पर्यटन क्षेत्रमा कोरोना महामारी : आएनन् पर्यटक, घट्यो आम्दानी

सुर्खेत, २१ माघ ।
कोरोना महामारी सुरु हुनुअघि वीरेन्द्रनगरमा रहेको प्रदेश स्तरीय संग्रहालयमा पर्यटकको घुइँचो नै लाग्थ्यो । सार्वजनिक विदाको दिनबाहेक संग्रहालयको अवलोकनका लागि कहिले विद्यार्थीहरु आउँथे त कहिले सर्वसाधारणहरु । २०÷२५ जना पर्यटक नआएको त दिनै हुन्थेन । तर कोरोना महामारीपछि संग्राहलय सुनसान जस्तै छ ।

कोरोनापछि आन्तरिक पर्यटकको संख्या ह्वात्तै घटेको छ भने एकजना पनि विदेशी पर्यटक यहाँ आएका छैनन् । वार्षिक १० हजारसम्म पर्यटक आउने संग्रहालयमा हिजोआज अवलोकन गर्न आउने पर्यटकको संख्या निकै न्यून छ । ‘ कोरोना अघिसम्म बार्षिक १० हजारसम्म पर्यटक आउँथे’ संग्रहालयका सूचना अधिकारी डवलप्रसाद शर्मा भन्छन्, ‘ कोरोनापछि पर्यटक ह्वात्तै घटेका छन् ।’ संग्रहालयको तथ्याङ्क अनुसार पछिल्लो २३ महिनाको अवधिमा जम्मा तीन हजार आठसय ८६ जना मात्रै पर्यटक अवलोकनका लागि आएका छन् । जसमध्ये २०७७ सालभर दुई हजार तीन सय ११ जना मात्रै पर्यटक आएका छन् । तिमध्ये पनि एक हजार दुई सय ८२ जना सर्वसाधारण छन् । बाँकी एक हजार २९ जना विद्यार्थी छन् ।

संग्रहालयको अध्ययन भ्रमणका लागि विद्यार्थीहरु आउने गरेका छन् । २०७६ को अन्त्यतिर पहिलो चरणको कोरोना संक्रमण फैलिएको थियो । २०७६ चैत ११ गतेदेखि देशभर लकडाउन सुरु भएको थियो । पहिलो चरणको कोरोनामा कम क्षति भए पनि लामो समयसम्म सार्वजनिक स्थलहरु बन्द भएका थिए । २०७६ चैतदेखि बन्द संग्रहालय ०७७ मंसिरको दोस्रो सातादेखि मात्रै खुला भएको थियो । त्यस्तै दोस्रो चरणको कोरोना महामारी सुरु भएपछि पुनः संग्रहालय बन्द भएको थियो । दोस्रो चरणको संक्रमण फैलिन थालेपछि २०७८ बैशाखदेखि असोजसम्म संग्रहालय बन्द भएको थियो । संग्रहालय खुला भएपछि त्यसपछि थोरै पर्यटकले मात्रै संग्रहालयको अवलोकन गरेका छन् ।

असोजदेखि माघ १५ गतेसम्म एक हजार पाँचसय ७५ जना पर्यटकहरु आएका छन् । यो अवधिमा नौ सय ७० जना सर्वसाधारण र ६ सय पाँच जना विद्यार्थीले संग्रहालय अवलोकन गरेको सूचना अधिकारी शर्माले बताए । संक्रमणको जोखिम बढेपछि पुनः यही माघ १५ गतेदेखि संग्रहलय बन्द गरिएको छ । संक्रमण सामान्य नहुँदासम्म संग्रहालय खुल्नेछैन । पर्यटक घटेसँगै संग्रहालयको आन्तरिक आम्दानी पनि घटेको छ । कोरोना महामारीपछि संग्रहालयको आन्तरिक आम्दानी आधा लाख पनि पुगेको छैन ।

दुई बर्षको अवधिमा सर्वसाधारणबाट २० हजार पाँचसय २० र विद्यार्थीबाट आठ हजार एकसय ७० रुपैयाँ प्रवेश शुल्क वापतको राजश्व उठेको छ । संग्रहालयमा प्रवेश गर्न विद्यार्थीले पाँच रुपैयाँ, सर्वसाधारणले १० रुपैयाँ, क्यामरा लिएर जानेले २० रुपैयाँ, सार्क राष्ट्रका नागरिकले ५० रुपैयाँ र सार्कभन्दा बाहिरका नागरिकले एक सय रुपैयाँ शुल्क तिर्नुपर्दछ । आम्दानी बढाउन प्रचार–प्रसारसँगै प्रवेश शुल्कमा पनि हेरफेर गर्ने संग्रहालयको तयारी छ ।

यो संग्रहालय २०५७ साउन २ गतेदेखि सर्वसाधारणका लागि खुला गरिएको हो । तत्कालीन मध्यपश्चिमाञ्चल क्षेत्रीय संग्रहालयका रूपमा स्थापना भएको संग्रहालय २०७५ असोज ५ गतेदेखि प्रदेश संग्रहालयका रूपमा रुपान्तरण गरिएको छ । हाल संग्रहालय प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय मातहतमा रहेको छ ।

संग्रहालयमा के–के हेर्न पाइन्छ ?
संग्रहालय आफैमा एउटा आकर्षक पर्यटकीय स्थल हो । जहाँ ऐतिहासिक घटनाक्रम र त्यससँग सम्बन्धित बस्तुहरु अवलोकन गर्न पाइन्छ । कर्णाली प्रदेश संग्रहालयमा पनि कर्णालीको मानव सभ्यता र ऐतिहासिक बस्तुहरु हेर्न पाइन्छ । जसका लागि संग्रहालयमा दुई वटा दर्शक कक्षहरु (ग्यालरी) छन् ।

जसमध्ये बायाँतर्फको ग्यालरीमा ऐतिहासिक मुद्राहरु, महत्वपूर्ण गरगहना, परम्परागत भाँडावर्तन, हातहतियार, परम्परागत नापतौलका एकाइगत सामग्रीहरू, डुंगाहरू, परम्परागत लोकबाजाहरू, मगर संस्कृति, परम्परागत भेषभूषामा सजिएका राउटे तथा थारू डायरोमा, काँक्रेबिहार उत्खनन् गर्दा भेटिएका तामाका सिक्काहरू हेर्न पाइन्छ ।

त्यस्तै दायाँतर्फको दोस्रो दर्शक कक्षमा कर्णाली प्रदेशको ऐतिहासिक र संस्कृति झल्काउने वस्तुहरू हेर्न पाइन्छ । त्यहाँ कलात्मक मूर्तिका अवशेषहरू, जुम्लाको कनकासुन्दरी मन्दिर तथा लामा गुफाबाट प्राप्त अभिलेख, लामा जातिका परम्परागत भेषभूषा, प्राचीन थाङ्का, जुम्लामा पाइएको काष्ठ मूर्तिहरू, शिवलिङ्ग, सुल्पा, मादल बनाउने सामग्रीहरू छन् । सोही ग्यालरीमा प्राचीन माटाका भाँडाका टुक्राहरू, तोरी पेल्ने काठको कोल, काठको मदुस, ढिकी, जाँतो, प्राचीन पानी घडी, माझी जातिसँग सम्बन्धित माछा मार्ने जाल, सुन चाल्न प्रयोग हुने काठका सामग्री लगायतका बस्तुहरु राखिएको छ ।

तपाईको प्रतिक्रिया