वीरेन्द्रनगरमा प्रादेशिक रंगशाला, चौरजहारीमा क्रिकेट मैदान बन्दै

सुर्खेत, २३ माघ ।
कर्णाली प्रदेश सरकार खेलकुदका भौतिक पूर्वाधार निर्माणमा जुटेको छ । आगामी दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने उद्देश्यले प्रदेश सरकारले खेलकुदका पूर्वाधार निर्माणमा जुटेको हो । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गनै प्रदेश सरकारले पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको हो ।

यसअन्तर्गत दुई वटा ठूला खेलकुदका पूर्वाधार निर्माणको काम अगाडि बढेको छ । सुर्खेतको वीरेन्द्रनगरमा प्रदेशस्तरीय रंगशाला र रुकुमपश्चिमको चौरजहारीमा क्रिकेट मैदान निर्माणको प्रक्रिया अगाडि बढेको हो । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमै सञ्चालन गर्न मिल्नेगरी वीरेन्द्रनगरमा रंगशाला निर्माणको काम सुरु भएको छ । दुई महिनादेखि एमएसी एण्ड जीएसएल कम्पनीले रंगशाला निर्माणको काम सुरु गरेको हो ।

यो अवधिमा आयोजनाको आधारभूत काम सम्पन्न गरिसकेको निर्माण कम्पनीले जनाएको छ । रंगशालाको डिजाइन र निर्माणको काम पनि सँगसँगै अगाडि बढाइएको निर्माण कम्पनीका साइड इन्जिनियर गगन थापाले बताए । तोकिएकै समयमा निर्माण सम्पन्न गर्नेगरी काम भइरहेको उनको भनाइ छ । वीरेनद्रनगरमा बन्ने यो रंगशालमाा १० हजार दर्शक अट्नेछन् ।

यही रंगशालामा अन्तर्राष्ट्रियस्तरको भलिवल खेलमैदान, स्विमिङ पुल, फुटबल, ह्याण्ड बल, बास्केट बल र एथ्लेटिक्स लगायतका प्रतियोगिता संचालन गर्न सकिने छ । साढे दुई वर्षभित्र सम्पन्न गर्नेगरी एक अर्ब ५९ करोडमा रंगशाला निर्माणको ठेक्का सम्झौता भएको छ । त्यस्तै रुकुमपश्चिमकौ चौरजहारीमा पनि क्रिकेट रंगशाला बन्ने भएको छ ।

क्रिकेट रंगशाला निर्माण लागि प्रदेश सरकारले पाँच करोड रकम जिल्लामा पठाएको सामाजिक विकास मन्त्रालयको खेलकुद महाशाखाका प्रमुख जवहरलाल हमालले जानकारी दिए । चौरजहारमा डीपीआर र जग्गा प्राप्ति लगायतका कामहरु अगाडि बढेका छन् । सोही क्रिकेट रंगशालामा केन्द्र सरकार पनि लगानी गर्न इच्छुक भएको छ । क्षेत्रीय स्तरको क्रिकेट रंगशाला निर्माण गर्ने ५० करोड लगानी गर्न केन्द्र सरकार इच्छुक भएको हो ।


५० करोड लगानी गर्ने र रंगशालाको स्वामित्वसमेत आफैले लिने केन्द्र सरकारको तयारी छ । क्रिकेट रंगशाला निर्माणको काम पनि दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुनु अगाडि नै सक्ने लक्ष्य छ । कर्णाली प्रदेशमा हाल एउटा पनि गतिलो रंगशाला छैन । पूर्वाधारको अभावमा हालसम्म कर्णालीमा बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुन सकेको छैन । प्रदेश र जिल्ला स्तरका प्रतियोगिता पनि धुले मैदानमै आयोजना हुने गरेका छन् । खेलाडीहरूले पनि खुला चौर र धुलोमै अभ्यास गर्नुपर्ने बाध्यता छ ।

हरेक जिल्लामा एक करोड बजेट
खेलकुदका पूर्वाधार निर्माणका लागि प्रदेश सरकारले हरेक जिल्लामा एक÷एक करोड बजेट पठाएको छ । पूर्वाधार निर्माणका लागि जिल्लास्थित सामाजिक विकास कार्यालयमा उक्त बजेट पठाइएको सामाजिक विकास मन्त्रालयको खेलकुद महाशाखा प्रमुख जवहरलाल हमालले जानकारी दिए ।

जिल्ला खेलकुद परिषद्को अगुवाइमा खेल पूर्वाधार निर्माणका लागि सबै जिल्लामा बजेट पठाइएको हो । उक्त बजेटबाट जिल्लामा नयाँ खेलमैदान निर्माण, खेलमैदानका लागि डीपीआर र अघिल्ला आर्थिक बर्षमा अधुरा रहेका आयोजना पुरा गर्ने कार्यमा खर्च गर्न सकिने छ । ‘जिल्लामा पठाइएको बजेटले नयाँ र अधुरा आयोजनालाई पुरा गर्न सकिनेछ’ उनले भने, ‘यसै बजेटबाट नयाँ आयोजनाको लागि डीपीआरसमेत बनाउनु पर्नेछ ।’

अघिल्लो बर्ष प्रदेश सरकारले हरेक स्थानीय तहलाई खेल मैदान निर्माणका लागि १० लाख बजेट दिएको थियो । प्रदेशले एक स्थानीय तह, एक खेल मैदान निर्माणका लागि बजेट पठाए पनि ७३ वटा स्थानीय तहले मात्रै खेलमैदान निर्माण गरेका थियो । ५० प्रतिशत लगानी स्थानीय तहले बेहोर्नेगरी खेल मैदान निर्माण गर्न प्रदेश सरकारले बजेट दिएको थियो । तर लगानी अभाव भएका केही स्थानीय तहले भने खेल मैदान पुरा गर्न पाएका थिएनन् । सोहीकारण जिल्ला खेलकुद परिषद्को अगुवाइमा अुधरा आयोजनामासमेत खर्च गर्न सकिने छ ।

जिल्लाबाट आएनन् योजना
प्रदेश सरकार दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा जुटिरहँदा जिल्ला खेलकुद परिषद् भने पूर्वाधार निर्माणमा गम्भीर बनेका छैन । प्रदेश सरकारले कुनै जिल्लामा कुन पूर्वाधार निर्माण गर्न सकिन्छ भनेर जिल्लासँग योजना माग गरेको छ । तर कुनै पनि जिल्लाले योजना पठाएका छैनन् ।

‘एक जिल्ला, एक खेलकुद मैदान निर्माण गर्ने सरकारको योजना छ, तर सरकारलाई जिल्ला खेलकुद परिषद्हरुले गतिलो साथ दिएका छैनन्’ सामाजिक विकास मन्त्रालय स्रोतले भन्यो, ‘चालु आर्थिक बर्षको ६ महिना वितिसक्दा पनि जिल्लाबाट योजना आएका छैनन् ।’ हरेक जिल्लामा एउटा प्रदेशस्तरीय खेल पूर्वाधार बनाउनका लागि चालु आर्थिक बर्षमा डीपीआर तयार गर्ने सरकारको योजना छ ।



ताजा समाचार