कछुवा गतिमा नलगाड हाईड्रोपावर : ६ बर्षसम्म डीपीआर नै बनेन

जाजरकोट, २० माघ ।
चारसय १७ मेघावाट क्षमताको जलाशययुक्त नलगाड आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डिपीआर) हालसम्म बन्न सकेको छैन। आधा दशक वितिसक्दा पनि हालसम्म आयोजनाको डीपीआर नै निर्माण हुन सकेको छैन । ऊर्जा मन्त्रालयल परामर्शदाता कम्पनीले भने बमोजिम पटकपटक म्याद थपे पनि अझै कार्य पुरा हुन नसकेको हो ।

विभिन्न उत्खनन् तथा परीक्षणका कार्यहरुमा ढिलाइ भइरहेको स्थानीयको गुनासो छ । ६ महिनामा सकिने कामलाई पनि ढिलासुस्ती गरेर बर्षौंदेखि अलपत्र पारिएको स्थानीय हासीलाल पन्तले बताए। उनले यस्तै अवस्था रहे १० बर्षमा पनि डीपीआर नबन्ने र आयोजना समेत अलपत्र पर्ने आशंका गरे ।

सन् २०१६ मा अष्ट्रेलियन कम्पनी स्मेक, अष्ट्रेलियाको एमडब्लुएच र नेपालको उदय जेभीले (संयुक्त उपक्रम) ले नलगाड (४ सय १७ मेगावाट) को विस्तृत अध्ययन, टेण्डर डकुमेन्ट तयारी र डीपीआर बनाउने ठेक्का पाएको थियो । तर परामर्शदाता कम्पनी स्मेक तर्फका आयोजना प्रमुख बाबुराम भारद्वाजले काम भइरहेको दावी गरे ।

आयोजनाका कार्यकारी प्रमुख रामकाजी थापाले सन् २०१६ मा तीन वर्षमा डीपीआर सक्नेगरी नलगाड जलविद्युत कम्पनी र स्मेक, एमडब्लुएच जेभी उदयबीच सम्झौता भएको जानकारी दिए । हालसम्म परियोजनाको कार्य ८५ प्रतिशत पुरा भएको थापाले बताए । अहिलेसम्म परियोजनको कार्य तथा निर्माणस्थलमा सडक, क्याम्प, जग्गा मुआव्जा, आर्मिक्याम्प निर्माण कार्यसमेत गरी पाँच अर्ब रकम खर्च भइसकेको आयोजना प्रमुख थापाले बताए ।


कर्णाली प्रदेशकै समृद्धिसँग जोडिएको आयोजनाका रुपमा हेरिएको नलगाडको निर्माण कार्यको सुस्तताले स्थानीयहरु निराश भएका छन् । नलगाड नगरपालिकाका प्रमुख टेकवहादुर रावलले आयोजनाका काममा सुस्तता हुँदा निराशा पैदा भएको बताए । उनले यो आयोजनालाई राष्ट्रिय प्राथमिकतामा राखेर काम गर्न सरकारसँग माग गरे । आयोजनाको लगानी टुंगो भने अहिलेसम्म लागिसकेको छैन । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले यसमा चासो देखाएको छ ।

सन् २०१२ को मूल्य अनुसार आयोजनाको अनुमानित लागत एक खर्ब आठ अर्ब २६ करोड रुपैयाँ छ । यसको प्रतिकिलोवाट लागत एक हजार आठ सय अमेरिकी डलर पर्ने सन् २०१२ को अध्ययनले देखाएको थियो । त्यतिबेला अध्ययन हुँदा यसको जडित क्षमता चारसय १० मेगावाट भनिएको थियो । जलाशययुक्त आयोजना भएकाले ४१ करोड ९६ लाख घनमिटर पानी जम्मा पार्ने पोखरी बनाउनुपर्ने छ । त्यस्तै चारसय केभीको एकसय १२ किलोमिटर डबल सक्र्यूट प्रसारण लाइन बाँकेको कोहलपुर सवस्टेशनसम्म बनाउनुपर्ने भएकाले यो आयोजना महँगो भएको हो ।

यसबाट उत्पादन भएको बिजुली उपभोक्ता कहाँ पुग्दा प्रतियुनिट औसत १६ रुपैयाँ नौ पैसापर्ने अध्ययनले देखाएको छ । नलगाड जलविद्युत् निर्माण भएमा यसले कुल वार्षिक ऊर्जा एक अर्ब ४० करोड युनिट उत्पादन गर्न सक्छ । यसमध्ये सुख्खायामको ऊर्जा ६३ करोड ४२ लाख युनिट छ ।

नलगाड नगरपालिका –७ दल्लीमा विद्युत गृह र बारेकोट गाउँपालिका–८ अँधेरीखोलामा आयोजनाको प्रस्तावित बाँधस्थल छ । परामर्शदाता कम्पनीले चार वर्षअघि ३० महिनामा डीपीआर सम्पन्न गर्नेगरी जलविद्युत् कम्पनीसँग एक अर्ब ११ करोड रुपैयाँमा सम्झौता गरेको थियो । सम्झौताअनुसार तोकेको समयमा डीपीआर पूरा नहुँदा पटकपटक म्याद थप हुँदै आएको छ ।

आयोजनाका इन्जिनियर पदम थापाका अनुसार कम्पनीले डीपीआर अन्तर्गतका अरू काम पूरा गरे पनि पावरहाउस क्षेत्रको रग मेकानिकल टेस्ट र बाँधस्थलको टेस्ट अडिट अझै पूरा गरेको छैन । हालसम्म साइटमा तीनसय २० मीटर टेस्ट टनेल खन्ने काम सम्पन्न भएको र ५५ मिटर टनेल खन्ने काम काँकी रहेको थापाले बताए । ६ वर्ष ६ महिनाभित्र पूरा गर्ने लक्ष्य लिइएको आयोजनाको जलाशयको उचाई दुईसय १० मिटर र चौडाई पाँचसय ४५ मिटर फराकिलो रहनेछ ।



ताजा समाचार