अदुवाले मुल्य नपाएन , सुठो कुहियो ।

डोटी, २ फागुन ।
अदुवाको मुल्य नपाएर पिडामा रहेका डोटीका किसान फेरी पनि समस्यामा परेका छन् ।
आफुहरुले उत्पादन गरेको अदुवाको मूल्य नपाएपछि सुकाएर सुठो बनाउँदै गर्दा वर्षा र हिमपातका कारण किसान समस्यामा परेका हुन् ।
लगातारजसोको वर्षाका कारण सुठो सुक्न नपाउँदा कुहिन थालेको छ । किसानले मेहनतअनुसारको मूल्य नपाएपछि अदुवा सङ्कलन गरी गाउँमै सुठो बनाउन थालेका थिए वर्षाका कारण सुठो सुक्न नपाउँदा कुहिने अवस्थामा पुगेको बडिकेदार गाउँपालिकाका किसानको गुनासो छ ।


अदुवा तथा बेसारखेतीका लागि जिल्लाकै प्रसिद्ध मानिँदै आएको यो पालिकामा प्रायः सबै किसानले अदुवा र बेसार खेती गर्दै आएका छन् । किसानले उत्पादन गरेको अदुवा गाउँकै व्यापारीले सस्तो मूल्यमा किनेर सुठो बनाउन थाले पनि सुठो सुक्न नपाउँदै वर्षा भएका कारण घाटा हुने अवस्थामा पुगेको किसान नरेश मौनीले बताउनुभयो । मौनीका अनुसार अदुवालाई एकदेखि दुई हप्तासम्म चर्को घाममा सुकाएर सुठो बनाइन्छ ।
सुकाएर बनाइएको सुठो वर्षौँसम्म पनि नकुहिने तथा नबिग्रिने भएकाले किसानले उत्पादन गरेका अदुवा गाउँमै सुठो बनाउन थालिएको थियो । तर, त्यो पनि वर्षा र हिमपातका कारण कुहिन थालेपछि किसान चिन्तित भएका छन् ।

तपाईको प्रतिक्रिया