‘वडाबासीले मुल्याकंन गर्नेगरी काम गरेका छौं’

नन्दलाल शर्मा/वडाध्यक्ष
वीरेन्द्रनगर नगरपालिका–११, सुर्खेत

यतिबेला स्थानीय तहको निर्वाचनतका लागि माहोल तातिन थालेको छ । अर्थात गाउँका सिंहदरबार भनिने स्थानीय तहमा नयाँ जनप्रतिनिधि चयन गर्नका लागि चुनाव घोषणा भइसकेको छ । आउँदो बैशाख ३० गते हुने निर्वाचनको प्रचार पनि सुरु भइसकेको छ ।

त्यसकारण पनि यसअघि निर्वाचत भएका जनप्रतिनिधिको पाँच बर्षको कार्यकाललाई मुल्याकंन गर्न थालिएको छ । आखिर हालका जनप्रतिनिधिहरुले यो अवधिमा के प्रगति गरे ?

चुनावको बेला जनतासँग गरेका बाचाहरु पूरा भए त ? यो अवधिमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ११ मा कस्ता काम भए ? यही विषयमा केन्द्रीत रहेर वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष नन्दलाल शर्मासँग हाम्रा सहकर्मी टेकराज केसीले कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :

हिजोआज के गर्दै हुनुहुन्छ ?
हाम्रो कार्यकालको यो अन्तिम बर्ष हो । वडामा अहिले संचालित योजनाहरुको कार्यान्वयनमा जोड दिएका छौं । विशेषगरी योजनाहरुको अनुगमन गर्ने काम भइरहेको छ । जनताका दैनिक आवश्यकता पुरा गर्नेगरी पाएको जिम्मेवारीमा नै व्यस्त छु ।

वडामा विकासको अवस्था कस्तो छ ?

वडामा सडक निर्माण भएका छन् । एउटा विद्यालय समायोजन गरेका छौं । शिव मावि धुलियाबिटमा समायोजन भएको उक्त विद्यालयको लागि जग्गा हस्तान्तरण गरेका छांै । वडामा भौतिक पूर्वाधारका कामहरु जारी छन् ।

वडाको खानेपानी समस्या समाधानको लागि डीपबोरिङ खन्ने काम भइरहेका छन् । नागरिकलाई आत्मनिर्भर बनाउन विभिन्न सीपमुलक तालिम संचालन भइरहेका छन् । अन्य भौतिक पूर्वाधारको काम पनि चलिरहेको छ ।

यसपालीको बजेटका प्राथमिकता के छन् ?
हामीले जनताको लागि आवश्यक सबै क्षेत्रलाई नै प्राथमिकता दिएर काम गरिरहेका छौं । सडक सुधारका काम, खानेपानी, शिक्षा, स्वास्थ्य क्षेत्रमा हामीले प्राथमिकता दिएर काम गरिरहेका छौं ।

विशेषगरी वडा सरकार भनेको चुलोको सरकार भएकाले पनि जनताको पहिलो सेवा लिने ठाउँ पनि यही सरकार हो । त्यसैले हामीले सबै आवश्यकता पुरा गर्ने प्रयासका साथ बजेट कार्यान्वयन गरिरहेका छौं ।

काम गर्दा कस्ता चुनौती भोग्नुभयो ?
मलाइ त त्यस्तो कुनै चुनौती नै लागेन । किनकी यही क्षेत्रमा ३० बर्षदेखि काम गरेको हुँदा आउने चुनौतीको सामना पनि गर्नुपर्छ भन्ने हुन्छ । तथापि केही चुनौतीको सामना गर्नुपर्यो ।

पहिलो त बाटो बनाउने क्रममा जग्गाको विवाद धेरै देखिने गरेको छ । दोश्रो भनेको खोला आसपासमा बस्ने नागरिकलाई बाढी पहिरोबाट जोगाउनु अर्को चुनौती छ । यी कुराहरु जनताले वडा सरकार समक्ष ल्याउनुहुन्छ, त्यो समस्या समाधान गर्न पाउनु हाम्रो अवसर पनि हो ।

तपाइँको वडामा मुख्य समस्या के छ ?
हाम्रो वडाको मुख्य समस्या भनेको सडक निर्माण गर्दा जग्गाको विवाद हुने समस्या छ । त्योसँगै वडामा सुकुम्बासी समस्या पनि छ । त्यो समस्या समाधानको लागि आयोगले काम गरिरहेको छ । मलाइ लाग्छ, त्यो समस्या अब समाधान हुन्छ की ।

तपाइँ निर्वाचित भएपछि वडामा के परिवर्तन भयो ?
यो नागरिकले मुल्याकंन गरिरहेकै होलान् । हामी निर्वाचित भएर आउनुभन्दा र अहिलेको अवस्थामा धेरै फरक भएको छ । सबै टोलसम्म गतिला बाटो थिएनन्, अहिले हामीले ३० मिटर चाडाइको चक्रपथ सम्पन्न गर्यौ । जंगलमा भएको अतिक्रमणलाई रोक्यौं ।

खानेपानीको समस्या समाधान भएको छ । सिंचाइ सुविधाका लागि हामीले डीपबोरिङ गरेर त्यो समस्या पनि समाधान गरेका छौं । विभिन्न कृषि योजना ल्याएर आफ्नै बारीमा तरकारी फलाएर खाने बनाएका छौं किसानलाई ।

अंग्रेजी शिक्षाको सुरुवात तल्लो कक्षादेखि थालेका छौं । बाली बिज्ञान र पशुविज्ञान पढाइ शुरु गरिएको छ । स्वास्थ्यमा सबै नागरिकको पहुँच पुगेको छ । झुप्रामा रहेको वादी बस्तीमा खानेपानी उपलब्ध गराएका छौं ।

आफ्नै वडा कार्यालय बनाएर सेवा दिने तयारी गरिरहेका छौं । यी सबै हामी आएपछि शुरु गरेका हौँ । भौतिक पूर्वाधारहरु पनि धेरै भएका छन् ।

वडामा रोजगारी सिर्जना गर्ने योजना के छन् ?
हामीले रोजगारीभन्दा पनि स्वरोजगारमार्फत आत्मनिर्भर बनाउन खोजेका छांै । वडामा रहेका निम्नवर्ग, महिला, दलित र युवाहरुको लागि विभिन्न सीपमुलक तालिमहरु सिकाएर स्वरोजगारको बाटोमा लगाएका छांै ।

हाउसवाइरिङ, व्युटीपार्लर, होटलको कुक, सिलाइबुनाई लगायतका सीपहरु सिकाएर स्वरोजगारको बाटोमा लगाएका छौं । सँगै कृषि र पशुपालन क्षेत्रमा पनि हामीले युवाहरुलाई आकर्षित गर्न विभिन्न योजनाहरु ल्याएर स्वरोजगार गराइरहेका छन् । प्रधानमन्त्री र मुख्यमन्त्री रोजगार कार्यक्रम संचालन गरेका छौं ।

जनतासँग गरिएका बाचा पुरा भए त ?
हामीले जनताको बिचमा गरेका अधिकांश प्रतिवद्धता पुरा भएका छन् । बाँकी काम पनि पुरा गर्ने चरणमै छौं । मैले आफैले भनेर पनिभन्दा पनि जनताले मुल्याकंन गर्नुहुन्छ ।

तपाईको प्रतिक्रिया