‘महिलाको जीवनस्तर उकास्न गाउँमै सहकारी स्थापना गरयौं’

विष्णु शाह अध्यक्ष, ग्रामीण महिला बचत तथा ऋण सहकारी संस्था गुर्भाकोट, सुर्खेत

संघर्ष नगरी सफलता मिल्दैन । अनि सबैले जीवनमा चाहेको लक्ष्य भेटाउन सक्दैनन् । तर जसले दुख र मेहनत गर्छन्, उनीहरु नै समाजमा सफल बन्छन् । कतिपय व्यक्तिहरु जीवनमा आफ्नो सफलताका लागि मात्र दौडिन्छन् । आफ्नै प्रगतिका लागि मेहनत गर्दछन् । तर समाजमा यस्ता पनि व्यक्ति छन्, जो समाजको हितका लागि मेहनत गर्दछन् ।

अरुको सफलताका लागि योजना र नीति बनाउन लागि रहन्छन् । यस्तै मध्यकी एक हुन् सुर्खेतको गुर्भाकोट नगरपालिका वडा नम्बर ४ मा रहेको ग्रामीण महिला बचत तथा ऋण सहरकारी संस्थाका अध्यक्ष विष्णु शाह । उनले आफ्नो मात्र होइन, समाजमा रहेका अन्य महिलाहरुको जीवनस्तर उकास्न र उनीहरुको आर्थिक अवस्था सुधार गर्नका लागि सहकारी संस्थाको नेतृत्व गरिरहेकी छन् । आजको जम्काभेटमा उनै शाहसँग हाम्रा सहकर्मी टेकराज केसीले कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :

दुई घण्टा हिँडेर स्कुल
बुवा लक्ष्यबहादुर सिंह र आमा रेवता सिंहको कोखबाट विसं २०३२ साल असार १५ गते सुर्खेतको सिम्तामा विष्णु शाहको जन्मभयो । शाहका बुवा सरकारी सेवासँगै राजनीति पनि गर्थे ।

मध्यम परिवारमा जन्मिएकी उनको बाल्यकाल गाउँमै वित्यो । सानो कक्षा उनले लक्ष्मी प्रावि नाड गाउँमा नै पढिन् । ६ कक्षादेखि भने उनले भानु मावि बजेडीचौरमा पढिन् ।

त्यही माविबाट एसएलसी पास गरिन् । जिज्ञासु स्वभावकी उनले पढेर सामाजिक क्षेत्रमा काम गर्ने लक्ष्य राखेकी थिइन् । उनको आमा बिरामी थिइन् । बुवा सामाजिक क्षेत्रमा भएको हुँदा घरको सबै काम गरेर विद्यालय पढ्न जानुपथ्र्यो । उनी दुई घण्टा हिँडेर स्कुल जानुपथ्र्यो ।

विद्यालयबाट फर्किदा गाईलाई खुवाउने घाँस उतैबाट लिएर आउनुपथ्र्यो । उनका बुवा पहिले गाविस सचिव र त्यसपछि उतिबेलाको पञ्चायतको प्रधान भएका थिए । उनले घरकोभन्दा समाजको काम गर्नुपर्ने हुँदा घरको पहिलो सन्तान शाहले सानैदेखि धेरै संघर्ष गर्नुपर्यो ।

छोराछोरी हुर्काएर आफ्नो पढाइ
एसएलसी परीक्षा दिदादिदै विष्णुको बिवाह भयो । बिवाहपछि उनले आफ्नो पढाइलाई रोक्नुपर्यो । बिवाहपछि जिम्मेवारी थपिँदै गयो । घरको जिम्मेवारीसँगै उनका छोराछोरी पनि जन्मिए । पढ्ने चाहना हुँदाहुँदै पनि पढाइलाई १० बर्षसम्म रोक्नुपर्यो ।

उनले आफ्नो पढाइलाई निरन्तरता दिने प्रयास गर्दा पनि घरको सबै जिम्मेवारीका कारण दिन सकनन् । उनका छोराछोरी हुर्कदै गए । उनले व्यवसायसँगै आफ्नो कृषि पेशा गरेर छोराछोरी पढाइन् । उनको पुस्तक पसल पनि थियो । विद्यालय जान नपाए पनि विभिन्न पुस्तकहरुको अध्ययन गर्थिन् । उनले धेरै किताबहरु घरमै पढेकी थिइन् ।

घरपरिवारमा उनले पढाईलाई निरन्तरता दिने प्रस्ताव राखिन् । शुरुमा त उनको श्रीमान् र घरपरिवारले मानेका थिएनन् । तर उनले मनाएपछि १० बर्षपछि पढाइलाई पुनः निरन्तरता दिइन् । आफु जन्मिएकै गाउँमा गएर प्लसटु पढ्न थालिन् । भानु माविबाट उनले २०६४ सालमा प्लसटु पास गरिन् ।

अनि पढाउन थालिन्
२०६४ सालमा प्लसटु पास भएर उनले गुर्भाकोट बोर्डिङ स्कुलमा पढाउन थालिन् । उनी जुनसुकै कुराको पनि जिज्ञासु र सिक्ने कुरामा अगाडी बढ्ने भएको हुँदा ज्ञान राम्रो थियो ।

१२ बर्ष त्यही नीजि विद्यालयमा पढाएकी उनले सामाजिक काम पनि सँगै गर्थिन् । गाउँका महिला समुह र आमा समुहको नेतृत्व पनि गरेकी उनी समाजमा रहेको महिला र पुरुषबीचको विभेद हटाउनुपर्छ भनेर अभियान नै चलाउँथिन् । उनले गाउँका महिलालाई आत्मनिर्भरताको बाटोमा लैजानुपर्ने र महिला अधिकारबारे वकालत गर्न थालिन् ।

यसरी स्थापना भयो सहकारी
उनी निजी विद्यालयमा पढाउँदै गर्दा सामाजिक काममा सक्रिय थिइन् । समाजमा महिलाहरुका समस्या, आर्थिक, सामाजिकसँगै हरेक क्षेत्रमा महिलाहरु पछाडी परेको देखेपछि सहकारीमार्फत आर्थिक रुपान्तरण गर्ने सोचका साथ सहकारी स्थापना गर्ने गाउँका २५ जना महिलाहरुले निर्णय गरे ।

अनि सहकारी दर्ता गरियो । शुरुमा २५ जना सेयर सदस्य रहेको सहकारीमा विस्तारै महिलाहरु सदस्यता लिने क्रम बढ्यो । अहिले १५ सय सेयर सदस्य रहेको सहकारी स्थापनामा महत्वपूर्ण भूमिका खेलेकी विष्णु अहिले सहकारीको अध्यक्ष भएर काम गरिहेकी छन् ।

सहकारीले महिलाहरुको आर्थिक अवस्था सुधार गर्न धेरै काम गरेको छ । विभिन्न उद्यमशिलताका तालिमहरु संचालनसँगै, सालको पातको टपरी बनाउने तालिम दिएर धेरै महिलाहरु आत्मनिर्भर बनेका छन् ।

राजनीतिमा पनि सक्रिय
उनी सानैदेखि राजनीतिमा पनि चासो राख्थिन् । समाजका हरेक तह र तप्कामा काम गर्ने शिलशिलामा उनले राजनीतिलाई पनि बुझ्ने अवसर पाइन् । राजनीतिक कार्यक्रम र अभियानमा पनि सहभागी हुन्थिन् ।

उनका बुवा पनि उतिबेलाको प्रधानपञ्च भएको हुँदा पारिवारिक प्रभावले पनि उनलाई राजनीतिमा लाग्न उत्प्रेरित बनायो । अहिले उनी नेकपा एमाल सुर्खेतेको जिल्ला कमिटी सदस्य छन् ।

जीवनमा संघर्ष
सानैदेखि संघर्ष गर्दै आएकी उनले हरेक क्षेत्रमा संघर्ष गर्नुपर्यो । घरमा आमा बिरामी, बुवा समाजको काममा हुँदा घरको सबै काम गरेर भाइबहिनीलाई हुकाइन् । अर्कोतर्फ आफ्नो पढाइ पुरा गर्नुपर्ने थियो ।

बिवाहपछि घरको जिम्मेवारी, छोराछोरी हुर्काउनु र आफ्नो व्यवसायलाई अगाडी बढाउनुपर्ने थियो । सँगै आफ् नो पढाइलाई पनि निरन्तता दिन शुरु गरेपछि त अझै धेरै गर्नुपर्यो ।

घरको जिम्मेवारीसँगै फेरि पढाइमा निरन्तरता, सामाजिक काम, पढाउने काम लगायत गर्दा उनले धेरै संघर्ष गर्नुपर्यो । त्यही संघर्षबाट अहिले उनी सफलताको बाटोमा छन् । १५ सयभन्दा धेरै महिलाहरुको नेतृत्व गरेर अगाडी बढिरहेकी छन् ।

तपाईको प्रतिक्रिया