटेर झण्डै चार प्रतिशतमा झरेको हो । तर मुगुमा भने पुड्का बालबालिकाको दर घट्नुको सट्टा बढ्दो क्रममा छ । तथ्याङ्क अनुसार ०७४/०७५ मा १३ प्रतिशतबाट घटेर २०७५/०७६ मा १२ प्रतिशत पुगेको थियो । कालिकोटमा भने पुड्का बालबालिकाको दर घट्दो क्रममा छ ।

०७४/०७५ मा त्यहाँ १३ प्रतिशत पुड्का बालबालिका थिए । २०७५/०७६ मा १२ र २०७६/०७७ मा कुपोषणको दर नौ प्रतिशतमा झरेको छ । त्यस्तै जुम्लामा पनि पुड्का बालबालिकाको दर घट्दो क्रममा देखिएको छ ।

आर्थिक वर्ष २०७४/०७५ मा १२ प्रतिशत पुड्का बालबालिका रहेकोमा ०७५/०७६ मा साढे आठ प्रतिशत र ०७६/०७७ मा ६ प्रतिशतमा झरेको छ । दैलेखमा पनि पुड्का बालबालिकाको दर बढ्दो छ । जाजरकोट, रुकुमपश्चिम, सल्यान र सुर्खेतमा भने पुड्का बालबालिकाको दर घट्दो क्रममा छ ।

गर्भदेखि नै पोषणको कमी
कर्णालीका अधिकाँश बालबालिकाहरु गर्भदेखि नै कुपोषण हुने गरेको छन् । आमाले गर्भावस्थामै पौष्टिक खाना नपाउँदा बालबालिकाहरु कुपोषित हुने गरेको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका सूचना अधिकारी पदम केसीले बताए ।

‘कुपोषणको मुख्य कारण पौष्टिक आहार नपाउनु हो’ उनले भने, ‘गर्भास्थामा समेत अधिकांश आमाहरुले पौष्टिक खाना पाउँदैनन, जसले गर्दा गर्भदेखि नै बच्चामा कुपोषणले सिकार बन्छ ।’

घरायसी काममा व्यस्त हुने ग्रामीण क्षेत्रका अधिकाँश आमाहरुले गर्भावस्था र सुत्केरी हुँदा समेत पौष्टिक आहारा नपाउन उनले बताए । आमा र बच्चाले पर्याप्त र पोषिलो खाना खान नपाएकै कारण कुपोषणको हुने गरेको छन् ।

तथ्याङ्क अनुसार कर्णालीका एकचौथाइ नागरिकले मात्र पूर्ण रूपमा खानाको विविधता उपभोग गर्न पाउने गरेका छन् । धेरै नागरिकले एक छाकमै दिन घटाउने गरेका छन् ।

कालीकोट र मुगुमै कुपोषणको अवस्था भयाभह
सन् २०१६ मा गरिएको स्वास्थ्य सर्वेक्षणले कर्णालीका कालीकोट र मुगुमा कुपोषणको अवस्था भयाभह देखाएको छ । कालीकोटमा पाँच हजार चारसय ४५ जना ४५ बालबालिकामा पोषण परीक्षण गर्दा तीन हजार २६ जना कुपोषण देखिएको थियो ।

सर्वेक्षणमा सहभागी बालबालिकामध्ये एक हजार नौसय २२ बालबालिकामा गम्भीर प्रकारको (रातो) कुपोषण र एक हजार एकसय चार जनामा मध्यमा (पहेंलो) खालको कुपोषणबाट ग्रस्त थिए।

जिल्लाका ५४.५७ प्रतिशत बालबालिका कुपोषित भएका सर्भेहरूले देखाएका थियो । त्यस्तै मुगुमा दुई हजार ६ सय ९ जना बालबालिकामा पोषणको अवस्था सर्वेक्षण गर्दा एक हजार १५ बालबालिकामा कुपोषण देखिएको थियो । तीमध्ये दुई सय ९९ जनामा गम्भीर (रातो) र सातसय १६ जनालाई (पहेंलो) प्रकारको कुपोषण देखिएको थियो ।

कर्णालीका गाउँहरूमा कुपोषित बालबालिका नभएको घर भेट्टाउन मुश्किल छ । हुम्ला, मुगु, डोल्पा, कालीकोट र जुम्ला जनस्वास्थ्य कार्यालयको तथ्यांक र अन्य सर्वेक्षणहरूले पनि अधिकांश बालबालिका कुपोषणको शिकार भएको पुष्टि गरेका छन् ।

हुम्लामा पनि कुपोषणको दर निकै डरलाग्दो छ । २०१६ मा हुम्लामा उमेर अनुसारको उचाइ नभएका बालबालिका ६४ प्रतिशत छन् भने ७० प्रतिशतभन्दा बढी ख्याउटेपनबाट ग्रसित छन् ।

तपाईको प्रतिक्रिया