करिष्माले भनिन ‘ओलीको कुरा सुनेर कहिल्यै थाक्दिनँ’
काठमाडौं, ८ चैत्र ।
नायिका करिष्मा मानन्धर नेकपा एमाले प्रवेश गरेकी छन् । मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले उनलाई पार्टीमा प्रवेश गराएका हुन् ।
नायिका मानन्धर यसअघि बाबुराम भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्ति नेपालमा पनि आवद्ध थिइन् । तर उनले उक्त पार्टी छाडेको लामो समय भइसकेको थियो ।
आफू एमालेमा रहेर राजनीति गर्ने निर्णयमा पुगेको करिष्माले मंगलबार बताइन् । अरू धेरै पार्टीहरूसँग निकट भए पनि एमाले रोज्नुमा अध्यक्ष ओलीको क्षमता र प्रतिवद्धता रहेको उनले सुनाइन् । ‘मैले अध्यक्ष ओलीलाई फुर्काउन भनेको होइन । नेता भनेको जनतालाई भिजन देखाउने मानिस हो ।
त्यो म ओलीमा पाउँछु,’ उनले भनिन्, ‘छ महिनाको अवधिमा मैले ओलीसँग २ पटक भेटेँ । उहाँको कुरा सुनेर म कहिल्यै थाक्दिनँ । यति उत्साहजनक र प्रेरणादायी कुरा गर्नुहुन्छ ।’ उनले आफू कुनै पदका लागि भन्दा पनि एमाले कार्यकर्ता हुनका लागि पार्टीमा आएको बताएकी थिइन् ।
