छेडागाडको मनघाटमा बृहत साहित्य उत्सव हुने

दिपेन्द्र शर्मा
नलगाड (जाजरकोट), १६ चैत्र ।
जाजरकोट छेडागाड नगरपालिकामा नयाँ बर्षको अवसर पारी वृहत साहित्य उत्सव हुने भएको छ । जाजरकोटी साहित्यिक आवाजको आयोजनामा छेडागाड नगरपालिकाको केन्द्र मनघाटमा आगामी वैशाख १ गते वृहत साहित्य उत्सव हुने जाजरकोटी साहित्यिक आवाजका अध्यक्ष भावुक रिदम वावुले जानकारी दिनुभयो ।

उहाँका अनुसार ‘जाजरकोट साहित्य उत्सव’ २०७९ राखिएको छ । ‘‘साहित्यको संरक्षण र सम्वद्र्धन हाम्रो अभियान, जोगाऔं, बचाऔं, बनाऔं, हाम्रो पहिचान’’ भन्ने मूल नाराका साथ साहित्य उत्सव हुन लागेको अध्यक्ष रिदम बावुले बताउनुभयो ।

साहित्य उत्सवमा गजल महफिल समेत राखिएको छ । क्षितिज समर्पण जाजरकोट, कृष्ण विरही अछाम, हरिश जोशी बझाङ्ग, दीर्घराज प्रीयसी कैलाली महफिलमा गजल वाचन गर्नेछन् । सहजिकरण नेपालका चर्चित गजलकार वावु त्रिपाठीले गर्नेछन् ।

साहित्य उत्सवमा मुक्तक मुसायरामा चन्दा चाँदनी कालिकोट, मनोज दाहाल ‘मनु’ ले मुक्तक बाचन गर्नेछन् । सहजीकरण गजलकार बावु त्रिपाठीले गर्नेछन् । कार्यक्रममा केही साहित्यिक श्रष्ठाहरुलाई सम्मान गरिनेछ । गजलकार/कवि बाबू त्रीपाठी (काठमाडौँ), गजलकार विपिन सलामी (डोटी) को सहभागिता हुने जनाइएको छ ।

त्यसैगरी कवि/गजलकार धिरेन अनुपम (सुर्खेत), कवि साहित्यकार पूर्ण समीर महातारा (जाजरकोट), कवि साहित्यकार ज्ञानेन्द्र बहादुर सिंह (जाजरकोट), कवि साहित्यकार बिशाल चन्द जाजरकोटी (जाजरकोट) लाई सम्मान गरिने अध्यक्ष रिदम बावुले जानकारी दिनुभएको छ ।

यस्तै, कार्यक्रममा छेडागाड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गंग विवश आर.सीद्धारा लिखित ‘विवश जिन्दगी’ मुक्तक संग्रहको विमोचन गरिनेछ ।

साहित्य उत्सवमा काठमाडौँ, सुर्खेत, दैलेख, बाँके, बर्दिया, सल्यान, रुकुम, कालिकोट, अछाम लगायतका अधिकांश अन्य विभिन्न जिल्लाहरुबाट राष्ट्रिय स्तरका गजलकारहरुको सहभागिता रहने आयोजक संस्थाले जनाएको छ । कार्यक्रमको प्रमुख अतिथि छेडागाड नगरपालिकाका नगरप्रमुख लालबहादुर महतारालाई राखिएको छ ।

तपाईको प्रतिक्रिया