‘वैदेशिक रोजगार सुधारको अभियानबाट पछि हट्दिन’–श्रममन्त्री श्रेष्ठ

काठमाडौं, २५ माघ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीको क्षेत्र सुधार गर्ने अभियानबाट आफु पछि नहट्ने प्रतिवद्धता जनाउनुभएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बीच हुने संयुक्त कार्य समिति बैठकको तयारी सम्वन्धमा आज सरोकारवालाहरुसँग गरेको छलफलमा मन्त्री श्रेष्ठले वैदेशिक रोजगारीमा रहेका लाखौँ युवाको जीवन सुरक्षित बनाउनु सरकारको प्रमुख दायित्व रहेको बताउनुभयो ।

आफुले श्रमिकको हितमा परिणाममूखी काम गर्दै आइरहेको चर्चा गर्नुहुँदै मन्त्री श्रेष्ठले वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन सरोकारवालाहरुबाट सहयोगको अपेक्षा गरिएको बताउनुभयो । वैदेशिक रोजगारीमा जाने श्रमिकमाथि शोषण गर्नेहरुलाई सरकारले हदैसम्मको कारवाही गर्ने मन्त्री श्रेष्ठले बताउनुभयो । वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सरल, पारदर्शी र विश्वसनीय सेवा पुर्याउनुपर्ने उहाँको भनाई छ ।


नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बीच हुने संयुक्त कार्य समिति बैठकमा नेपालले न्युनतम पारिश्रमिक वृद्धि, सीप विकासमा लगानी, पुनर्एकीकरण तथा पुनर्स्थापना कार्यक्रम संचालनजस्ता बिषयलाई प्राथमिकता दिने मन्त्री श्रेष्ठको भनाइ छ । कार्यक्रममा मन्त्रालयका सचिव एकनारायण अर्यालले वैदेशिक रोजगारी क्षेत्रका कमि कमजोरी सुधार्न मन्त्रालयको नेतृत्व गम्भीर भएर लागेको बताउनुभएको थियो । नेपालले सातवटै प्रदेशमा संचालन गर्ने सीप विकास तालिम केन्द्रमा लगानी, श्रमिकको स्वास्थ्य वीमा, सामाजिक सुरक्षा योजनामा सहभागिता, न्युनतम पारिश्रमिक वृद्धि लगायत एजेण्डा नेपालले प्रस्तुत गर्ने अर्यालले बताउनुभयो ।

कार्यक्रमका सहभागिहरुले युएईमा रहेका नेपाली श्रमिकको न्युनतम पारिश्रमिक वृद्धि, सुरक्षित कार्य वातावरण तथा न्याय र सूचनामा सहज पहुँच सुनिश्चित गर्ने बिषयलाई नेपालले प्राथमिकता दिनुपर्ने बताएका थिए । नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बीच भएको श्रम समझदारी कार्यान्वयनमा सहजीकरण गर्न दुवै देशका प्रतिनिधि सम्मिलित संयुक्त कार्यसमितिको बैठक युएईमा हुँदैछ ।

वैदेशिक रोजगारीको प्रलोभनमा परी पर्यटन तथा अन्य भिसामा युएई गई अलपत्र परेका नेपालीहरूको व्यवस्थापनका विषयमा युएई सरकारसँग छलफल गर्न मन्त्री श्रेष्ठ नेतृत्वको टोली युएई जाँदैछ । सोही क्रममा नेपाल–युएई संयुक्त कार्यसमितिको बैठक पनि आयोजना हुनेछ ।



ताजा समाचार