जसले सहकारी संस्था स्थापनामा संघर्ष गरे
बमबहादुर विसी/अध्यक्ष,
वीरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्था, सुर्खेत
भनिन्छ, असफलता नै सफलताको प्रतिक हो । अर्थात जो असफल हुन्छ, उसैले नै जीवनमा सफलताको स्वाद चाख्न पाउँछ । यस्तै भयो बमबहादुर विसीको जीवनमा पनि । दुर्गम गाउँमा जन्मिएका उनले पढाइमा धेरै संघर्ष गरे । विद्यालय शिक्षामा महत्वपूर्ण मानिने एसएलसी परीक्षासमेत दिन नपाउँदा पनि उनले हार खाएनन् । बरु एसएलसी पास गरेरै छाडे । गाउँमा युवाहरु बेरोजगार बनेको देखेपछि उनले रोजगारी सिर्जनाको योजना पनि बनाए । अनि गाउँकै युवाहरुसँग मिलेर सहकारी संस्था दर्ता गरे । हाल वीरेन्द्रनगरमा रहेको वीरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष भएर उनले काम गरिरहेका छन् । आजको जम्काभेटमा उनै विसीको संघर्षबारे हाम्रा सहकर्मी टेकराज केसीले कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :
घरको काम सकेर स्कुल
बुवा देउमल बुढा र आमा कलादेवी बुढाको कोखबाट विसं २०२७ साल फागुन ११ गते अछाम जिल्लाको तुर्माखाँद गाउँपालिका वडा नम्बर ३ चिउराखाँदमा बमबहादुर विसीको जन्म भयो । उनी घरको माइलो छोरा हुन् ।
उनका बुवा कृषि कर्म गर्थे । मध्यम परिवारमा जन्मिएका उनको बाल्यकाल गाउँमै वित्यो । सानो कक्षा उनले बसुन्धारा मावि फालपाटामा पढे । कक्षा ७ सम्म त्यही विद्यालयमा पढेका उनले कक्षा ८ र ९ भने सदरमुकाम मंगलसेनमा पढेका हुन् । उनी घरको काम सकेर विद्यालय गएर पढ्ने गर्थे । पढाइलाई नै पहिलो प्राथमिकता राख्ने विसीले समाजकोसमेत चिन्तन गर्ने गर्दथे ।
एसएलसी परीक्षा दिन पाएनन्
उनी ९ कक्षापछि पढ्न कैलाली गए । उनले जागिर गरेर पढ्न थाले । उनले त्यहाँ सडक विभागमा काम गर्थे । २०४४ सालको कुरा हो, उनको एसएलसी परीक्षा हुने बर्ष थियो । त्यतिबेला एसएलसीलाई फलामेढोका भनिन्थ्यो ।
काम गर्दै पढ्दै गरेका उनलाई परीक्षाको नजिकै गोदावरीमा सरुवा गरियो । अनि उनले एसएलसीको परीक्षा नै दिन पाएनन् । त्यसपछि उनी काठामाडौं गए । त्यहाँ उनले आफ्नो पढाइको लागि गार्मेन्ट उद्योगमा काम गर्दै १० कक्षामा पढ्न सुरु गरे ।
काठमाडौंमा पढेका उनले देशको राजनीतिक उतारचढाव एकातिर थियो भने अर्कोतिर उनले कमाएको पैसा पनि हरायो । शुल्क तिर्न नपाएपछि एसएलसी दिन पाएनन् । विसी २०४६ को जनआन्दोलनमा लागे ।
बहुदल प्राप्तपछि उनी आफ्नै जिल्ला अछाम फर्किएर आए । अनि उनले सिद्धेश्वरी मावि धमारीमा १० कक्षामा नाम लेखाए । त्यही माविबाट २०४९ सालनमा एसएलसी पास गरे ।
अनि उच्च शिक्षा
विसी पढाइमा धेरै मेहनत गर्थे । उनले आफ्नो पढाइलाई निरन्तरता दिए । इन्टर पढ्न उनी फेरि काठमाडौं गए । काठमाडौंको आरआर क्याम्पसबाट २०५३ सालमा इन्टर गरे ।
त्यसपछि सुर्खेतको तत्कालिन वीरेन्द्रनगर बहुमुखी क्याम्पसबाट २०६३ सालमा विए पास गरे । २०६६ विएड पनि गरे । विसीले २०७६ सालमा वीरेन्द्रनगर बहुमुखी क्याम्पसबाट नै मास्टर्स गरे । अनि मध्यपश्चिम विश्वविद्यालयबाट आइआरमा पनि उनले मास्टर्स गरेका छन् ।
राजनीतिमा सक्रिय
२०४६ सालको जनआन्दोलन र शिक्षा क्षेत्रको वेथितिसँगै विकास हुन नसक्नुलाई उनले गहिरो रुपमा लिएर चिन्तन गरेका थिए । विद्यार्थी हुँदादेखि नै राजनीति शुरु गरे । क्याम्पस पढ्दा उनले विद्यार्थीको हकहितको लागि आवाज उठाउने काम गर्थे । विसी २०४९ सालमा अनेरास्ववियु अछामको अध्यक्ष बने ।
विद्यार्थीका हकहितको लागि खरो रुपमा उत्रिने उनले धेरै काम गरेपछि २०५२ सालमा एमाले पार्टीको तत्कालिन तुर्माखाँद गाउँ कमिटीको प्रमुखको जिम्मेवारी पाए ।
उनले राजनीतिमा अनुभवसँगै जनताका समस्याहरु अझै नजिक भएर बुझे । उनलाई अझै धेरै जनताको जीवनस्तर सुधार हुनुपर्छ भन्ने लाग्यो । समाजको गरिबी, बेरोजगारी, र विभेदको अन्त्य गर्ने संकल्पका साथ उनले काम गर्न थाले ।
सहकारी जन्माउने त्यो घटना…
२०५४ सालको दिपावलीमा गाउँका युवाहरु तास खेलिरहेका थिए । तास खेल्नुको कारण उनले बेरोजगारी भएको ठान्थे । उनले त्यसले बिकृतीको रुपमा लिँदै त्यसकोविरुद्धमा उनिसहित सचेत २१ जना व्यक्तीले समुह बनाएर सचेतना फैलाउन निर्णय गरे ।
त्यो समुहले सचेतनाका काम पनि गर्यो । अनि त्यही समुहलाई सहकारीमा रुपान्तरण गर्दै चेतना वचत तथा ऋण सहकारी संस्था दर्ता गरियो । त्यसको संस्थापक नै विसी थिए ।
त्यसमा दुई बर्ष सचिव भएका उनले सहकारी क्षेत्रमा राम्रो काम गरेपछि अछाम जिल्लाको जिल्ला बचत संघको अध्यक्षको जिम्मेवारी दिइयो । २०६३ सम्म जिल्लाको नेतृत्व गरेका उनले सहकारी सुधारका धेरै योजनाहरु ल्याए । एक गाविस, एक सहकारी अभियान चलाएका उनले सहकारी शिक्षा अध्ययन भन्ने कितावसमेत लेखेर सार्वजनिक गरे ।
अछामका विद्यालयहरुमा कक्षा ९ मा ऐच्छिक विषयको रुपमा त्यो किताब पठनपाठन गराइयो । त्यसले सहकारीप्रति नागरिकको आकर्षण बढ्यो । द्वन्द्वकालमा उनी सुर्खेतमा आए । अनि सुर्खेतको वीरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्थाको सदस्य हुँदै सल्लाहकारको रुपमासमेत काम गरेका विसी २०७३ सालबाट उक्त सहकारीको अध्यक्ष भएर काम गरे ।
उनी अहिले पनि सहकारीको अध्यक्ष छन् । उनि सहकारीमा आएपछि धेरै सुधारका काम गरेका छन् । अहिले सहकारीमा १८ हजार पाँच सय भन्दा धेरै सेयर सदस्य छन् भने एक अर्ब १३ करोड पुँजी रहेको छ । कृषि र व्यवसायमा सहकारीले ऋण लगानी गरिरहेको छ । यसका सेवा केन्द्र १२ वटा ठाउँमा रहेका छन् । ८५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।
जीवनमा संघर्ष
हरेक काममा चिन्तन गरेर काम गर्ने उनले आफ्नो बाल्यकालदेखि नै संघर्ष गर्दै आएका हुन् । जागिर गर्दै पढेका उनले धेरै पटक एसएलसी दिन नपाउँदा पनि आफ्नो पढाइ र लक्ष्यलाई बिर्सेनन् ।
आफ्नो शिक्षा, राजनीति, सहकारी क्षेत्र र परिवारलाई सँगै लिएर जाँदा हरेक पाइलामा चुनौतीको सामना गर्नुपर्यो । त्यही संघर्षले अहिले विसीलाई सफल बनाएको छ । उनी अहिले पनि राजनीति र सामाजिक क्षेत्रमा अग्रसर भएको हुँदा समाज रुपान्तरणका लागि आफुलाई समर्पित गर्ने उनको आगामी योजना छ ।
