श्रीमानकाे हौसला र साथले सामाजिक काममा सफलता

चन्द्रा गौतम/अध्यक्ष
सफलता सामाजिक उद्यमी महिला सहकारी संस्था, सुर्खेत

सबैले जीवनमा चाहेको लक्ष्य भेटाउन सक्दैनन् । तर जसले दुख र मेहनत गर्छन्, उनीहरु नै सफल बन्छन् । यस्तै मध्येका एक हुन्, सुर्खेतको वराहताल गाउँपालिका वडा नम्बर ५ मा रहेको सफलता सामाजिक उद्यमी महिला सहकारी संस्थाका अध्यक्ष चन्द्रा गौतम । बिवाहपछि जिम्मेवारी थपियो । आफ्नो पढाइ केही समय रोक्नुपर्यो । सामाजिक कार्यमा पनि सक्रिय भएको हुँदा धेरै संघर्ष गर्नुपर्यो । लामो संघर्षबाट उनले विभिन्न क्षेत्रमा काम गर्दै अहिले आठ सयभन्दा धेरै व्यक्तिको नेतृत्व गरिरहेकी छन् । आजको जम्काभेटमा उनै गौतमसँग हाम्रा सहकर्मी टेकराज केसीले कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंशः

सामान्य बाल्यकाल
बुवा जयबहादुर गौत र आमा रमादेवी गौतमको कोखबाट २०४१ साल जेठ ९ गते सुर्खेतको वराहताल गाउँपालिका वडा नम्बर ८ बेलचौरमा उनको जन्म भयो । उनी घरको जेठो छोरी हुन् ।

सामान्य परिवारमा जन्मिएकी उनका बुवाले कृषि कर्म गर्थे । उनको बाल्यकाल गाउँमै वित्यो । सरस्वती आधारभुत विद्यालय कुनाथरीमा कक्षा ५ सम्म पढेकी उनले ६ कक्षादेखि भने जनज्योति मावि बड्डीचौरमा पढिन् ।

बिहान बेलुकी घरको काम गर्दै आफ्नो पढाइ गर्न जानुपथ्र्यो । सानैदेखि गहिरिएर सोच्ने गम्भिर स्वभावकी उनी थिइन् । घरको पहिलो सन्तान भएर पनि होला, उनले धेरै मेहेनत गर्नुपथ्र्यो । घरको आर्थिक अवस्था कमजोर भएका कारण धेरै मेहेनत गर्नुपथ्र्यो ।

रोकिएको पढाइलाई निरन्तरता
१० कक्षा पढ्दै गर्दा उनको बिवाह भयो । बिवाह भएर घरमा गएपछि जिम्मेवारी थपिदैँ गयो । उनको छोरी पनि जन्मिन् । उनले आफ्नो पढाइलाई केही बर्ष रोक्नुपर्यो ।

उनको ससुराबुवा शिक्षक थिए। श्रीमान्सँगै सबै परिवार शिक्षित भएका कारण पढ्नुपर्छ भनेर घरपरिवारले राम्रो साथ दिए । अनि उनले ६ बर्षपछि उनले फेरि पढाइलाई निरन्तरता दिइन् ।

जनज्योति माविबाट एसएलसी दिएकी उनले २०६६ सालमा एसएलसी पास गरिन् । एसएलसी पासपछि केही समय पढाइ अहिले उनले प्लसटु पास गरेकी छन् । उनले अझै पढ्ने योजना बनाएकी छन् ।

समाज रुपान्तरणको लक्ष्य
उनी सानैदेखि समाजका विकृतीहरु देख्ने गर्थिन् । महिलामाथिको विभेदसहित अन्य विभिन्न समस्याहरुलाई हटाउनुपर्छ भन्ने सोच बनाएकी थिइन् । उनले पढेर सामाजिक रुपान्तरणको काममा लाग्ने योजना बनाएकी थिइन् ।

बिवाहपछि जब उनले केही समय पढ्न पाइनन् । त्यो लक्ष्यमा पुग्न सकिन्न भन्ने लाग्थ्यो । आफ् नो लक्ष्य पुरा गर्ने विषयमा श्रीमान्सँग पनि कुरा गर्थिन् । उनको श्रीमान्ले जसरी पनि त्यो लक्ष्य पुरा गराउने भन्दै साथ दिन्थे । अनि उनी ढुक्क भइन् ।

संघसंस्था र समुहमा सक्रिय
समाजका लागि केही गर्न सक्छु भन्ने आँट थियो । उनलाई घरपरिवारको साथ र सहयोग पनि थियो । त्यही साथले उनले गाउँको आमा समुहको नेतृत्व गरिन् ।

केहीबर्ष आमा समुहको नेतृत्व गरेर काम गरेपछि केही सिकाईसँगै राम्रो काम गरिन् । गाउँका मानिसहरुमा पनि विश्वास बढ्यो । अनि उनलाई सामुदायिक वनको अध्यक्ष बनाइयो । ७ बर्ष मसिना सामुदायिक वनको अध्यक्ष भएर काम गरिन् ।

जुनसुकै क्षेत्रमा काम गरे पनि उनले उत्कृष्ट काम गर्थिन् । त्यसपछि उनले किर्डाक नेपालको सहजकर्ता भएर दुईबर्ष काम गरेपछि धेरै कुराहरु सिक्न पाइन् । उनले सोचेकोभन्दा धेरै समस्या समाजको देखिन् ।

बालबिवाह, घरेलुहिंसा, महिलाहिंसा, बहुबिवाहका समस्याहरु धेरै थिए । यसको न्युनिकरण गर्नुपर्छ भन्ने अभियान चलाउन थालेपछि उनले समाजमा धेरै परिवर्तन गरिन् ।

मानव अधिकारमा वकालतसमेत गर्न थालिन् । उनले विभिन्न फोरमहरुमासमेत समाजका समस्याहरु उजागर गर्न थालिन् । अनि उनले मानिस स्वरोजगार र आत्मनिर्भर नभए हरेक समस्या समाधान हुन नसक्ने बुझिन् ।

सहकारीको यात्रा
वराहताल वडा नम्बर ८ का विभिन्न टोलहरुमा एउटा संस्थाबाट महिलाहरु सम्मिलित कृषि समुह गठन गरिए । दिदी समुह र बहिनी समुहहरु नाम दिइएका ति समुहरुले विभिन्न आयआर्जनका कामहरु गरिरहेका थिए भने गाउँका महिलाहरुलाई उद्यमी बनाउने बाटो देखाएका थिए ।

उनी लगायत केही व्यक्तीको पहलमा ति समुहरुलाई एकिकृत गरेर सहकारी बनाएर अगाडी बढ्ने योजना बनाइयो । अनि २०६९ सालमा सफलता सामाजिक उद्यमी महिला सहकारी संस्था दर्ता गरियो । त्यो सहकारी दर्ता गर्दा उनी संस्थापक कोषाध्यक्ष भएर काम गरिन् ।

सहकारीको उद्देश्य भनेको पछाडि पारिएका महिलाहरुलाई उद्यमी बनाउने थियो । कोषाध्यक्ष भएर राम्रो काम गरेपछि उनलाई सहकारीको अध्यक्ष बनाइयो । अहिले पनि सहकारीको अध्यक्ष भएर उनले काम गरिरहेकी छन् ।

कृषि र पशुपालनमा काम गरिरहेको सहकारीबाट पाँच सय जना महिलाहरु आयआर्जनको बाटोमा लागेका छन् । सहकारीमा अहिले ८ सय १५ जना सेयर सदस्यहरु रहेका छन् । सहकारीले पशु व्यवसायको बजारिकरण गर्ने पनि काम गरेको हुँदा धेरै मानिसहरु व्यवसायमा आकर्षित भएका छन् ।

जीवनमा संघर्ष
सानैदेखि उनले संघर्ष गर्दै आएकी हुन् । घरको पहिलो सन्तान भएको हुँदा घरमा बुवा आमालाई सघाउनुपथ्र्यो । घरको काम गरेर विद्यालय गएर पढ्नुपर्ने थियो ।

घरपरिवारको आर्थिक अवस्था पनि सामान्य भएको हुँदा सानो स्रोतबाट सबै कुरा म्यानेज गर्नुपर्ने थियो । बिवाह गरिन् । अझै जिम्मेवारी थपियो । आफ्नो पढाइ केही समय रोक्नुपर्यो ।

छोराछोरी हुर्काउनुपर्ने, आफ्नो पढाइलाई निरन्तरता दिनुपर्ने सँगै सामाजिक कार्यमा पनि सक्रिय भएको हुँदा धेरै संघर्ष गर्नुपर्यो । तर उनको एउटा स्वभाव भनेको जुनसुकै काम पनि सहजताले गर्थिन् ।

लामो संघर्षबाट उनले विभिन्न क्षेत्रमा काम गर्दै अहिले ८ सयभन्दा धेरै व्यक्तिको नेतृत्व गरेर काम गरिरहेकी छन् । उनी अहिले धेरै हदसम्म सन्तुष्ट छन् । सामाजिक क्षेत्रमा लागेको हुँदा समाजलाई अझै परिवर्तन गर्ने उनको योजना छ ।

गाउँमा धेरैलाई आत्मनिर्भरताको बाटोमा लिन खोजिरहेका छन् । सहकारीमार्फत विपन्न वर्गहरुलाई आत्म निर्भर बनाउने योजना उनको छ । विगतको भन्दा महिलाहरु अगाडी आएपछि अझै परिवर्तन हुन नसकेको भन्दै राजनितिक नेतृत्व गरेर ति समस्या हटाउने उनी बताउँछिन् ।

तपाईको प्रतिक्रिया