सहिद ऋषिले जन्माएका प्रश्नहरु ?

गगन सिंह ठकुरी/सिम्ता

चैत्र २६ गते सुर्खेती कम्युनिस्ट आन्दोलनको एउटा दिप निभाइएको दिन हो । यसै सन्दर्भमा जनताका नेता सहिद ऋषि प्रसाद शर्मा प्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु।

पहिलो संविधानसभाको निर्वाचनमा सुर्खेत क्षेत्र नम्बर एक नेकपा एमालेका तर्फबाट उम्मेदवार भई जनताको बिचमा साक्षात्कार गर्न जाँदै गर्दा सुर्खेतको भेरीगंगा नगरपालिकाको लोदे नजिकै २०६४ चैत्र २६ गते राती जनताका बैरिहरुले गोलि हानी हत्या गरेका थिए ।

उहाँ जनताको बिचबाट भौतिक रुपमा टाढा भएको आज चौध वर्ष पूरा भएको छ । चौध वर्षको बिचमा सुर्खेतको कम्युनिस्ट आन्दोलनमा भएको घटना, परिघटनाहरुलाई नियालेर हेर्दा प्राय परिघटनाहरुमा सहिद ऋषिको आवश्यकता झल्किरहेको पाइन्छ । सहिद ऋषि प्रसाद शर्मा सँग राजनीतिक यात्राको सहयात्री बन्न नपाए पनि बालापनमा देखेको अभिभावकत्वले मानसपटलमा गहिरो छाप छोडेको छ ।

ऊ बेलाको सुर्खेतको नेकपा एमाले र आजको नेकपा एमालेको नेतृत्वलाई नियाल्दा नेतृत्व र नेतामा कति फरक हुँदोरहेछ भन्ने सहजै विश्लेषण गर्न सकिन्छ । वि.स. २०५४ सालमा पार्टी विभाजन पछिको एकीकृत बलियो एमाले बनाउन खेलेको भूमिकालाई आजका हामी एमाले पार्टीका कम्रेडहरुले सदासर्वदा आत्मसाथ गर्न सक्नुपर्दछ । यतिबेला एउटा भनाई ठ्याक्कै मिल्छ ।

‘जुन मान्छेहरु इतिहासबाट पाठ सिक्दैनन् । उनीहरु इतिहास बनेर रहन्छन् ।’ राजनीतिक पद्धति, संस्कार, विधि, नीति र सिद्धान्तलाई शिरोधार्य गरि राजनीतिक प्रणालीलाई सुव्यवस्थित तवरले संचालन गर्न सहिद ऋषिबाट हामीले किन सिकेनौँ ? सहिद ऋषिको व्यवहार, आनिवानी, चालचलन र सादकी जीवनलाई आदर्श मानेर उहाँकै मार्गनिर्देशनबाट नेता बनेका साथिहरुले व्यवहारमा देखाउनु आजको आवश्यकता हो ।

आदर्शले त्यतिबेला सार्थकता पाउँछ जतिबेला हामीले बिचार र व्यवहारमा सन्तुलन कायम गर्दछौं । नेता बन्न त सकिएला, सजिलो छ तर कम्युनिस्ट कहिले बन्ने ? अरुभन्दा नितिगत कुराको वकालत गरि संस्कारयुक्त राजनीतिक प्रणालीको विकास कहिले गर्ने ?

कम्युनिस्ट आचरणलाई भाषण मन्त्र बनाउनेकी नेता, कार्यकर्ताको दैनिकी बनाउने ? हामीले बसाल्न खोजेको राजनीतिक संस्कार हो वा राजनीतिक पदिय जिम्मेवारी कब्जा गर्न टेण्डर पार्नु पर्ने हो ?

दिगो, स्थायी कम्युनिस्ट निर्माण गर्नेकी एक दुई वटा घटनाक्रमलाई पार लगाउने ठेकेदार निर्माण गर्ने ? शासन, व्यवस्था र सत्ता संचालनको लागि राजनीतिक मर्म अनुसार विधि, पद्धति, बिचार र सिद्धान्त कहिले प्रयोग हुन्छ ? यसको प्रयोगकर्ता वा कार्यान्वयन गर्ने पक्ष को हो ? तमाम कार्यभार पुरागर्ने पंक्ति भनेकै राजनीतिककर्मी अर्थात् नेता होइनन् र ?

विधि आफू अनुकुल व्याख्या गर्नेकी थितिमा बसाल्ने ? राजनीति लयलयमा लागेर नक्कल गर्ने, पेशाको रुपमा लिएर कमाइखाने भाँडो हो ? की राजनीति सेवा हो ? जुन मानवताको लागि जीवन्त रहन्छ ।

सोच्ने बेला भएन र ? एउटा राजनीतिकर्मी समाजको नमुना, प्रेरणाको स्रोत, उदाहरणीय नेता बन्नेकि जनताको घृणाको पात्र वा समाजद्धारा तिरस्कृत चेहेरा बन्ने ? पहिले स्यवम्ले व्यवहारमा अवलम्बन गरेर व्यवहारिकता सिकाउने कि झुट्टा र मनगठन्टे भाषण गर्न सिकाउने ?

नेता वर्तमान परिवेशसँग जुध्न सक्ने, भिज्न सक्ने, रम्न सक्ने र सामना गर्न सक्ने गतिशील चालक हुने वा यथास्थितिमा रहिरहने ? प्रविधिमैत्री हुनेकी प्रविधी भन्दा टाढा भाग्ने ? सोचांै । जनताले अभिभावक सम्झेर आफ् ना समस्याहरु राम्ररी खुलेर भन्न सकुन । र, नेताले उक्त समस्याका हल निकालोस् ।

भोट मागेर कुलेलाम ठोक्ने फेरि भोट माग्ने समयमा शिर झुकाएर भोट माग्न लाज नमान्ने नेता न पहिले आवश्यक थियो न अहिले आवश्यक छ र भोलि पनि आवश्यक हुनेछैन् । आम नागरिकका आवाजलाई सुनिदिने नेताको खोजी हो । समाजका विविध पक्षहरुको अध्ययन, अनुसन्धान गरि नयाँ मानचित्र निर्माण गर्न नेता किन नलाग्ने ?

कि कर्मचारीकै भरमा भलादमी बन्ने ? नेता नेता हुनेकी ठालु हुने ? हेर्दा नेता र ठालु उस्तै लाग्न सक्छन् तर ठालु आजको समाजको नेता हुन सक्दैन । ठालुले आदेश दिने गर्दछ । नेताले परिचालन र सहजीकरण गर्दछ ।

एउटा नेता र ठालु बिचको गहिरो खाडल यहीँ हो । अचेल नेता कम ठालु धेरै भेटिन्छन् । नेता सामाजिक पक्षको अनुसन्धान गर्ने, सोध, खोजकर्ता हुनेकी जडसुत्रवादी भजनमण्डली हुने ?

आजको नेता दुरदर्शी, सृजनात्मक योजनाकार, रचनात्मक हुने वा संख्यात्मक वृद्धि, पदिय पेण्डुलम हुने ? नेता सृजनात्मक वा संख्यात्मक ? जनताको निकास दिन सक्ने रचनात्मक हुने वा माथिल्लो तहको नेताको रिमोट हुने ? आजको नेतृत्वको कार्यकुशलता माथी यस्ता प्रश्नहरु स्वभाविक रुपमा उठ्दछन् ।

राजनीतिको मुख्य मर्म नीति निर्माण गरि कार्यान्वयन गर्नु हो । तर नेता नीति निर्माता हुने वा अरुले बनाइदिएको नितिमा हस्ताक्षरकर्ता बन्ने ? त्यसैले हामी कस्तो समाजको परिकल्पना गरिहेका छौं ? उक्त समाज निर्माणको पहिलो तत्व सहि व्यक्ति र सहि नेतृत्व हो । ऋषि शर्मा जो सहिद भएर पनि जीवित छन् । वर्तमानको राजनीतिक परिवेश माथि सहिद ऋषि शर्माका केही प्रश्न छैन होला र ?

हामीले सहिदको सपना पूरा गर्न सभ्य समाज निर्माण गरे पुग्छ । संस्कारको राजनीति गरे पुग्छ । विधि, नितिलाई सिरोधार्य गरे पुग्छ । अन्यथा सहिदको रगतले सधैं गिज्याइरहनेछ । हामी बिजेता त बनौंला तर समाज हार्नेछ ।

राजनीतिक कुसंस्कारको विकास हुनेछ र सहिदको रगतले पोल्नेछ । तसर्थ नेकपा एमालेका नेता कार्यकर्ताले सहिद ऋषिलाई आदर्श मान्ने होइन, आदर्श व्यवहार देखाए पुग्छ ।

हरेक युगमा कोही एउटा यस्तो व्यक्ति आउछ । जसले सबथोक बदलिदिन्छ । सुर्खेतको भूगोलमा जन्मेका राजतिनीक बर्बरीक सहिद ऋषि प्रसाद शर्मा प्रति हार्दिक श्रदासुमन ।

तपाईको प्रतिक्रिया