सम्पादकीय : अन्धकार हटाउने योजना
हुनत विकास एक निरन्तर चल्ने प्रक्रिया हो । तर पनि विकासको गतिलाई मानवीय प्रयासबाटै तीव्रता दिन सकिन्छ । मानवीय प्रयासहरुकै कारण आज संसारका केही मुलुकले अपत्यारिलो रुपमा विकासमा फड्को मारिरहेका छन् । मानव जीवनलाई उनीहरुको प्रयासले थप सरल र सहज बनाएको छ । नागरिकको सम्मानपूर्वक बाँचन पाउने अधिकारलाई ती देशहरुले बढवा दिएका छन् । जहाँ भौतिक मात्र होइन, सामाजिक र आर्थिक विकासको गति पनि अगाडि बढीरहेको छ । तर नेपालमा भने राजनीतिक क्रान्ति धेरै भए । तर विकासका लागि त्यस्तो शक्ति पैदा हुन सकेको छैन । राजनीतिक व्यवस्था बदल्नका लागि नागरिकहरु राजनीतिक दलका नेताहरुलाई साथ दिन तयार भए । तर भौतिक विकास र आर्थिक विकासका एजेण्डालाई दलहरुले कमै प्राथमिकता दिएका छन् । विकास निर्माण दलहरुको मुल प्राथमिकतामा नपरकै कारण आज विकासको गति सुस्त बनेको छ ।
अहिले पनि नागरिकहरु आधारभूत सुविधाहरु उपभोग गर्न नपाउने अवस्थामा छन् । अहिले पनि कर्णालीका धेरै नागरिकले विजुली उपभोग गर्न पाएका छैनन् । दुर्गम जिल्ला र बस्तीका कुरा छोडौं । प्रदेशको राजधानी रहेको सुर्खेतको अवस्था दयनीय छ । वीरेन्द्रनगरका नागरिकले समेत राम्रोसँग विजुली बाल्न र प्रयोग गर्न नपाउने अवस्था छ । अझ ग्रामीण बस्तीहरुमा त विजुलीको सेवा नै पुगेको छैन । अहिले पनि सुर्खेतका बहुसंख्यक नागरिक विद्युतको पहुँचमा छैनन् । गाउँमा अहिले पनि नागरिक सोलार, दियालो र वैकल्पिक उर्जाको भरमा छन् । विद्युत सेवा उपलब्ध नहुँदा एकातिर नागरिक आधुनिक उज्यालोबाट बञ्चित छन् भने आर्थिक विकासमा पनि यसले अवरोध गरिरहेको छ । विद्युत नभएकै कारण उद्योगहरु पनि संचालन हुन सकेका छैनन् । विद्युतीय उपकरणको प्रयोग गर्न पनि ग्रामीण बासिन्दालाई समस्या छ । यस्तो अवस्था अन्त्यका लागि राजनीतिक दल र तिनका नेताहरुले आश्वासन नदिएका होइनन् । विजुलीको सेवा उपलब्ध गराउने आश्वासन बाँडेरै नेताहरु मन्त्री र सांसद बने । तर नागरिक अहिले पनि विजुलीको उज्यालो कुरिरहेका छन् ।
यसका लागि उनीहरुले प्रतिक्षा गरिरहेका छन् । नागरिकको विजुलीको उज्यालो उपभोग गर्ने र अन्धकारबाट मुक्ति पाउने चाहना पूरा गर्नका लागि सुर्खेतमा नयाँ योजना अगाडि सारिएको छ । नेपाल विद्युत प्राधिकरणको सुर्खेत वितरण केन्द्रले जिल्लामा ग्रामीण विद्युतीकरणका लागि आवश्यक बजेट व्यवस्था गरेको छ । जसअनुसार जिल्लाका विभिन्न ४६ वटा बस्तीमा विद्युत विस्तार गर्ने योजना बनाइएको छ । यसका लागि आवश्यक प्रक्रिया पनि थालिएको छ । यदी योजना कार्यान्वयन भएको खण्डमा जिल्लाका दुर्गम क्षेत्रमा बस्दै आएका नागरिकले बर्षौंदेखिको अन्धकारबाट मुक्ति पाउनेछन् । गाउँहरु उज्याला बन्नेछन् । स्थानीयको आर्थिक गतिविधिहरुमा पनि सहयोग पुग्नेछ । त्यसकारण यो योजना सफल बनाउन र तोकिएकै समयभित्र काम सम्पन्न गर्नका लागि नागरिक स्तरबाट आवश्यक खबरदारी आवश्यक छ । साथै स्थानीय तहहरुले पनि यसमा चासो र सहयोग गर्नु पर्दछ ।
यो पनि पढ्नुहोस :-
सुर्खेतका ४६ बस्तीमा बिजुली पुरयाइँदै
