लघु कथा – पुरस्कार !

मिनराज पन्त/लघुकथा समाज, कर्णाली प्रदेश

बिद्यालयमा यस बर्षको बार्षिक उत्सव तथा अभिभावक भेलाको तयारी धुमधामले चल्दै थियो । केटाकेटीहरु कोहि नाचगान, कोहि खेलकुद र कोहि अन्य अतिरिक्त क्रियाकलापमा सक्रिय देखिन्थे भने शिक्षकहरु भने त्यसैको तयारीमा जुटेका देखिन्थे । हप्ता दिनसम्मको कसाकस पछि त्यो दिन पनि आई पुग्यो ।बिद्यालय दुलही झै ध्वजा पताका र फूलले सजिएर पाहुनाहरुलाई स्वागत गर्न तम्तयार देखिन्थ्यो ।

प्रमुख अतिथिको आगमन सङगै कार्यक्रम समयमा नै सुरु भयो ।प्रतिबेदन पढियो । नृत्य र प्रतिभाहरु प्रस्तुत भए ।विभिन्न बिधामा धेरै बिद्यार्थीहरुलाई पुरस्कार बितरण गरियो । बिद्यालयको प्रगतिमा सबैले दिल खोलेर प्रशँसा गरे । विशेषतः अब्बल बिद्यार्थी उत्पादन गरेकोमा शिक्षकहरुको खुबै चर्चा चल्यो । कार्यक्रमको उत्तरार्ध तिर अब एउटा मात्र तर धेरै महत्त् वपूर्ण बिधाको घोषणा हुन बाकि थियो । त्यो थियो यस बर्षको सर्बाेत्कृष्ट शिक्षकको ।अगाडिबाट शिक्षकको नाम सुन्ने बित्तिकै गडगडाहट तालि बज्यो बजीरयो ।

केटाकेटीहरु आफूलाई मन पर्ने शिक्षक छनौट भएकोमा खुशीले गदगद भए । प्रमुख अतिथिको आसन ग्रहण गरिरहनु भएका नगरशिक्षाका प्रमुख र अतिथि मध्येका शिक्षक महासङघका प्रतिनिधिबाट दोसल्ला ओढाई प्रशँसा पत्र र केहि नगद पुरस्कार बितरण गरियो । सबै ठाउँमा यस्तै शिक्षकको आबश्यकता भएको बताउदै यसैकारण शिक्षामा सुधार आएको तथा आफूबाट सदा सहयोग रहने प्रतिबध्दता समेत ब्यक्त गरियो । सामाजिक सन्जालमा समेत बधाईको ओइरो लाग्यो ।

आज पुरस्कृत भएकोमा ऊ आफै दङ्ग फुरुङग छ । कार्यक्रम सकेर घर फर्कन्छ । परिवारको अघि उभिएर आफ्नो बयान आफै गर्न थाल्छ । देख्यौ ? मेरो कति महत्त्व रहेछ, तिमीहरूले पो मलाई मान्छे गन्दैनौ ? बाहिर कत्रो कदर छ मेरो ? आफ्नो बयानको आफै नालिबेलि लगाउछ । टेलिभिजन खोलेर स परिवार सामाचार हेर्न तम्तयार हुन्छन् । टिभि अगाडि उभिने बित्तिकै एक्कासि उसको खुशी भुइँभरि पोखिन्छ ।आकाश खसे झै लाग्छ उसैको शिरमाथि ।

चिडचिड पसिना काडेर भुइँमा थचक्क बस्छ । छोराछोरीले सम्हाल्छन् । उता टिभिमा भने समाचार बाचिकाले समाचार दोहोर्याई रहन्छिन,,, बिगत लामो समयदेखि सामुदायिक बिद्यालयमा कार्यरत स्थाई सेवा बाहेकका शिक्षकहरु परिबर्तित समय र बिद्यार्थीको चाहना अनुरुप योग्य नभएको ठहर गरी उनीहरूको सेवालाई निरन्तरता दिन असमर्थ रहेको ब्यहोरा जानकारी गराउदै हालसम्मको सेवाकालागि धन्यवाद सहित यसबाट सम्बन्धित पक्षलाई पर्न गएको नकारात्मक प्रभावकालागि शिक्षा मन्त्रालय क्षमा प्रार्थि छ ।

तपाईको प्रतिक्रिया