सुर्खेत उद्योग वाणिज्य संघलाई साझा बनाइने, निर्वाचन चैत २६ गते

सुर्खेत, ८ चैत्र ।
सुर्खेत उद्योग वाणिज्य संघलाई सबैको भावना प्रतितिधित्व गराउँदै साझा बनाउने घोषणा गरिएको छ । सुर्खेतमा रहेका प्रमुख राजनितिक दल निकट व्यवसायीहरुले मंगलबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरी सबैको भावना समेट्ने घोषणा गरिएका हुन ।

संघका अध्यक्ष धनवहादुर रावत, पूर्व अध्यक्ष टेकबहादुर भण्डारी, एमाले निकट व्यवसायी महासंघका डम्मरप्रसाद तिवारी र समाजवादी निकट संघका कृष्णप्रसाद सुवेदीद्वारा सामुहिक रुपमा हस्ताक्षरित विज्ञप्तिमा संघलाई सम्पूर्ण व्यापारी व्यवसायीहरुको साझा र छाता संस्था बनाउने र तोकिएको मितिमा निर्वाचन गर्न सामुहिक ऐक्यबद्धता जाहेर गरेका छन् ।

सुर्खेत उद्योग वाणिज्य संघको निर्वाचन २०७८ चैत २६ गते हुने निश्चित भएको छ । संघका अध्यक्ष धनबहादुर रावतले हाल वाणिज्य संघमा लागेको ताला नखोलिए पनि नयाँ नेत्तृवका लागि निर्वाचन हुने प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिए ।

उनले भने, ‘हाल वाणिज्य संघमा दुई हजार ६४ जनाको सदस्यता नविकरण भईसकेको छ । हामीले सबै प्रक्रिया प्ररा गरेर निर्वाचन समितिलाई फाइल पेश गरिसकेका छौं । चैतको १० गते सम्म उम्मेदवारीको नामावली प्रकाशित हुन्छ ।’

निर्वाचनमा नेपाली कांग्रेसको संस्थापन ईतरको प्रजातान्त्रिक व्यवसायी समूह (टेकबहादुर भण्डारी समूह), नेकपा एकीकृत समाजवादीको नेपाल राष्ट्रिय उद्योग व्यवसायी संघ र नेकपा एमालेको नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघ, निर्वाचनमा एक भएर निर्वाचनमा होमिने संकेत गरेका छन् ।

संघका अध्यक्ष रावतले संघले पार्टीले आदेश दिए अवज्ञा गर्ने प्रष्ट पारे । उनले व्यवसायीहरुले नै नेता र पार्टी पालेको बताउँदै पार्टी र नेता रिसाउँदा पनि आफुहरुलाई कुनै फरक नपर्ने ठोकुवा गरे ।

संघको तोकिएको निर्वाचन कुनैपनि हालतमा नरोकिँने भन्दै निर्वाचन गर्नका लागि आवश्यक सम्पूर्ण डकुमेन्टहरु निर्वाचन समितिलाई बुझाईसकेको उनले दाबी गरे ।

संघमा असन्तुष्ट पक्षहरुवाट लगाईएको ताला नखुल्दा पनि निर्वाचन नरोकिने अध्यक्ष रावतले प्रष्ट पारे । उनले आगामी चैत १० गतेसम्म संयुक्त व्यवसायी समूहका सवै उम्मेदवारहरुको नाम सार्वजनिक हुनेसमेत जानकारी दिए ।

तपाईको प्रतिक्रिया