ताजा खबर
  

‘वडामा रहेका भूमिहीनलाई लालपूर्जा दिन बाँकी छ’

पदमबहादुर खत्री वडाध्यक्ष
भेरीगंगा नगरपालिका–८, सुर्खेत

गाउँका सिंहदरबार भनिने स्थानीय तहको नयाँ निर्वाचन चाँडै हुँदैछ । जनप्रतिनिधिहरुको पाँच बर्षको कार्यकाल सकिदै छ । यो अवधिमा स्थानीय तहले नागरिकका चाहना र अपेक्षाहरु पूरा गरेको दाबी गरिरहेका छन् । तर नागरिकले भने अपेक्षाअनुसार काम हुन नसकेको गुनासो गरिरहेका छन् । जनप्रतिनिधिको कार्यकाल सकिन अब केही महिना मात्र बाँकी छ । यसकारण पनि नयाँ निर्वाचनको बहस सुरु भएको छ । तर हालका जनप्रतिनिधिहरुले यो अवधिमा के प्रगति गरे ? चुनावको बेला जनतासँग गरेका बाचाहरु पूरा भए त ? यो अवधिमा सुर्खेतको भेरीगंगा नगरपालिका वडा नम्बर ८ मा कस्ता काम भए ? यीनै विषयमा केन्द्रीत रहेर भेरीगंगा नगरपालिकाको वडा नम्बर ८ का वडाध्यक्ष पदमबहादुर खत्रीसँग हाम्रा सहकर्मी टेकराज केसीले कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :

हिजोआज के गर्दै हुनुहुन्छ ?
वडामा रहेका विभिन्न समस्याबारे छलफल भइरहेको छ । ती समस्याहरुको समाधानको बाटो खोज्ने, जनताको आवश्यकता पूरा गर्नका लागि अपनाउने राण्नीतिका बारेमा छलफलसँगै जनप्रतिनिधिको हैसियतमा मैले पुरा गर्नुपर्ने जिम्मेवारी पुरा गर्न लागि रहेको छु ।

वडामा विकासको अवस्था के छ ?
हाम्रो वडामा हाल ठूलो योजनाको रुपमा डुङकोटमा पर्यटकीय क्षेत्र विकासको काम भइरहेको छ । त्यहाँ साढे चार करोडको लागतमा दलित संग्रहालय निर्माण गरिँदै छ । यस्तै एक करोड ३५ लाखमा हाम्रै वडामा स्वास्थ्यचौकीको भवन निर्माण भइरहेको छ । नगरपालिकाबाट एउटा रंगशाला निर्माण भइरहेको छ । त्यसैगरी हाम्रो वडाका अधिकांश ठाउँमा सडक, खानेपानी, सिँचाइ लगायतका अन्य पूर्वाधारका कामहरु पनि पुरा भएका छन् । आवश्यक भएको ठाउँमा यही बर्षभित्र हामीले सेवा सुविधा अझै विस्तार गर्छांै ।

यसपालीको बजेटका प्राथमिकता के छन् ?
हामीले सामाजिक विकास, पूर्वाधार विकास र स्वरोजगारमुखी कामको लागि बजेट परिचालन गरेर कार्यान्वयन गरिरहेका छौं । विशेषगरी नागरिकलाई आत्मनिर्भर गराउने र उनीहरुलाई स्वरोजगारमुखि बाटोमा लगाउनेगरी हामीले मुख्य रुपमा बजेट परिचालन गरेर कार्यान्वयन गरिरहेका छांै । सँगै अन्य साना विकासका आयोजनाहरु संचालन गर्नेगरी काम भइरहेका छन् ।

काम गर्नेक्रममा कस्ता चुनौती भोग्नुभयो ?
जनताले थुप्रै अपेक्षा गरेका थिए । हामी पनि विकासमा कायापलट गर्ने लक्ष्य बोकेर यो स्थानमा निर्वाचित भएका थियौँ । विकास नभएको होइन, विकास भएको छ । पहिलेकोभन्दा त धेरै कामहरु भएका छन् । तर जनताको अपेक्षा र हाम्रो लक्ष्य अनुसार हामीले काम गर्न धेरै चुनौतीको सामाना गर्नुपर्यो ।


पहिलो चुनीती भनेको तीन तहका सरकारको बिचमा समन्वयको अभाव भयो । आवश्यक पर्ने कानुनको अभावमा हामीलाई काम गर्न समस्या भयो । दोस्रो भनेको हामीले भने अनुसारको बजेट भएन । सबै आवश्यकता पुरा गर्ने र त्यही अनुसार योजना बन्ने हो । त्यो भएन । अर्को भनेको हामी संघीयतापछिको पहिलो जनप्रतिनिधि भएकाले पनि नयाँ अभ्यासले गर्दा काम गर्न केही चुनौती भए ।

कोरोना नियन्त्रणका प्रयास के छन् ?
अहिले तेस्रो चरणको कोरोना संक्रमण फैलिरहेको छ । हाम्रो वडामा करिब सबै नागरिकहरुले कोरोनाको खोप लगाइ सकेको अवस्था छ । प्रदेश सरकारले पनि हाम्रै वडामा होल्डिङ सेन्टर स्थापना गरेको छ । बाहिरबाट आउने मानिसलाई त्यहँ बसाल्ने गरेका छौं । नगरपालिकाको तर्फबाट र स्वयम् हाम्रो वडाको तर्फबाट पनि हामीले जोखिम नियन्त्रण गर्न छुट्टै अस्पतालदेखि विभिन्न जनचेतनाका कार्यक्रमहरु संचालन गरिरहेका छौँ ।

तपाइँको वडाको मुख्य समस्या के छ ?
विकास गरेर कहिले सकिदैन । मानिसका चाहना पुरा कहिल्यै हुँदैनन् । तथापि हाम्रो वडामा केही समस्या छैनन् भनेर मैले भन्न खोजेको होइन। हामीले विकासका अधिकांश कामहरु गरेका छांै । तर पनि अहिले मानिसहरुका आवश्यकता पुरा भएका छैनन् । समस्या भनेको यही हो ।

वडामा रोजगारी सिर्जना गर्ने योजना के छन् ?
हाम्रो बजेटको प्राथमिकता नै युवालाई स्वरोजगार बनाउने छ । हामीले आर्थिक अवस्था कमजोर भएका युवाहरु, बेरोजगार बसेका युवाहरु र महिलाहरुलाई वडाबाट नै विभिन्न सीपमुलक तालिम संचालन गरेर स्वरोजगार बनाएका छौं । अहिले महिला पनि अटो चलाएर आत्मनिर्भर भएका छन् । केही सिलाइबुनाइको काम गरिरहेका छन् ।

युवाहरु ग्यारेजको काम सिकेर प्रत्यक्ष आफ्नै रोजगारीमा जोडिनु भएको छ । हाम्रो वडा उत्पादनको दृष्टिले पनि धेरै राम्रो वडा हो । त्यसैलाई मध्यनजर गर्दै हामीले प्रत्यक किसानको घरमा घाँस काट्ने मेसिन र टोलटोलमा जोत्ने ट्याक्टरहरु उपलब्ध गराएका छौं । जसले गर्दा कृषितर्फ मानिसहरुको आकर्षण बढेको छ भने उत्पादन पनि बढेको छ । यसले धेरै मानिसहरुलाई स्वरोजगार बनाएको छ । अनि प्रधानमन्त्री, मुख्यमन्त्री रोजगार कार्यक्रममा पनि धेरै युवाहरुलाई हामीले रोजगारी प्रदान गर्ने गरेका छौं ।

जनतासँग गरिएका बाचा पुरा भए त ?
मैले जनताको बिचमा गरेका बाचाहरु पुरा गरेँ जस्तो लाग्छ । यो जनताले मुल्याङ्कन गरिरहनु भएको होला । मैले प्रतिवद्धता गरेको एउटा काम मात्र गर्न सकेको छैन । २०४० सालमा नापी भएका ६ सय कित्ता जग्गाको लालपूर्जा दिन्छु भनेको थिएँ । त्यो पुरा गर्न सकेको छैन । सरकारपिच्छे आयोग बन्दा समस्या भएको हो । अहिले पनि काम भइरहेको छ । यदी यो पटक गर्न सकिएन भने अर्कोपटकसम्म त्यो काम पनि पुरा हुन्छ ।

तपाइँ आएपछि वडामा मुख्य परिवर्तन के भयो ?
हाम्रो वडाका अधिकांश टोलमा बाटो पुगेको थिएन । ति सडकको स्तरोन्नति र ग्रावेल गर्ने काम भएको छ । विद्युत नपुगेका टोलमा विद्युत पुर्याएका छौं । टोलटोलमा आर्थिक आत्मनिर्भरताको काम हामी आएपछि भएको हो । शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा पहिलेकोभन्दा धेरै परिवर्तन भएका छन् ।



ताजा समाचार