दैलेखका ११ पालिकामा गठबन्धन गर्ने निर्णय

दैलेख, २६ चैत्र ।
स्थानीय तहको निर्वाचनमा गठबन्धन दलले गठबन्धन गर्ने निर्णय गरेका छन् । दैलेखमा क्रियाशील चार राजनीतिक दलले आसन्न स्थानीय तह चुनावमा गठबन्धन गर्ने निर्णय गरेका हुन । नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाले दैलेखको ११ वटै स्थानीय तहमा गठबन्धन गरेर निर्वाचनमा जाने सहमति गरेका छन् ।

काँग्रेसका जिल्ला सभापति मणिराम रेग्मी, नेकपा (माओवादी केन्द्र) का जिल्ला संयोजक प्रेमबहादुर कटुवाल क्षेत्री, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष बरुनाथ योगी र राष्ट्रिय जनमोर्चाका कार्यवाहाक अध्यक्ष लोगपाल थापाको संयुक्त बैठकले जिल्लाका ११ वटै स्थानीय तहका सबै ९० वटै वडामा गठबन्धन गर्ने निर्णय गरेको हो ।

काँग्रेस दैलेखका सभापति मणिराम रेग्मीले केन्द्रमा भएको गठबन्धनअनुसार जिल्लामा गठबन्धन गरिएको बताउनुभयो । गठबन्धन गर्ने निर्णयअनुसार नेपाली काँग्रेसले स्थानीय तहमा पार्टीबाट पठाउने उम्मेदवारको नाम सार्वजनिक नगरिएको बताउनुभयो । उहाँले भन्नुभयो ‘अहिले उम्मेदवारको नाम सार्वजनिक गर्दा भोलि कसका भागमा पर्ने हो त्यसले झनै कमजोर बनाउने काम गर्छ ।’

बैठकपछि चार दलले जारी गरेको संयुक्त अपिलअनुसार निर्वाचन केन्द्रित सम्पूर्ण कामलाई व्यवस्थित गर्न चारवटै दलका पार्टी प्रमुखसहित ७ जना गठबन्धन संयन्त्र गठन गरेको उल्लेख छ । चारवटै दलले जिल्ला तथा पालिका तहमा सत्ता गठबन्धनलाई व्यवस्थित गर्न गठबन्धनको मर्ममा चोट पुग्ने कुनै पनि गतिविधि सञ्चालन तथा अभिव्यक्त नगर्न निर्देशन दिएको छ ।

चारवटै दलले पालिका तहमा समेत तत्काल जिल्लाकै मोडलमा संयन्त्र बनाएर बैठक बस्न निर्देशन समेत दिएको छ । २०७४ को स्थानीय तहको निर्वाचनमा दैलेखमा रहेको ११ स्थानीय तहमध्ये सात स्थानीय तहमा एमालेले प्रमुख र एक स्थानीय तहमा उपप्रमुख जितेको थियो ।

काँगेसले चार स्थानीय चार स्थानीय तहमा प्रमुख र एक स्थानीय तहमा उपप्रमुख जितेको थियो । नेकपा (एमाले) बाट निर्वाचित महावु गाउँपालिकाका अध्यक्ष जंगबहादुर शाही उपप्रमुख प्रेमकुमारी बुढा, नारायण नगरपालिकाका उपप्रमुख साबित्री मल्ल ठाटिकाँध गाउँपालिकाका उपप्रमुख सुस्मिता सिंह भने एकीकृत समाजवादीमा लाग्नुभएको छ ।

तपाईको प्रतिक्रिया