सुर्खेतको आकाशमा अब प्याराग्लाइडिङ उडान हुने

सुर्खेत, २३ माघ ।
सुर्खेतमा आज (आइतबार) देखि पुनः प्याराग्लाइडिङ सुरु हुने भएको छ । सुर्खेतको वेलकम प्याराग्लाइडिङ र पोखराको बाबु एडभेन्चरले पुनः प्याराग्लाइडिङ सुरु गर्न लागेका हुन् । अबदेखि वीरेन्द्रनगरको बयलकाँडादेखि कृष्ण सामुदायिक बनसम्म नियमति प्याराग्लाइडिङको उडान हुनेछ । व्यवसायी पदमबहादुर शाहीको अगुवाइमा पुनः व्यावसायिक प्याराग्लाइडिङ सेवा सुरु गर्न लागिएको हो ।

शाहीले यसअघि २०७० सालमा पनि व्यावसायिक प्याराग्लाइडिङ सेवा सुरू गरेका थिए । तर दक्ष जनशक्तिको अभावका कारण केही समयमै प्याराग्लाइडिङ सेवा बन्द भएको थियो । अहिले बाबु एडभेन्चरलेसँग साझोदारी गरेर पुनः प्याराग्लाइडिङ सुरु गर्न लागेको शाहीले बताए ।


कर्णाली प्रदेशको पर्यटकीय क्षेत्रमा योगदान पु¥याउने उद्देश्यले वीरेन्द्रनगरमा व्यवसायी प्याराग्लाइडिङ सेवा सुरु गर्न लागेको प्याराग्याइडर सानोबाबु सुनारले जानकारी दिए । प्याराग्लाइडिङका लागि १२ जनाको चालकहरु वीरेन्द्रनगर आएका छन् । पर्यटकको चाप अनुसार दैनिक एकसयसम्म उडान भर्न सकिने छ ।

एक जनाले तीनहजार पाँचसय शुल्क तिरेर आकाशमा रमाउन सक्ने छन् । तर समूहमा प्याराग्लाइडिङ गर्नेहरुलाई भने विभिन्न अफरहरु राखिएको छ । जसमध्ये पाँच जनाको समूहलाई तीन हजार दुइसय, दशजनाको समूहलाई दुइ हजार आठसय र दशजनाभन्दा बढी आउनेलाई दुइहजार पाँचसय शुल्कमा प्याराग्लाइडिङमा रमाउन पाउने छ । उडान शुल्क बाहेक फोटो र भिडियो लिन चाहनेले भने थप एक हजार रुपैयाँ शुल्क तिर्नुपर्ने छ । प्याराग्लाइडिङमा २० मिनेटसम्म रमाउन सकिने छ ।



ताजा समाचार