मध्यपश्चिम विश्वविद्यालय र तुङ्कु अब्दुल रहमान यूनिभर्सिटी कलेज मलेसियाबीच सम्झौता

सुर्खेत, २७ माघ ।
मध्यपश्चिम विश्वविद्यालय, नेपाल र तुङ्कु अब्दुल रहमान यूनिभर्सिटी कलेज, मलेसियाबीच शैक्षिक सहकार्यका लागि विहिबार एक अनलाईन समारोहवीच दुई पक्षीय सम्झौता सम्पन्न भएको छ । मध्यपश्चिम विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा. डा. नन्दबहादुर सिंह र तुङ्कु अब्दुल रहमान यूनिभर्सिटी कलेजका तर्फबाट समकक्षी अध्यक्ष प्रा. डा. ली जी वेइद्वारा सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो ।

उक्त अनलाईन सम्झौता हस्ताक्षर समारोहमा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. नन्दबहादुर सिंह तथा तुङ्कु अब्दुल रहमान यूनिभर्सिटी कलेजका अध्यक्ष प्रा. डा. ली जी वेइले आफ्नो मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालयका रजिष्ट्रार प्रा. डा. नारायण प्रसाद पौडेलले स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको संचालन उपकुलपति कार्यालयका सूचना प्रविधि विज्ञ उप–प्रा. पन्चदेव भट्टले गर्नु भएको थियो ।

उक्त कार्यक्रममा तुङ्कु अब्दुल रहमान यूनिभर्सिटी कलेजबाट उपाध्यक्ष सह–प्रा. से सोक क्वान लगायत निर्देशक, वरिष्ठ प्रबन्धक, सहायक रजिष्ट्रार लगायतको उपस्थिति रहेको थियो । समारोहमा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. नन्दबहादुर सिंहले सम्झौता पश्चात दुवै शैक्षिक संस्थाको शैक्षिक विकास हुनुका साथै दुई विश्वविद्यालयहरू बीच आपसी समझदारीलाई बढावा दिने विश्वास व्यक्त गर्नु भएको थियो ।

शैक्षिक संस्थाहरुले बौद्धिक क्रान्ति मार्फत अहिलेको विश्व समुदायको हितमा हुने कार्यमा लाग्नु पर्ने कुरा व्यक्त गर्नुभएको थियो । तुङ्कु अब्दुल रहमान यूनिभर्सिटी कलेजका अध्यक्ष प्रा. डा. ली जी वेइले सम्झौता पश्चात विद्यार्थी, प्राध्यापक तथा कर्मचारी आदानप्रदान हुने र उक्त कार्यमा आफ्नो पूर्ण साथ समर्थन रहने कुरा व्यक्त गर्नुभएको थियो ।


दुबै विश्वविद्यालयहरूले समानता र पारस्परिकताको आधारमा पारस्परिक हितका लागि विभिन्न सहयोगी गतिविधिहरू संचालन गर्न उक्त सम्झौता–पत्रमार्फत सहमत भएका छन् । जस अन्तर्गत विद्यार्थीहरुका लागि विभिन्न सहयोगी सिकाइका गतिविधिहरू संचालन गर्ने; विद्यार्थी र प्राध्यापक तथा कर्मचारी आदानप्रदान गर्ने; संयुक्त सम्मेलन, सेमिनार तथा गोष्ठीहरु संचालन गर्ने; संयुक्त अनुसन्धान, प्रकाशन, परामर्श गर्ने; विशिष्ट प्रयोगशाला उपकरण, शिक्षण सामग्री र विशेषज्ञतामा पहुँच पु¥याउने र छोटो शैक्षिक भ्रमणहरू गर्ने गराउने यो सम्झौताका उद्देश्य रहेका छन् ।

सम्झौता अवधि ५ वर्षको रहेको छ भने दुबै विश्वविद्यालयहरूको आपसी समझदारीमा थप अवधि बढाउन सकिने कुरा सम्झौता पत्रमा उल्लेख गरिएको छ ।मध्यपश्चिम विश्वविद्यालय एक स्वायत्त तथा सार्वजनिक उच्च शिक्षा संस्था हो जुन नेपाल सरकारद्वारा वि.स. २०६७ असार ०३ गते स्थापना भएको थियो । यो विश्वविद्यालय अन्तर्गत देश भर गरी सात ग्रेजुएट स्कूल, दश आंगिक क्याम्पस, दुई स्कूल र एक सम्बन्धन प्राप्त कलेज रहेका छन् ।

विश्वविद्यालयमा कृषि तथा वन विज्ञान, शिक्षा, इन्जिनियरिङ्, मानविकी तथा समाजशास्त्र, कानून, व्यवस्थापन, विज्ञान तथा प्रविधि लगायतका विभिन्न विषयमा पीएचडी, एमफिल, स्नातकोत्तर र स्नातक कार्यक्रमहरूमा करिब १२ हजार विद्यार्थी अध्ययनरत छन् । तुङ्कु अब्दुल रहमान यूनिभर्सिटी कलेज मलेसियाका प्रथम प्रधानमन्त्रीको नामवाट सन् १९६९ मा कलेजको रुपमा स्थापित भएको हो भने सन् २०१३ मा यूनिभर्सिटी कलेजमा स्तरोन्नति भएको थियो ।

यस यूनिभर्सिटी कलेजका देशैभरी गरी ६ वटा आंगिक क्याम्पसहरु रहेका छन् भने मुख्य क्याम्पस मलेसियाको राजधानी क्वालालम्पुरमा रहेको छ। विश्वविद्यालयमा विभिन्न विषयहरु जस्तै लेखा, वित्त र व्यापार, व्यावहारिक विज्ञान, कम्प्युटिङ र सूचना प्रविधि, वातावरण, इन्जिनियरिङ्, प्रविधि, सामाजिक विज्ञान र मानविकी आदि कार्यक्रमहरु अन्तर्गत पीएचडी, एमफिल, स्नातकोत्तर, स्नातक र डिप्लोमा तहमा करीब २८ हजार विद्यार्थी अध्ययनरत रहेका छन् । मलेसियाको इतिहासमा सबैभन्दा ठुलो र पुरानो, उच्च शिक्षा प्रदान गर्ने शैक्षिक संस्थाहरु अन्तर्गत रहेको छ भने २०२२ को अन्त तिर पूर्ण विश्वविद्यालयको रुपमा रुपान्तरण हुने कुरा समारोहमा अध्यक्ष प्रा. डा. ली जी वेइले उल्लेख गर्नुभएको थियो ।



ताजा समाचार