सम्पादकीय : वन जोगाऔं

यतिबेला खडेरीको मौसम सुरु भएको छ । सुख्खा मौसमका कारण आगलागीको जोखिम पनि बढ्दो छ । हरेक वर्ष यही मौसममा आगलागीका घटनाहरु बढी हुने गर्दछन् । डढेलोका कारण लाखौं हेक्टर वन सखाप हुने गरेको छ । तर बर्सेनि हुने यो समस्या समाधानको दिर्घकालीन समाधान भने हुन सकेको छैन । आगलागी र डढेलो नियन्त्रणका लागि सरकारी पक्षबाट जनचेतनाका कार्यक्रमबाहेक अरु योजना र उपायहरु छैनन् ।

जसले गर्दा पनि आगलागीको समस्या बढ्दो छ । अर्कोतर्फ चोरी शिकारी र फडानीका कारण पनि वन विनास हुने गरेको छ । तर वन संरक्षणका लागि सरकारी र गैरसरकारी प्रयासहरु कमजोर बनेका छन् । अझ भनौं यसका लागि उपयुक्त योजना भने बनेको छैन । सरकारले नेपालको वन संरक्षणका लागि विभिन्न नीति नबनाएको होइन । तर त्यसलाई कार्यान्वयन गर्न सकेको छैन ।

जसले गर्दा वन संरक्षणमा चुनौती थपिएको छ । तापक्रम वृद्धि अहिले विश्वको सबैभन्दा ठूलो संकट हुन पुगेको छ । यसका कारक अहिले विकसित भनिएका मुलुकहरू हुन् । विडम्बना, त्यसको मार भने विकासमा पछि परेका मुलुकका सामान्य जनताले भोग्नु परेको छ । तापक्रम वृद्धिको मूल कारण मानिने हरितगृह ग्यास उत्सर्जन गर्ने केही राष्ट्रहरू विशेषगरी युरोपेली मुलुकहरू जलवायु समस्याप्रति गम्भीर देखिए पनि अहिलेको सबैभन्दा ठूलो प्रदूषक चीनलगायतका मुलुकहरू तापक्रम घटाउने प्रतिबद्धताबाट पन्छन खोजेको देखिएको छ ।

विश्वस्तरकै प्रतिबद्धता र प्रयत्नविना तापक्रम वृद्धि नियन्त्रण सम्भव हुँदैन । अहिलेकै अवस्थामा हरितगृह ग्यासको उत्सर्जन नियन्त्रण गर्ने ढाँचा र अवधिमा ठूला प्रदूषकहरूबीच सहमति जुट्ने सम्भावना देखिँदैन । यसैले नेपाललगायतका मुलुकहरूले तापक्रम वृद्धिको दुष्प्रभाव कसरी थेग्ने भन्ने विषयमा बढी ध्यान दिनु उचित हुनेछ ।


नेपालका राजनीतिक नेता र योजनविद् भने चुरे खनेर निकासी गर्ने वा सिंगै पहाड भत्काएर बेच्नेजस्ता आत्मघाती कार्यक्रम सरकारकै बजेटमा सामेल गर्न तम्सन्छन् । यसमा थप चिन्ताको विषय के पनि हो भने यस्ता विनाशक योजनाबाट हुने क्षतिका सम्बन्धमा जनसाधारण सचेत र सावधान छैनन् ।

यस्तै इन्जिनियरिङ दृष्टिले अनुपयुक्त हुने ठाउँमा खनिएका सडकहरूका कारण पनि नेपालका कलिला डाँडाहरू अहिले क्षतविक्षत भएका छन् । फलस्वरूप वन विनाश, पहिरो र भूस्खलनको चपेटाबाट सम्भवतः पहाडको कुनै पनि डाँडा जोगिएका छैनन् । सरकारी वनमा एकातिर ढलेका रूखहरू सडेर गएका छन् र तिनको समुचित व्यवस्थापन हुनसकेको छैन । अर्कातिर अवैध वन फँडानी र काठ तस्करी भइरहेको छ ।

यसैले नेपालले आफ्नो भविष्य अपेक्षाकृत जोखिमरहित बनाउने हो भने ठूला कुरा गर्न छाडेर ससाना तर गर्न सक्ने कुरामा ध्यान दिनु आवश्यक देखिन्छ । चुरे वा अरू कुनै पहाड भत्काउने, नदी फर्काउनेजस्ता विनाशक दुस्साहस कहिल्यै नगरिने सुनिश्चित गर्नुपर्छ । यस्तै पहाडका मोटर बाटाहरूलाई वातावरण मैत्री हुनेगरी मर्मत सम्भार गर्नुपर्छ ।


Leave a Reply

Your email address will not be published.


ताजा समाचार