राजविराज, २४ माघ ।
सप्तरीमा एक महिलालाई ज्युँदै जलाएर उनकै देवरले हत्या गरेका छन् । बोदे बर्साइन नगरपालिका–१ धनगढीकी २७ वर्षीया राजकुमारी साहको शरीरमा पेट्रोल छर्केर आगो लगाई उनकै देवरले हत्या गरेको भन्दै मृतकका बुवा बद्री साहले आइतबार उजुरी दिएका छन् । हत्याका आरोपित २१ वर्षीय परमेश्वर साह भने फरार रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी माधवप्रसाद काफ्लेले बताए ।
आगोमा जलेर गम्भीर घाइते भएकी राजकुमारीको उपचारका क्रममा शनिबार विराटनगरमा मृत्यु भएको र आइतबार कोशी अस्पताल विराटनगरमा पोष्टमार्टम भएको मोरङ प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय कडरबोनामा आइतबार साँझ उजुरी दिँदै मृतकका बुवा बोदे बर्साइन नगरपालिका–६ का बद्री साहले परमेश्वरविरुद्ध किटानी उजुरी दिएका छन् ।
उनका अनुसार शुक्रबार राजकुमारी चुल्होमा खाना पकाइरहेकी थिइन् । टोलकै पसलबाट परमेश्वरले बोतलमा खुल्ला पेट्रोल किनेर ल्याए । मोटरसाइकल समेत भएकाले पसलेले मोटरसाइकलमा हाल्न होला भनेर एक बोतल पेट्रोल बेचे । आवेशमा आएका परमेश्वरले अचानक अगेनाको छेउमा बसेकी राजकुमारीको शरिरमा पेट्रोल छर्के । चुल्होको आगोलाई पेट्रोलले तान्यो । राजकुमारीको शरीरमा हुरहुर्ती आगो बल्यो ।
उपचारकै क्रममा मृत्यु भएपछि बद्री साहले जिल्ला प्रहरी कार्यालय मोरङमा समेत उजुरी दिएको बताए । मोरङ प्रहरीकै सुझावमा आइतबार इलाका प्रहरी कर्याालय कडरबोना सप्तरीमा उजुरी दिएको उनले बताए । त्यसअघि राजकुमारीका श्रीमान रबिनकुमारले इलाका प्रहरी कार्यालय कडरबोनामा घाउँजाँचको निवेदन दिएका थिए । डीएसपी काफ्लेका अनुसार आगो लगाउनुको कारण खुलेको छैन । घटनापछि फरार आरोपितको खोजी तीव्रताका साथ भइरहेको उनले बताए ।
युग संवाददाता । । २४ माघ २०७८, सोमबार ०७:३२