जसले चर्को ब्याजबाट गाउँलेलाई मुक्ति दिलाए

वलवीर विक अध्यक्ष/सुनधारा कृषि सहकारी संस्था, भेरीगंगा–सुर्खेत

मानिसको सोच र व्यवहार परिवर्तनशील हुन्छ । यही परिवर्तनको चाहनाले गर्दा नै समाज पनि बदलिन्छ । हाम्रो समाजमा केही यस्ता व्यक्तिहरु छन्, जो आफ्नो जीवनमा मात्र नभइ अरुको जीवनमा पनि परिवर्तन ल्याउनका लागि मेहनत र कसरत गर्दछन् । त्यस्तै मध्येका एक हुन् सुर्खेतको भेरीगंगा नगरपालिकामा रहेको सुनधरा कृषि तथा पशु सहकारी संस्थाका अध्यक्ष वलवीर विक । जसले सानैदेखि मेहनत गरे। विभिन्न क्षेत्रमा काम गर्दै सहकारी क्षेत्रको बाटो समाए । उनी आफुमात्र सफल भएनन्, समाजका धेरै व्यक्तिहरुलाई आत्मनिर्भर बनाउने अभियानमा जुटेका छन् । आजको जम्काभेटमा हाम्रा सहकर्मी टेकराज केसीले उनै विकसँग कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :

घाँसदाउरा गर्दै पढे
बुवा चित्रे विक र आमा पिनसरी विकको कोखबाट २०४६ साल असार ५ गते सुर्खेतको गुर्भाकोट नगरपालिकास्थित धारापानीमा वलवीर विकको जन्मभयो । उनी घरका कान्छा छोरा हुन् । उनका तीन भाई र तीन बहिनी छन् । उनको परिवार कृषि कर्ममा निर्भर थियो । उनको बाल्यकाल भने सुर्खेतको भेरीगंगा नगरपालिकामा वितेको हो । वलवीर १ बर्षको हुनेबेला परिवार भेरीगंगा वडा नम्बर ७ मा बसाइ सरेर गयो । अनि उनको बाल्यकाल त्यहीँ वित्यो ।

उनले सानो कक्षा पनि त्यहीँ पढेका हुन् । कक्षा ५ सम्म भेरीगंगा नगरपालिका वडा नम्बर ५ मुलपानी प्राविमा पढे । ६ कक्षादेखि भने उनले जनज्योति माध्यमिक विद्यालय झिम्नीमा पढे । त्यही माविबाट २०६३ सालमा उनले एसएलसी पास गरे । उनको परिवार सामान्य थियो । घरको उत्पादनले मात्र खान पुग्थेन । उनका बुवाआमाले अर्काको काम गरेर पढाए । सानैदेखि संघर्ष गर्न जानको वलवीरले घरमा हुँदा जोत्ने, खन्नेदेखि घाँसदाउरा काट्ने काम गरेर आफ्नो पढाइ गरेका हुन् । एसएलसी पास भएपछि उनी पढाइलाई निरन्तरता दिन वीरेन्द्रनगर आए। उनले सुर्खेत क्याम्पस शिक्षामा विएड गरे । यहाँ पढ्दा पनि उनले धेरै मेहेनत गर्थे ।

काम गरेर पढाइलाई निरन्तरता
उनले आफ्नो उच्च शिक्षा हासिल गर्नेबेला धेरै संघर्ष र मेहेनत गरे । कहिले उनलाई पैसाको अभाव हुन्थ्यो भने कहिले अन्य समस्या । समस्यासँग जुँधिरहेका उनले सेल्समेन भएर काम गर्ने मौका पाए । दुई बर्षसम्म सेल्समेन भएर काम गर्दै आफ्नो पढाइलाई पुरा गरे । बिहान क्याम्पस जान्थे । दिनभर काममा व्यस्त हुन्थे । कहिले त सुर्खेतका विभिन्न ठाउँमा गएर सेल्स गर्नुपर्ने पनि हुन्थ्यो । यति हुँदा पनि आफ्नो पढाइ भने उनले छोडेनन् ।

जातिय विभेदविरुद्ध

उभिए उनी दलित समुदायमा जन्मिए। सानैदेखि दलित समुदायमाथि भएको थिचोमिचो सहन सक्थेनन् । जुनसुकै क्षेत्रमा पनि दलित समुदायमाथी विभेद भएको उनले देख्थे । त्यसको विरोध गर्थे । तर सुनुवाइ भने हुन्थेन। उनी कहिलेकाँही सोच्थे, मान्छेले मान्छेलाई नै किन यस्तो विभेद गर्छन् होला ? प्रश्नहरु जन्मिन्थे । तर यसको जवाफ उनले पाएनन् । विद्यालयमा पढ्दा पनि उनी यस्ता समस्याकाविरुद्ध विभिन्न कार्यक्रममा सहभागि हुन्थे । अनि उनले सोचे यो सबै परिवर्तन गर्न त राजनीतिमा नै होमिनुपर्छ ।

राजनीतिबाटै समाज परिवर्तन गर्न सकिन्छ भनेर उनी राजनीतिमा लागे । विद्यार्थीकालदेखि नै राजनीति गर्न थालेका उनले युवाहरुलाई सचेत बनाउने काम पनि गरे । समाजमा जातिय विभेद गर्नुहुन्न भनेर उनले सचेतना जगाए । उनी राजनीति गर्नेक्रममा जिल्लाको नेतृत्व गर्दै अहिले जनता समाजवादी पार्टीको केन्द्रीय सदस्य भएका छन् । उनले राजनीतिबाट नै समाज परिवर्तन गर्ने अठोट अहिले पनि राखेका छन् ।

चर्को व्याजबाट छुट्कारा
उनको समुदायमा अधिकांश व्यक्तिहरु गरिबीको रेखामुनी थिए । उनीहरुले घरखर्च टार्न साहुहरुबाट चर्को व्याजदरमा ऋण लिनुपथ्र्यो । जसले गर्दा गाउँलेहरु ऋणमा डुब्दै गएका थिए । अनि वलवीरकै सक्रियतामा गाउँमा एउटा सहकारी स्थापना गर्न कृषि समुहहरुलाई एकिकृत गरियो । २०६९ सालमा सुनधारा कृषि तथा पशु सहकारी संस्था भेरीगंगा नगरपालिकाको वडा नम्बर ६ मा स्थापना गरियो । २५ जनाबाट शुरु भएको यो सहकारीमा अहिले अहिले पाँचसय दुई जना शेयर सदस्य छन् ।

त्यसमा ८५ प्रतिशत दलित समुदाय रहेका छन् । शुरुमा मानिसहरुलाई सहमत गराउन सहज थिएन । पछि बुझ्दै जाँदा मानिसहरु सहकारीमा आवद्ध हुनेक्रम बढ्यो । धेरै व्यक्तिहरुले सस्तो व्याजमा ऋण लिन थाले । अनि साहुबाट ऋण लिनुपर्ने बाध्यता हट्यो । उक्त सहकारीको अध्यक्ष रहेका उनकै पहलमा सिंचाइ कुलो निर्माण, खानेपानी निर्माण र कृषि, पशुपालनमा गोठसुधार गर्नेदेखि आत्मनिर्भरताको बाटोमा मानिसहरुलाई लगाइएको छ । अहिले सबैजना आत्मनिर्भर बनेका छन् । गाउँमा स्वजगारका अन्य कामहरु पनि भइरहेका छन् ।

जीवनमा संघर्ष
सानैदेखि संघर्ष गर्दै आएका उनले काम गर्दा लगनशिल भएर गर्छन् । सबै क्षेत्रमा काम गर्दा उनले धेरै संघर्ष गर्नुपर्यो । घरको काम गर्दै पढाइलाई निरन्तरता दिए । काम गर्दै र पढ्दै गर्दा धेरै संघर्ष गर्नुपर्यो । अर्कोतर्फ विभेदकाविरुद्ध लागेर काम गर्दा थुप्रे चुनौतीको सामना गर्नुपर्यो । धनीबाट गरिबहरु पीडित बनेको देख्दा उनले विरोध गर्थे । तर उनले उल्टै पीडा भोग्नुपथ्र्यो । धेरै दुखका बाबजुत पनि उनले आफ्नो संघर्षलाई निरन्तरता दिँदै सफल भए नै उनले अहिले गाउँ नै आत्मनिर्भर बनाएका छन् ।

अबको योजना
उनी सहकारीसँगै राजनीतिमा पनि सक्रिय छन् । उनको अबको योजना भनेको निम्न वर्गका जनताको जीवनस्तर उकास्ने हो । जुनसुकै क्षेत्रबाट पनि उनले समाजसेवा गर्ने योजना बनाएका छन् ।

तपाईको प्रतिक्रिया