कर्णालीको मन्त्रीपरिषद् समावेशी नहुँदा सांसदले गरे विरोध

सुर्खेत, २५ माघ ।
कर्णालीमा आइतबार भएको मन्त्रिपरिषद् विस्तारको घटनाले प्रदेशसभामा पनि प्रवेश पाएको छ । मन्त्रिपरिषद्मा एकजना पनि महिला नसमेटिएको र गैरसांसदलाई मन्त्री बनाइएको भन्दै सांसदहरुले कडा आलोचना गरेका छन् । सोमवार बसेको प्रदेशसभाको बैठकमा एमालेका सांसदहरुले गठबन्धनको आलोचना गरेका हुन् ।

मन्त्रिपरिषद् विस्तार गर्दा महिलालाई सहभागी नगराइएको र फौजदारी अभियोग लागेका गैरसांसदलाई मन्त्री बनाएको भन्दै एमाले सांसदलहरुले विरोध गरे । संसदको शून्य समयमा बोल्दै एमाले सांसद पद्मा खड्काले गठबन्धनमा रहेका दलले समावेशीताको सिद्धान्तविपरित काम गरेको र महिलालाई मन्त्री नबनाइएको भन्दै आलोचना गरिन् ।

संविधानको मर्मअनुसार काम गर्न नसक्ने वर्तमान गठबन्धन सरकारले पूर्णता पाए पनि परिणाम भने दिन नसक्ने उनको भनाइ छ । यस्तै एमाले सांसद मिनासिंह रखालले मूर्ति चोरेको अभियोगमा सजाय पाएका व्यक्तिलाई मन्त्री बनाएको भन्दै आपत्ति जनाइन् । अर्का एमालेकै सांसद राजु नेपालीले महिला सांसदलाई मन्त्री नबनाएर समावेशीताको सिद्धान्त नै गठबन्धनले मिचेर अगाडि बढेको टिप्पणी गरिन् ।

गैरसांसदलाई मन्त्री बनाउनु गठबन्धनको गलत कदम भएको एमाले सांसद सुशील थापाले बताए । यस्तै एमालेकै सांसद दल रावलले समावेशीतालाई ख्यालै नगरी मन्त्रिपरिषद् विस्तार गरिएको भन्दै आलोचना गरे । मुख्यमन्त्री जीवनबहादुर शाहीले आफू नियुक्त भएको तीन महिनापछि आइतबार मन्त्रिपरिषद्लाई पूर्णता दिएका थिए । मन्त्रिपरिषदमा महिला सहभागिता गराइएको छैन ।

तपाईको प्रतिक्रिया