सम्पादकीय : काँक्रेविहार क्षेत्रको संरक्षणमा चासो

ऐतिहासिक महत्व बोकेका स्थल र सम्पदा हाम्रो धरोहर हुन् । अर्थात मानवका लागि आफ्नो पहिचान र चिनारी भनेकै ऐतिहासिक सम्पदाहरु नै हुन् । यस्ता सम्पदाले समाजको चरित्र बोकेका हुन्छन् । त्यतिमात्र होइन, भावी पुस्ताका लागि मार्गदर्शन पनि गर्दछन् । यहीकारण हरेक देशले यस्तो सम्पदा र संरचनाहरुको संरक्षणमा चासो दिन्छन् । राज्यले पनि यस्ता सम्पदाहरुको संरक्षणमा ठूलो लगानी गरिरहेका हुन्छन् । तर नेपालको सन्दर्भमा भने कतिपय यस्ता महत्वका संरचना, सम्पदा र स्थलहरुको संरक्षणमा खासै चासो दिएको पाइँदैन । सरकारी ध्यान त्यस्ता सम्पदामा पुग्दैन । राज्यले वेवास्ता गरेको क्षेत्रमा नीजि क्षेत्रको चासो पनि कमै हुन्छ । यसैको परिणाम आज देशका कयौं यस्ता ऐतिहासिक महत्वका सम्पदाहरु लोप हुने अवस्थामा पुगेका छन् । कतिपय ऐतिहासिक धरोहरहरु त लोप पनि भइसकेका छन् । जसको संरक्षण गर्न सकेको भए देशले पर्यटन व्यवसायमार्फत राम्रो आम्दानी गर्न सक्थ्यो ।

परम्परा र संस्कृतिको जर्गेना पनि हुन्थ्यो । तर यसमा राज्यको नीति र लगानीकै अभाव छ । कर्णालीको आफ्नै अलग पहिचान छ । यहाँको संस्कृति र सम्पदाले पनि इतिहासको झल्को दिन्छन् । तर महत्वपूर्ण मानिने यीनै सम्पदाहरु पछिल्लो समय लोप हुने, चोरी हुने र हराउने अवस्थामा पुगेका छन् । त्यस्ता सम्पदाको संरक्षण कसले गर्ने भन्ने अवस्था यहाँ छ । यस्तै मध्येको ऐतिहासिक महत्व बोकेको क्षेत्र हो काँक्रेविहार संरक्षित क्षेत्र । जहाँ ऐतिहासिक महत्वका सम्पदाहरु पनि छन् । जसको संरक्षणका लागि विगतमा प्रयासहरु नभएका भने होइनन् । तर जति हुनुपर्ने हो, त्यो अनुसारको लगानी भने भएको छैन । यहीकारण सम्भावना भए पनि काँक्रेविहारमा पर्यटकहरुलाई अपेक्षाअनुसार आकर्षित गर्न सकिएको छैन । चर्चा भए अनुसारको यसको विकास गर्न सकिएको छैन । बरु यसको क्षेत्रफल नै अतिक्रमणमा परेको आशंका गरिएको छ । यसको पछाडिको मुख्य कारण भनेकै संरक्षणमा चासो नदिनु नै हो ।


संरक्षण र विकासका लागि लगानी नहुनु नै हो । पछिल्लो समय काँक्रेविहार क्षेत्रमा उत्खनन् गरेर पुनर्निर्माण पनि थालिएको छ । तर यसले ओगटेको जग्गाको क्षेत्रफलबारे भने आशंका पैदा भएको छ । काँक्रेविहार क्षेत्रको जग्गा अतिक्रमणमा परेको आशंका गरिएको छ । यसको पछाडि पनि यसको संरक्षणमा वेवास्ता गरिनु नै हो । यद्यपि यसको क्षेत्रफल एकीन गर्न पुनः नापजाँच गर्ने तयारी गरिएको छ । यो सकारात्मक कार्य हो । वास्तवमा काँक्रेविहार कर्णालीको महत्वपूर्ण गहना हो । यसको विकास र संरक्षणमा स्थानीय, प्रदेश र केन्द्र सरकार गम्भिर बन्नै पर्दछ । अझ बढी गम्भिर कर्णाली स्यम् बन्न आवश्यक छ । यसको विकास र संरक्षण मात्र गर्न सकेको खण्डमा यहाँ पर्यटकहरुको आगमन बढ्ने छ । यसले पर्यटकबाटै यहाँको आर्थिक विकासमा पनि सहयोग पुग्नेछ । त्यसका लागि पनि सरकारी तथा गैरसकारी क्षेत्रबाट काँक्रेविहारको संरक्षणमा अब ढिलाइ हुनु हुँदैन ।

यो पनि :-

काँक्रेविहार क्षेत्रको जग्गा एकीन गर्न पुनः नापजाँच गर्ने तयारी

 



ताजा समाचार