कर्णाली सरकारमा चर्चाका पाँच मन्त्री र मन्त्रालय
सुर्खेत, २३ माघ ।
सरकार गठन भएको तीन महिनापछि आइतबार कर्णाली सरकारको मन्त्रिमण्डलले पूर्णता पाउँदैछ । मुख्यमन्त्री जीवनबहादुर शाहीले पाँच मन्त्री नियुक्त गर्ने भएका हुन् । विस्तारसँगै सरकारमा पाँच मन्त्री थप हुने भएका छन् । मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार मन्त्रालयको बाँडफाँट पनि टुंगो लागेको छ ।
नेपाली कांग्रेसबाट आन्तरिक मामिला तथा कानून मन्त्रालयमा हिमबहादुर शाही, सामाजिक विकास मन्त्रीमा यज्ञबहादुर बुढाक्षेत्री नियुक्त हुने चर्चा छ । नेकपा माओवादीबाट ऊर्जा तथा जलस्रोत मन्त्रीमा कार्चेन लामा तथा उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा गणेशप्रसाद सिंहलाई नियुक्त गरिने चर्चा चलेको छ । त्यसैगरी नेकपा एकीकृत समाजवादीबाट मन्त्री बन्न लागेका पदम रोकायालाई भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयको जिम्मेवारी दिइने बताइएको छ ।
नयाँ मन्त्रीहरूको सपथ आइतबार साँझ वा सोमबार बिहान गर्ने तयारी भइरहेको छ । यसअघि माओवादीबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा विन्दमान विष्ट र समाजवादीबाट भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा चन्द्रबहादुर शाही नियुक्त भइसकेका छन् ।
