‘किताव पढ्दा पनि उनकै याद आउँथ्यो’

चन्द्रा थापा/प्रेमबहादुर थापा

जीवन यात्रा हो । जन्मेपछि सुरु भएर मृत्युसम्म चल्छ । यो यात्रामा धेरै व्यक्तिहरु भेटिन्छन् । यात्रामा भेटिएकाहरु कोही मित्र बन्छन् त कोही आफन्त र नातेदार पनि । तर जीवनमा कतिपय भेट यस्तो पनि हुन्छन्, जो भेटले सँगै जीउने अवस्था पनि बनिदिन्छ ।

न जानेको र नचिनेको मानिस पनि जीवनमा सबैभन्दा नजिकको र प्यारो बन्दछ । अनि व्यवहार मिल्नेहरु एकअर्कामा आकर्षित हुन थाल्छन् । यस्तै भयो सुर्खेतका प्रेमबहादुर थापा र चन्द्रा थापाको जीवनमा पनि । प्रस्तुत छ, यो जोडीसँग गरिएको कुराकानीको साराशं :

मिलले गरायो भेट
प्रेमका बुवाले मिल चलाउँथे । चन्द्राकी दिदीले पनि मिल संचालन गर्थिन् । मिल संचालन गर्नेक्रममा सहयोग आदनप्रदान भइरहन्थ्यो । त्यतिबेला नै प्रेम र चन्द्राको पहिलो भेट भएको थियो । पहिलो भेटमा प्रेमले नै चन्द्रालाई बोलाएका थिए ।

लामो कपाल र मिठो बोल्ने शैली देखेर प्रेम आकर्षित भएका थिए । देख्दा पनि मन कटक्क खाने, जति हेरे पनि पट्यार नलाग्ने अनुभुति प्रेमलाई भएको थियो त्यसबेला । शुरुका दिनमा त खासै कुराकानी भएन । देखादेख मात्र भए पनि प्रेमको मनमा धेरै कुरा खेलेको थियो ।

प्रेमपत्रमा कोरिए कुरा
प्रेमले चन्द्रालाई धेरै मन पराएका थिए। तर मनको कुरा भन्ने माध्यम थिएन। उनले एकरात एउटा प्रेमपत्र लेख्दै आफुले मन पराएको कुरा लेखे । आफुले देखेको दिन देखिको सबै मनका कुरा चिठीमा थियो । अनि प्रेमपत्र चन्द्राको हातमा पर्यो ।

उनले कसैलाई थाहा नदिएर रातीको समयमा एकान्तमा गएर पढिन् । उनी त्यहाँ व्यक्त गरिएका शब्दहरु केलाउँदै जाँदा भावुक भइन् । उनले त्यसलाई अस्वीकार गर्ने सम्भावना नै थिएन । उनलाई यो सबै सपना जस्तो लागेको थियो ।

उनले त्यो चिठीलाई भोलिपल्ट पनि पढिन् । अनि उनका मनमा मायाका पालुवाहरु पलाउन थाले । उनले पनि कपी र कलम लिएर त्यसको जवाफ लेख्न थालिन् । उनले पनि प्रेमलाई नै आफ्नो जीवनसाथी बनाउने भन्दै आफ्नो जीवन समर्पण गर्ने उल्लेख गरेकी थिइन् ।

भेट गर्ने थलो भेरीको किनार
जब उनीहरुबिच माया गहिरिँदै गयो । दुबै जना कुनै न कुनै बहानामा भेट्न थाले । भेट्ने स्थान थियो भेरी नदीको किनार । उनीहरुको घर नदीको वारी र पारी थिए । दुबै जनाले भेट गर्ने निश्चित स्थान तय गरेका थिए ।

घण्टौसम्म भेरी नदीमा डुङ्गामा बसेर सयर गर्थे । धेरै रमाइला कुरा हुन्थ्यो । घरमा पाकेको केही खानेकुरा लिएर एकअर्कालाई दिन्थे । उनीहरुको माया धेरै गहिरो भएको थियो । जीवनभर नै यस्तै माया पाइरहँु भनेर चन्द्राले भन्थिन् ।

सबैभन्दा धेरै प्यारो लाग्न थाल्यो दुबै जनालाई । घरमा गएर किताव पढ्दासमेत हरेक अक्षरमा भेट गरेको, रमाइलो गरेको र आफ्नै मान्छेको चित्र याद बनेर आउँथ्यो । घरमा रमाइलो हुँदा दुबै जनाले सम्झिरहेका हुन्थे ।

प्रेममा डुबेको ६ महिनापछि बिहे
प्रेममा डुबेको करिब ६ महिनापछि उनीहरुले बिवाह गर्ने निर्णय गरे । दुबैको परिवारमा यस विषयमा जानकारी थियो । तर उनीहरु भागरे २०६२ सालमा विहे गरे । परिवारले केटाकेटीको सहमतिमै बिवाह भएपछि त्यो सम्बन्धलाई सहजै स्वीकार गरे ।

बिवाह गरेर घरमा जाँदा चन्द्रलाई बिरानो गाउँ, बिरानो ठाउँमा जाँदा केहीदिन बिरानो लागेको थियो । प्रेम र प्रेमको परिवारको मायाले उनी विस्तारै घुलमिल हुँदै गइन् ।

द्वन्द्वकालिन अवस्थाका कारण उनीहरु विहेपछि हनिमुन मनाउन भने गएनन् । उनीहरुको अनुभवमा बिवाहपछि माया धेरै लाग्दो रहेछ । भविस्यको योजना बनाउदा विश्वास माया धेरै लाग्ने गरेको उनीहरुको अनुभव छ ।

जीवनमा संघर्ष
बिवाहपछि उनीहरुले सामाजिक, राजनीतिक, जातीय र आफ्नो भविश्यको रेखा कोर्दा धेरै संघर्ष गर्नुपर्यो । एकातिर आफ् नो पढाइ पुरा गर्नुपर्ने, अर्कोतिर घरव्यवहार सम्हाल्नुपर्ने । धेरै मेहेनत गरे उनीहरुले ।

मगरको छोरीलाई क्षेत्रीको छोराले बिवाह गर्यो भनेर गाउँमा कुरा पनि काट्ने काम भयो । तर समाजले जेसुकै कुरा गरे पनि उनीहरुले एकअर्काको विश्वासमा काम गरे । सबै जिम्मेवारीलाई पुरा गर्दै अगाडी बढे । एकअर्काको काममा साथ दिए ।

चन्द्राले आफ्नो पढाइलाई रोकेर भए पनि प्रेमलाई पढ्नुपर्छ भनेर उत्प्रेरित गरिन् । त्यही संघर्षकै कारण अहिले प्रेम लालीगुराँस निमावि भेरीगंगाको प्रधानाध्यापक छन् भने चन्द्राले आफ्नो व्यवसाय संचालन गरिरहेकी छन् । आफ्ना छोराछोरीलाई राम्रो शिक्षा दिएका छन् ।

यस्तो थियो बाल्यकाल
बुवा सेते थापा र आमा धनी थापाको कोखबाट २०३७ असार १९ गते सुर्खेतको भेरीगंगा नगरपालिका रामघाटमा प्रेमबहादुर थापाको जन्म भयो । मध्यम परिवारमा जन्मिएका उनको बाल्यकाल गाउँमै वित्यो । सानो कक्षा पनि उनले गाउँमै पढे ।

निमावि तहसम्म गाउँकै लालीगुराँस निमाविमा पढेका उनले एसएलसी भने जीवनज्योति मावि दशरथपुरबाट गरेका हुन् । त्यसपछि शिक्षा क्याम्पसबाट उनले स्नातकसम्म गरेका छन् । सानैदेखि धेरै दुख गरेका उनले आफ्नो पढाइलाई भने जति नै दुख गरे पनि पुरा गरे ।

यस्तै बुवा मनबहादुर सलामी र आमा द्रुपती सलामीको कोखबाट विसं २०४० साल माघ २० गते चन्द्रा थापाको सुर्खेतकै लेकवेसी नगरपालिकाको कल्यानमा जन्म भएको हो । मध्यम परिवारमा जन्मिएकी थापाको बाल्यकाल सामान्य नै वित्यो ।

उनले सानो कक्षा खोल्डेपानीको विद्यालयमा पढेकी हुन् भने माध्यमिक तह सरस्वती मावि कल्यानमा पढिन् । उनले त्यही माविबाट एसएलसी पास गरिन् ।

तपाईको प्रतिक्रिया